काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपाललाई हिन्दु राष्ट्र पुनर्स्थापना गर्न अब ढिलाइ गर्न नहुने बताएका छन् । बुधबार एक आह्वानमार्फत भण्डारीले देश र जनताको वृहत्तर हितका लागि राष्ट्रवादी शक्ति एकठाउँमा उभिन जरुरी बताएका छन् ।
"नेपाल सनातन हिन्दु राज्य हो, त्यो नै नेपालको मौलिक पहिचान हो, राष्ट्रियताको आधार हो । त्यसको पुनर्स्थापनामा अब ढिलाइ गर्न हुँदैन," उनले भनेका छन् ।
नेपाली कांग्रेसको सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानका संयोजकसमेत रहेका भण्डारीले ०४७ सालको संविधानका मूल प्रावधानलाई निरन्तरता दिनुपर्ने तर्क गरेका छन् ।
"राष्ट्रिय एकताको प्रतीकको रूपमा रहेको एक बलियो मियो हामीले गम्भीरतापूर्वक नलिई त्यसै ढाल्यौँ । फराकिलो ह्रदय बनाएर अब त्यो गल्तीलाई हामीले सच्याउन सक्नुपर्दछ । देश र जनताको वृहत्तर हितका लागि राष्ट्रवादी शक्तिहरू एकठाउँमा उभिन जरुरी छ । २०४७ सालको संविधानका मूल प्रावधानलाई यथावत् राख्दै यसमा समसामयिक संशोधन गरी राष्ट्रिय एकताको जगलाई थप मजबुद बनाउन सबै राजनीतिक दल तथा राष्ट्रप्रेमी दाजुभाई दिदी बहिनीहरूमा आह्वान गर्दछु," उनले भनेका छन् ।
उनले नेपाली सेना, न्यायालयजस्ता विशिष्ट इतिहास बोकेका निकायलाई कमजोर बनाएर मुलुकलाई नै विघटनतर्फ लैजान एउटा समूह उद्धत रहेको दाबी गरेका छन् ।
"यसमा हामी समयमै सचेत हुनु आवश्यक छ । जसरी हाम्रा पुर्खाबाट हामीलाई सुरक्षित र गौरवपूर्ण इतिहास बोकेको नेपाल हस्तान्तरण भएको थियो, त्यसरी नै हामीले हाम्रा भावि पुस्तालाई सुरक्षित नेपाल हस्तान्तरण गर्नु छ," उनले भनेका छन् ।
देश र जनताप्रति हुन खोजेको 'षडयन्त्र'लाई परास्त गर्न जेनजी युवा निकै सुझबुझका साथ अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

