काठमाडौं । नेपाली रंगीन दुनियामा अहिले जति सोसल ड्रामा चलिरहेको छ, त्यति नै कमेडी बिक्री भइरहेको छ । टेलिभिजन शो र चलचित्रमा नै सोसल ड्रामा र कमेडी चलिरहेको छ ।
विशेषगरी, टेलिभिजनमा अझै धेरै कमेडी शो आइरहेका छन् । ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’, ‘कमेडी दरबार’लगायत टेलिभिजनमा कमेडी शो प्रसारण भइरहेका छन् । यी शोहरू राम्रैसँग चलिरहेका पनि छन् ।
तर, यी शो सेटमा प्रत्यक्षरूपमा दर्शक राखेरै छायांकन हुन्छन् । तर, यी शोमा थुप्रै त्यस्ता कन्टेन्ट पनि हुन्छन्, जो दोहोरो अर्थ (डबल मिनिङ) लाग्छन् । डबल मिनिङ लाग्ने शब्द बाक्लैरूपमा प्रयोग हुँदा अतिथि रातोपिरो मुख लगाएर बसिरहेका हुन्छन् । दर्शकदीर्घामा पनि अवस्था उस्तै हुन्छ ।
तर, प्रोडक्सन हाउसहरूले फेमिली शो भनेर भनिरहेका हुन्छन् । शोमै पनि पफर्मरदेखि होस्टसम्मले फेमिली शो भन्दै आइरहेका हुन्छन् । अतिथिदेखि दर्शकसम्मलाई अगाडि राखेर डबल मिनिङ लाग्ने शब्द किन प्रयोग गर्छन् ?
‘कमेडी नाइट्स विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारी समाज विस्तारै खुल्दै गएको र त्यसैलाई आफूहरूले पनि कमेडीमा अभ्यास गर्ने गरेको बताउँछन् ।
“हामीमध्ये जसले यौनका विषयमा धेरै कुरा गर्न हुँदैन भन्छौँ, उसैले यौनका विषयमा आफ्नो सर्कलमा हामीले बोल्न हुँदैन भनेका शब्दहरू बोलिरहेका हुन्छन्,” यौनका विषयमा समाज अझै धेरै खुल्नुपर्छ भन्ने मान्यता रहेको भन्दै उनी भन्छन्, “धेरै कुण्ठित भएर बस्दा पनि विभिन्न आपराधिक घटना घटिरहेका हुन्छन् । त्यसैले समाज अझै खुल्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।”
सँगै बसेर हेर्दा थोरै लाज लाग्ने होस् तर मुख नै छोप्नुपर्ने खालको भने नहोस् भन्ने पक्षमा भने सतर्क रहनुपर्ने उनको जोड छ ।
डबल मिनिङ कमेडीको जनरा पनि भएको विशाल बताउँछन् । छाडापन र सटायर (व्यंग्य)को ‘थिन लाइन’ हुने र त्यसलाई ध्यान दिएर लेख्न सके केही फरक नपर्ने उनको तर्क छ ।
“दर्शकले यस्तो होला भनेर सोचिरहेका हुन्छ, तर त्यो नभएर वास्तविकता अर्कै हुन्छ,” उनले भने, “हामी शब्दमा खेल्छौँ । शब्दले दर्शकको दिमागमा भन्न खोजेको कुराको इमेज बनाउँछौँ । दृश्यमा भन्दा शब्दमा खेल्न मजा आउँछ ।”
छाडा र कमेडीमा फरक रहेको भन्दै उनी कमेडी छाडा भने हुन नहुने पक्षमा छन् । समाजलाई कुण्ठित बनाएर राख्न नहुने भन्दै खुला समाजका लागि आफूहरूले पनि कमेडीमार्फत अभ्यास गरिरहेको उनी प्रस्ट पार्छन् । स्ड्यान्डअप कमेडी सिधामा व्यंग्य हुने विशाल बताउँछन् ।
“हाम्रो समाज त्यति डिसेन्ट पनि छैन, जति हामी भन्छौैँ,” उनी अगाडि थप्छन्, “त्यसैले समाजमा हामी जे बोल्छौँ र गर्छौं त्यसभित्रबाटै सटायर गर्ने हो ।”
चलचित्रमा पनि कमेडी हुने गरेको र त्यसमा पनि डबल मिनिङ सटायर हुने गरेको विशाल सुनाउँछन् । “सिनेमालाई हामी समाजको ऐना भन्छौँ । यदि, चलचित्र समाजको ऐना हो भने त्यसमा समाज देखिनुपर्छ,” उनी भन्छन्, “अबको ३० वर्षपछि ३० वर्ष अगाडिको समाज कस्तो थियो भनेर थाहा पाउनलाई आजको समाज हुबहु चित्रण गर्नुपर्दैन ?”
चलचित्र सेन्सर गर्ने निकायले सेन्सर पास गरेको कन्टेनलाई छाडा भन्न नहुने उनको तर्क छ ।
कलाकार हरिवंश आचार्य समाज खुल्दै जाँदाको परिणाम भएको बताउँछन् । सुरुसुरुमा आफूहरूले चलचित्र बनाउँदा एचआईभी भन्ने शब्द प्रयोग गर्दा पनि लाज मान्नुपर्ने अवस्था रहेको उनी स्मरण गर्छन् ।
“राणा शासनको बेलामा महिलाले गोलीगाँठो देखाउँदा पनि लाज मान्नुपर्थ्यो रे ! पछि घुँडासम्मको लुगा लगाउन थाले । अहिले बिकिनी लगाएर फोटो सेयर गर्ने समय आयो,” हरिवंश भन्छन्, “पहिला अहिलेजस्तो सामाजिक सञ्जाल थिएन । अहिले पश्चिमा समाजको प्रभाव पनि पर्यो । उता हुने, यता नहुने भन्ने प्रश्न पनि उठ्छ ।”
सुरुसुरुमा आफूले शब्दशब्द केलाएर व्यंग्य गरेको उनी स्मरण गर्छन् । “यो शब्द प्रयोग गरे दोहोरो अर्थ लाग्छ कि, लाज हुन्छ कि, समाज भाडिन्छ कि भन्ने डर हुन्थ्यो,” हरिवंश भन्छन्, “तर, अहिले समाज त्यस्तो छैन ।”
टेलिभिजन कार्यक्रममा हरेक हप्ता कन्टेन्ट उत्पादन गर्नुपर्ने भएकाले पनि समस्या भएको हुन सक्ने उनी बताउँछन् । हरेक हप्ता कन्टेन्ट उत्पादन गर्न सहज नरहेको उनको भनाइ छ ।
“हप्तैपिच्छे कन्टेन्ट उत्पादन गर्न त्यति सहज छैन,” उनी भन्छन्, “थोरै समय हुन्छ । तर, कन्टेन्ट दिनै पर्ने भएकाले प्रेसर भएर पनि होला ।”
कन्टेन्ट दिनेमात्रै होइन, सुन्ने र हेर्नेको पनि कमजोरी रहेको हरिवंशको निष्कर्ष छ । सुन्ने र हेर्नेले पनि दोहोरो अर्थलाई बढावा दिँदा त्यसले प्राथमिकता पाएको उनी बताउँछन् ।
“कन्टेन्ट क्रिएट गर्नेलाई पनि कार्यक्रम चलाउनुपर्ने बाध्यता हुन्छ,” हरिवंश भन्छन्, “त्यस्तै विषय र शब्दमा दर्शक पनि हाँसे पछि कमेडी गर्नेले पनि त्यस्तै कन्टेन्ट बनाएजस्तो लाग्छ ।”
कति र कस्तोसम्म कन्टेन्ट बनाउन पाइने भनेर हेर्ने निकायको पनि अभाव रहेको उनी बताउँछन् । त्यसैले सेल्फ सेन्सरसिपमा पनि सर्जक स्वयंले विशेष ध्यान दिनुपर्नेमा हरिवंशको जोड छ ।
“कतिसम्मको कन्टेन्ट दिने र कति नदिने भन्ने व्यक्ति आफैँ जिम्मेवार हुनुपर्छ,” उनी भन्छन्, “कुन छाडा हो, कुन होइन भन्ने भनेर कार्यक्रम उत्पादन गर्ने आफैँले निर्धारण गर्नुपर्छ ।”
निर्देशक प्रदीप भट्टराई दर्शकलाई काउकुती लाउनेसम्म कन्टेन्टलाई उचित मान्न सकिने तर त्यसभन्दा बढी रहेकालाई छाडा भन्न सकिने बताउँछन् । कतिपय टेलिभिजन शो र चलचित्रमा व्यंग्यका नाममा छाडा कन्टेन्ट देखिने गरेको उनको भनाइ छ ।
“धेरैजसो अवस्थामा शो चलेन भने प्रेसरमा आएको निर्माण टिम र कमेडियन दुवैले शो उकास्न भन्दै अपाच्य हुने गरी डबल मिनिङ लाग्ने शब्द प्रयोग गर्छन्,” प्रदीप भन्छन् ।
शो चलेन र बजारमा हाइप बनेन बने दबाबमा आउने निर्माण टिम र कमेडियन दुवैले डबल मिनिङवाला शब्द र डाइलगको साहार लिने गरेको उनको टिप्पणी छ ।
“जब निर्माण टिम र कमेडियनलाई अब सामान्य कन्टेन्ट र पन्चले चल्दैन भन्ने लाग्छ, त्यसपछि हेबी पन्च प्रयोग गर्यो भने चल्छ कि भन्ने दबाब हुन्छ,” स्ट्यान्डिङ कमेडी च्याम्पियनका निर्णायकसमेत रहेका प्रदीप भन्छन्, “चलेन भनेर उकास्नमात्रै होइन, राम्रोसँग चलिरहेको छ भने पनि यसलाई खस्किन नदिने भनेर यस्ता शब्दको अधिक प्रयोग गरेको पाइन्छ ।”
तर, यथार्थमा यो भ्रम भएको उनको भनाइ छ । हेबी पन्च होइन, सामान्य पन्चमा दर्शक रमाइरहेको हुन्छ भन्ने भुलेर भ्रमको पछाडि दौडिने गरेको उनी बताउँछन् । शो चलेन भने सबैभन्दा सजिलो माध्यमका रूपमा यसलाई लिने गरेको भन्दै यो भ्रमबाट बाहिर आउनुपर्नेमा उनको जोड छ ।
शो चलाउने नाममा संवेदनशील विषयमा गरिने हेबी पन्चले शो झन् खस्किने बुझाइ शो निर्माता र कमेडियन दुवैमा हुनुपर्ने उनको धारणा छ ।
“चलचित्र होस् वा टेलिभिजन शो ठूलठूला र दर्शकले यो मन पराउँछन् भनेका डाइलग र पन्चलाइन नै चिप्लिरहेका हुन्छन्, उनी भन्छन्, “तर, सामान्य पन्चलाइन र डाइलग दर्शकले मन पराइरहेका हुन्छन् ।”
मिहिनेत गर्नेभन्दा पनि सजिलो अस्त्रका रूपमा ‘डबल मिनिङ’वाला पन्चलानइन प्रयोग गर्ने गरिएको प्रदीपको टिप्पणी छ । यसले शो र चलचित्रको स्तर बढाउने भन्दा पनि खस्काउँछ भन्ने हेक्का शो निर्माता र कमेडियनलाई हुनुपर्ने उनको जोड छ ।
