site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जेनजीको प्रदर्शन मत्थर पार्न सेनाका जनरललाई माडागास्करको प्रधानमन्त्री नियुक्त

काठमाडौं । माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले युवाहरूको नेतृत्वमा भइरहेको प्रदर्शन अन्त्य गर्ने प्रयासस्वरूप सेनाका एक जनरललाई नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका छन् । उनले जनरल रुफिन फोर्टुनाट जाफिसाम्बोलाई पदमा नियुक्त गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिले सैन्य विद्रोहको डर व्यक्त गरेको केही दिनपछि गरिएको नियुक्तिले सरकारको बढ्दो सैन्यकरणलाई संकेत गरेको र तनावपूर्ण परिस्थितिमा राजोएलिनाले सेनाको समर्थन सुनिश्चित गर्न खोजेको बताइएको छ ।

तर, ‘जेनजी माडा’ भनेर चिनिने प्रदर्शनकारी समूहले जनरल जाफिसाम्बोको नियुक्तिलाई अस्वीकार गर्दै राजोएलिनालाई ४८ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ ।

जेनजी माडाले एक विज्ञप्तिमा भन्यो, “जबसम्म राजोएलिना सत्तामा रहन्छन्, हामी संघर्ष जारी राख्नेछौँ ।”

सेप्टेम्बर २५ मा सुरु भएको प्रदर्शनलाई लगातारको पानी र बिजुली कटौतीका कारण उत्पन्न सार्वजनिक आक्रोशले भड्काएको थियो । अहिले आन्दोलन भ्रष्टाचार, उच्च बेरोजगारी र बढ्दो महँगीविरुद्धको व्यापक असन्तुष्टिमा परिणत भएको छ ।

प्रदर्शनकारीहरूलाई शान्त पार्ने प्रयासमा गत हप्ता राजोएलिनाले प्रधानमन्त्री क्रिश्चियन नत्से र उनको सम्पूर्ण मन्त्रिपरिषद्लाई बर्खास्त गरेका थिए ।

सोमबार ढिलो राष्ट्रपति भवनमा दिएको घोषणामा राजोएलिनाले जनरल जाफिसाम्बोको नियुक्तिबारे जानकारी दिँदै प्रधानमन्त्री स्वच्छ हुनुपर्ने र माडागास्करलाई बचाउन तयार हुनुपर्ने बताए ।

जनरल जाफिसाम्बो यो नियुक्ति हुनुअघि प्रधानमन्त्री कार्यालयमा सैन्य क्याबिनेटका निर्देशक थिए ।

गत हप्ता संयुक्त राष्ट्रसंघले प्रदर्शनमा कम्तीमा २२ जनाको मृत्यु र १०० भन्दा बढी घाइते भएको जनाएको थियो । तर, सरकारले यो तथ्यांकलाई अफवाह र गलत जानकारीमा आधारित भन्दै अस्वीकार गरेको छ ।

प्रशान्त महासागरको यो टापु राष्ट्रमा अशान्ति तेस्रो हप्तामा प्रवेश गरेपछि सोमबार धेरै सहरहरूमा सुरक्षा बलहरू र प्रदर्शनकारीहरूबीच झडप भएका थिए ।

राजधानी एन्टानानारिभोको बाहिरी भागदेखि सहरको केन्द्रसम्म सयौँ युवाहरूले र्‍याली निकालेका थिए । एएफपी समाचार एजेन्सीका अनुसार, ब्यारिकेड लगाइएका सुरक्षा बलहरूसँगको झडपमा एक युवा घाइते भई अस्पताल लगिएको थियो ।
त्यसैगरी, दक्षिणी सहर तुलियारा र उत्तरी सहर डिएगो सुआरेजमा पनि झडपहरू भएका थिए ।

बीबीसीबाट ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्