site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनमा रुसले गर्‍यो रातभर भीषण बमबारी, पाँच जनाको मृत्यु

काठमाडौं । रुस र युक्रेनबीच तीन वर्षदेखि जारी द्वन्द्वको स्थिति झन् भयावह बन्दै गएको छ । शनिबार रातभर रुसले युक्रेनविरुद्ध ठूलो मात्रामा ड्रोन, मिसाइल र गाइडेड बमहरू प्रयोग गरी हमला गरेको थियो । जसमा कम्तीमा पाँच जना सर्वसाधारण मारिएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बिहान जानकारी दिएअनुसार, रुसले नौ फरकफरक इलाकाहरूमा ५० भन्दा बढी ब्यालिस्टिक मिसाइल र करिब ५०० ड्रोन प्रहार गरेको थियो ।

पश्चिमी सहर ल्भिवमा भएको ड्रोन र मिसाइल हमलामा पाँच जनाको मृत्यु भएको छ । जसमध्ये १५ वर्षका एक बालक पनि छन् । यस हमलाबाट दुई इलाकामा बिजुली आपूर्ति ठप्प भएको छ । सार्वजनिक यातायात पनि केही घण्टाका लागि बन्द भयो ।

ल्भिवका मेयर आन्द्रिय सादोवीले शहर बाहिरको एक व्यापारिक परिसरमा आगो लागेको बताए जुन कुनै सैन्य गतिविधिको केन्द्र थिएन । इभानो–फ्रान्किव्स्क क्षेत्रमा पनि एक व्यक्ति घाइते भएका छन् ।

दक्षिणी सहर जापोरिज्जियामा ड्रोन र गाइडेड बमले हमला गरिएको थियो । यहाँ एक महिलाको मृत्यु भएको र नौ जना घाइते भएको खबर छ । यस हमलाले धेरै आवासीय भवनहरू ध्वस्त भए र करिब ७३ हजार घरहरूमा बिजुली गएको थियो ।

पूर्वी डोनेट्स्क क्षेत्रको स्लोवियान्स्कमा एउटा अपार्टमेन्टमा भएको हमलामा छ जना घाइते भए । त्यहाँ धेरै घर, पसल र कारहरूमा पनि क्षति पुगेको छ ।

यसैबीच, पोल्यान्डको सेनाले युक्रेनको छिमेकी पोल्यान्डले पोलिस हवाई क्षेत्रको सुरक्षा सुनिश्चित गर्नका लागि लडाकु विमान तैनाथ गरेको पुष्टि गरेको छ ।

राष्ट्रपति जेलेन्स्कीले पश्चिमी राष्ट्रसँँग युक्रेनलाई थप वायु रक्षा प्रणाली उपलब्ध गराउन अपिल गरेका छन् ।

रुसी हमलाहरूको जवाफमा युक्रेनले पनि रुसका धेरैजसो तेल उद्योगलाई निसाना बनाएर लामो दुरीका हम गरेको छ, जसले गर्दा त्यहाँ इन्धनको अभाव बनेको छ ।

यता रुसले भने जाडो मौसम सुरु हुनुअघि युक्रेनको बिजुली आपूर्ति र रेलवे नेटवर्कमा हमलाहरू तीव्र पारेको छ । जसबाट सर्वसाधारणलाई गर्मी, बिजुली र पानीको समस्या भइरहेको छ ।

द गार्जियनबाट ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्