काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीविरुद्ध षड्यन्त्र जारी रहे प्रतिवाद गर्न सडकमा उत्रन तयार हुनुपर्ने बताएका छन् । एमाले जनसंगठन संयन्त्रका प्रमुख समेत रहेका ढकालले बिहीबार (असोज २३) भक्तपुरको गुन्डुमा आयोजित एक कार्यक्रममा पार्टी ‘जेनजी’ पुस्ताको मागविरुद्ध नरहेको जिकिर गरे ।
“एमाले जेनजी पुस्ताको विरुद्धमा छैन । जेनजीले उठाएको मागको विपक्षमा छैन,” उनले भने ।
ढकालले राष्ट्रिय राजनीतिमा ‘कू’ भएको भन्दै त्यसविरुद्ध खबरदारी गर्नुपर्नेमा जोड दिए । “राष्ट्रिय राजनीतिमा भएको ‘कू’प्रतिको सावधानीमा नेपाली जनतालाई सचेत गराउनका निम्ति हामीले खबरदारी गर्न विलम्ब गर्नु हुँदैन । षड्यन्त्र जारी रह्यो भने त्यसको विरुद्ध प्रतिवाद गर्नका निम्ति एमालेसँग आबद्ध जनवर्गीय संगठन, जनप्रतिनिधिहरू मात्रै होइन,” उनले भने, “पार्टीका लाखौँलाख सदस्यहरू पनि सडकमा उत्रिनको निम्ति तयार हुनुपर्छ ।”
उनले जनताको मनोबल उठाउन विभिन्न कार्यक्रमले सहयोग पुग्ने बताए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि देश तहसनहस भएको उनले उल्लेख गरे । “जब केपी ओलीले राजीनामा दिनुभयो, त्यसपछि मुलुक तहसनस भएर खरानी भएको छ । सिंहदरबार त्यसपछि जलेको छ,” उनले भने ।
उनले युवा संघको आयोजनामा यही असोज २५ गते काठमाडौं उपत्यकामा मोटरसाइकल र्याली गरिने बताए ।
महाधिवेशनका माध्यमबाट पार्टी पुनर्गठनमा जाने उनले सुनाए । आक्रमण भएका बेला पार्टीभित्रको एकता देखाउन उनले आग्रह गरे ।