काठमाडौं । दसैँ बिदालाई लक्षित गर्दै तीनवटा नेपाली चलचित्र असोज १३ गते फूलपातीका दिन रिलिज भए– ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ ।
सुरुमा सबैभन्दा धेरै शो ‘बलिदान’ले पाएको थियो । दोस्रोमा ‘माइतीघर’ र तेस्रोमा ‘हरिबहादुरको जुत्ता’ थियो ।
‘बलिदान’ले देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौंका आउटलेटमा मात्रै ४१ शो पाएको थियो । ‘माइतीघर’ले २८ र ‘हरिबहादुरको जुत्ता’ले २७ शो पाएको थियो ।
खल्ती एपमा शो बाँडफाँट हुँदा ‘बलिदान’ले देशभर २४४, ‘माइतीघर’ले १४४ र ‘हरिबहादुरको जुत्ता’ले १३४ शो पाएको थियो ।
तर, सबैभन्दा राम्रो ‘वर्ड अफ माउथ’ ‘हरिबहादुरको जुत्ता’ले पायो । जसका कारण अरूलाई उछिन्दै यो चलचित्र सबैभन्दा धेरै शो पाउने चलचित्र बन्यो ।
शनिबार ‘हरिबहादुरको जुत्ता’ले क्यूएफएक्सको काठमाडौं उपत्यकाका आउटलेटमा २३ शो पाएको थियो । दोस्रोमा रहेको ‘माइतीघर’ले १९ र तेस्रोमा ‘बलिदान’ले १८ शो पाएको थियो ।
त्यसअघि, शुक्रबार पनि ‘हरिबहादुरको जुत्ता’को शो धेरै थियो । शुक्रबार ‘हरिबहादुरको जुत्ता’ले सबैभन्दा धेरै क्यूएफएक्समा १५ शो पाएको थियो । ‘बलिदान’ र ‘माइतीघर’ले १२/१२ वटा शो पाएका थिए ।
भोलि (मंगलबार)का लागि क्यूएफएक्सका काठमाडौंका आउटलेटमा ‘हरिबहादुरको जुत्ता’ले १९ शो पाएको छ । ‘बलिदान’ले १३ र ‘माइतीघर’ले १२ शो पाएको छ ।
‘हरिबहादुरको जुत्ता’को समसामयिक विषय, व्यंग्य र कमेडी दर्शकले मन पराएको प्रतिक्रिया दर्शकले दिइरहेको निर्माण पक्षले बताएको छ । दर्शकको ‘वर्ड अफ माउथ’ राम्रो पाउँदा यो चलचित्रले शो बढाइरहेको छ ।
एक सातामा कुन चलचित्रले बक्सअफिसमा कति कलेक्सन गरे त्यो भने हालसम्म सार्वजनिक भएको छैन । निर्माता र वितरक कसैले पनि रिपोर्ट सार्वजनिक गरेका छैनन् ।
पहिलो दिनको रिपोर्ट केही सञ्चारमाध्यममा आए पनि त्यसमा ५० प्रतिशतसम्मको भिन्नता रहेको भन्दै निर्माताहरूले आपत्ति जनाइरहेका छन् । बक्सअफिसको गलत रिपोर्ट दिएको भन्दै ‘बलिदान’का वितरकले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको राजीनामा माग गरिरहेका छन् ।
गत वर्षको दसैँमा जस्तो चलचित्र हेर्ने माहोल यो वर्ष नरहेको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । जेनजीको आन्दोलनदेखि नै माहोल बिग्रिएको उनको भनाइ छ । यद्यपि, ‘हरिबहादुरको जुत्ता’को व्यापार बढिरहेको उनले बताए ।
“जेनजी आन्दोलनले नै माहोल बिग्रिएको थियो । दसैँमा सिनेमा हेर्ने उत्साह दर्शकमा थिएन,” निर्देशक खनाल भन्छन्, “त्यसमा प्रतिकूल मौसमसँगै बाढी र पहिरोका कारण पुनः माहोल बिग्रियो ।”
दसैँमा घर गएका मानिस बाढी पहिरोले बाटोमै रोकिँदा दसैँ बिदामा पनि चलचित्र हेर्ने राम्रो वातावरण नबनेको उनको भनाइ छ ।
“गत वर्ष दसैँमा रिलिज भएका चलचित्रले ठूलो परिमाणमा कलेक्सन गरेका थिए,” उनले भने, “तर, यो वर्ष गत वर्षको तुलनामा आधा पनि व्यापार होला जस्तो छैन ।” समय अझै रहेकाले सम्भावना रहे पनि सकारात्मक संकेत नदेखिएको उनको भनाइ छ ।
गत वर्ष दसैँमा ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ रिलिज भएका थिए । सिनेमा हलमा गत वर्षको दसैँको तुलनामा यस वर्ष फुटफल नै आधाभन्दा कम रहेको सिनेमा हलरूले बताउने गरेको निर्देशक खनाल बताउँछन् ।
वितरक तथा निर्देशक अशोक शर्माका अनुसार, गत वर्ष दसैँमा रिलिन भएका चलचित्रले ५४ करोड रुपैयाँ कलेक्सन गरेका थिए । यो वर्ष निकै कम व्यापार देखिएको उनी बताउँछन् ।
जेनजीको आन्दोलनसँगै सिनेमा स्वयं पनि व्यापार कम हुनको मुख्य कारक भएको शर्माको भनाइ छ । “सिनेमा नचल्नुमा वातावरण कस्तो छ, त्यो त कारक पक्ष हो नै । त्यसबाहेक सिनेमा पनि अर्को कारक पक्ष हुन्,” उनी भन्छन्, “स्वयं सिनेमा यसको अर्को मुख्य कारक पक्ष हो ।”
राम्रो चलचित्र भए केही समयपछि पुनः चल्ने उनको भनाइ छ । आन्दोलन र बाढीपहिरोबाट ठूलो परिमाणमा जनधनको क्षति भएकाले त्यसको असर पर्ने तर चलचित्र राम्रो भए पछि पनि चल्ने उनको तर्क छ ।
“किन बिजनेस राम्रो भएन भन्ने विषयमा प्रश्न उठाइरहँदा चलचित्र स्वयं राम्रो बनेनन् कि भन्ने पनि कुरा आउँछ,” उनले भने, “गत वर्ष १२ गाउँ र छक्का पञ्जाको जस्तो माहोल अहिले देखिएको छैन ।”
चलचित्र दर्शकले मन पराएको अवस्थामा प्रतिकूलबाट समय अनुकूल भएपछि पनि चल्ने शर्मा बताउँछन् । “गत वर्ष १२ गाउँ हेर्न जसरी दर्शक कुदेको देखिन्थ्यो, यसपटक त्यस्तो देखिएको छैन,” उनी अगाडि थप्छन्, “दर्शकको प्रतिक्रिया पनि यो चलचित्र राम्रो छ, जसरी पनि हेर्नुपर्छ भन्ने देखिएको छैन ।”
गत वर्ष ‘१२ गाउँ’, ‘छक्का पञ्जा–५’ र सँगै आएको ‘ज्वाइँ साब’प्रति दर्शकको जति चासो थियो, त्यति यो वर्षका चलचित्रमा नेखिएको र त्यसको असर बक्सअफिसमा देखिएको उनले प्रस्ट पारे ।