काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सत्तामा पुर्याउन ठूलो भूमिका खेलेको हिन्दु राष्ट्रवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले हजारौँ सदस्यहरूको उपस्थितिमा आफ्नो शतवार्षिकी कार्यक्रम मनाएको छ ।
पश्चिमी सहर नागपुरस्थित आरएसएस मुख्यालयमा आयोजित कार्यक्रममा संघका प्रमुख मोहन भागवतले यस वर्षको सुरुमा पाकिस्तानसँगको द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक असमानता र भारतका छिमेकी देशहरूमा भइरहेको राजनीतिक उथलपुथलसहित विभिन्न विषयमा सम्बोधन गरे ।
उनले भने, “विश्व एकअर्कामा निर्भर भएर चल्छ । यसरी नै कुनै पनि दुई राष्ट्रबीच सम्बन्ध कायम रहन्छ । कुनै पनि देश एक्लै टिक्न सक्दैन ।”
उनको भनाइलाई डोनाल्ड ट्रम्पले भारतमाथि लगाएको भारी करको सन्दर्भसँग जोडेर व्याख्या गरिएको छ ।
भारतका हिन्दु राष्ट्रवादी समूहहरूमध्ये सबैभन्दा शक्तिशाली मानिने, पुरुष मात्र सदस्य रहेको आरएसएसमाथि प्रायः विभाजनकारी विचारधारा अभ्यास गरेको आरोप लाग्ने गरेको छ, जसलाई संगठनले अस्वीकार गर्दै आएको छ ।
सन् १९२५ मा भारतीय चिकित्सक केशव बलिराम हेडगेवारद्वारा स्थापना गरिएको आरएसएसलाई सत्तारूढ दल भारतीय जनता पार्टी (बीजेपी)को वैचारिक स्रोतको रूपमा लिइन्छ, र अहिले यो देशको सबैभन्दा प्रभावशाली संगठन मानिन्छ ।
आरएसएसले आफूलाई राजनीतिक संगठन नभएको दाबी गर्छ । तर यसको विचारधारा र बीजेपीसँगको गहिरो सम्बन्धका कारण यसले भारतीय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेलेको छ । धेरै आरएसएस स्वयंसेवकहरू बीजेपीका सक्रिय समर्थक रहेका छन् ।
युवावस्थामा नै आरएसएसमा प्रचारकको रूपमा सामेल भएका प्रधानमन्त्री मोदीले पनि बुधबार दिल्लीमा आयोजित एक कार्यक्रममा संगठनको प्रशंसा गरे । सो अवसरमा विशेष स्मारक टिकट र सिक्का सार्वजनिक गरिएको थियो, जसले विपक्षी दलहरूबाट आलोचना निम्त्यायो ।
आयोजकहरूका अनुसार, बिहीबार नागपुरमा आयोजित कार्यक्रममा ३८ सय स्वयंसेवक सहभागी भएका थिए ।
पुरुष स्वयंसेवकहरू बाहिरी स्टेडियमको मैदानमा सैन्य शैलीको संरचनामा उभिएका थिए । उनीहरूले खाकी ट्राउजर, कुहिनासम्म बाहुला मोडिएको सेतो सर्ट र टाउकोमा कालो त्रिकोणीय टोपी सहितको वर्दी लगाएका थिए । चर्को घाममा, उनीहरूले अभ्यास दिनचर्या प्रदर्शन गरे, जुन आरएसएस स्वयंसेवकहरूले दैनिक बैठकको सुरुवातमा गर्ने गर्छन् ।
भागवतका अनुसार, दर्जनभन्दा बढी मानिसहरूको समूहको रूपमा सुरु भएको आरएसएस आज विश्वकै सबैभन्दा ठूलो स्वयंसेवक संगठन बनेको छ । तर आरएसएसमा कति सदस्य छन् भन्ने प्रश्नमा प्रवक्ता सुनील आंबेकरले आफूहरूले त्यसको तथ्यांक नराख्ने बताए ।
उनले स्पष्ट पारे, “यो कुनै सरकारी संरचना होइन । कृपया बुझ्नुहोस्, यदि तपाईंहरूले हामीलाई निश्चित ढाँचामा मात्र हेर्नुभयो भने, तपाईंहरूले आरएसएसलाई बुझ्नुहुन्न । आरएसएस एउटा स्वयंसेवक संगठन हो, जुन जमिनमै काम गर्छ ।”
विज्ञहरूको भनाइमा, आरएसएसमा कति सदस्य छन् भन्ने अस्पष्टता जानाजानी राखिएको हो । हरियाणास्थित अशोका विश्वविद्यालयकी भिजिटिङ प्राध्यापक तनिका सरकार भन्छिन्, “यो अत्यन्त जटिल संगठनात्मक सञ्जाल हो। यसलाई स्पष्ट रूपमा चरित्रचित्रण गर्न गाह्रो छ, र यसका सम्पूर्ण गतिविधिहरूलाई पहिचान गर्न पनि कठिन छ ।”
‘संघ परिवार’ र राष्ट्रवादी सञ्जाल
आरएसएससँग सम्बन्धित समूहहरूलाई ‘संघ परिवार’ भनिन्छ, जसमा विभिन्न हिन्दु राष्ट्रवादी संगठनहरू पर्दछन् ।
आरएसएसलाई ठ्याक्कै के कुराले परिभाषित गर्छ भन्ने प्रश्न सजिलो छैन । यसले विद्यालय, स्वास्थ्य क्लिनिकजस्ता परोपकारी कार्यक्रमहरू सञ्चालन गर्छ । साथै, यसको सदस्यहरू प्रायः प्राकृतिक विपत्तिको बेला स्वयंसेवकहरूलाई परिचालन गरेर राहत वितरणमा सक्रिय हुन्छन् ।
व्यापार परामर्शदाता फर्म ‘द एसिया ग्रुप’ का साझेदार तथा भारत सरकारका पूर्व सल्लाहकार अशोक मलिक भन्छन्, “आरएसएसलाई राजनीतिक संगठन पनि भन्न सकिन्छ, गैरसरकारी संस्था पनि भन्न सकिन्छ, कल्याणकारी संस्था पनि भन्न सकिन्छ । यी सबै कुरा आंशिक रूपमा सत्य हुन्, तर कुनै पनि परिभाषा पूर्ण रूपमा सही होइन ।”
तर, प्राध्यापक तनिका सरकारका अनुसार, हिन्दु राष्ट्रवादी सिद्धान्तहरूले नै आरएसएसलाई विवादास्पद संगठन बनाएका छन् ।
भागवतको भाषण र एकताको सन्देश
बिहीबारको आफ्नो भाषणमा भागवतले भारतको विविधताको लामो इतिहासलाई स्मरण गर्दै विभाजन र हिंसाबाट टाढा रहन आग्रह गरे ।
उनले भने, “हाम्रा सबै विशिष्ट पहिचानका बाबजुद पनि, हामी सबै एक ठूलो समाजका अंश हौँ । समाज, देश, संस्कृति र राष्ट्रका रूपमा हामी एकजुट छौँ ।”
आरएसएसले प्रवर्द्धन गरेको विचारधारालाई स्वतन्त्रतापछिका केही अँध्यारा क्षणहरूसँग जोडिन्छ ।
६ डिसेम्बर १९९२ मा, आरएसएसका सदस्यहरू उत्तरी सहर अयोध्यामा १६औँ शताब्दीको बाबरी मस्जिद ध्वस्त पार्ने हिन्दु भीडको हिस्सा थिए । उनीहरूले दाबी गरेका थिए कि मस्जिद मुस्लिम शासकहरूले ध्वस्त पारेको मन्दिरको स्थलमा बनाइएको हो । यस घटनापछि देशभरि दंगा भड्किए, जसमा २,००० भन्दा बढी मानिस मारिए ।
गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीले मस्जिद उभिएको स्थानमा मन्दिर निर्माण गरेर दशकौँ पुरानो हिन्दु राष्ट्रवादी वाचा पूरा गरे ।
नयाँ रणनीति र सार्वजनिक पहुँच
हालैका दिनहरूमा आरएसएसले आफ्नो सार्वजनिक पहुँच बढाउने प्रयास गरिरहेको छ । गत महिना यसले दिल्लीमा तीनदिने सम्मेलन आयोजना गर्यो र सञ्चारकर्मीहरूलाई समेत आमन्त्रण गर्यो । यद्यपि शतवार्षिकी कार्यक्रम विदेशी पत्रकारका लागि पनि खुला गरिए, तर कडा नियन्त्रण थियो। पत्रकारहरूलाई सहभागी वा स्वयंसेवकसँग प्रत्यक्ष कुरा गर्न अनुमति दिइएन ।
मलिकका अनुसार, “यो पहल आरएसएसलाई अझ राम्रोसँग बुझाउने प्रयास हो । हाम्रो राजनीतिक र सार्वजनिक संवादमा फैलिएको विषाक्तता देश र समाजका लागि दीर्घकालीन चुनौती हो । त्यसैले आरएसएसले आफूलाई सुधार र परिपक्वताको दिशामा अघि बढाउन खोजिरहेको छ ।”
तर, अल्पसंख्यक समुदायका लागि भने, यो नरम छविले आरएसएसको मूल विश्वासमा कुनै परिवर्तन भएको संकेत गर्दैन । उनीहरूको बुझाइमा, आरएसएसको धारणा अझै उही छ– भारत पहिले हिन्दुहरूको लागि हो ।