site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनले अमेरिकासँग मागेको टमहक क्षेप्यास्त्र के हो ? रुसलाई किन यो ‘रेड लाइन’ बन्न सक्छ ?

काठमाडौं । रुसले युक्रेनले अमेरिकासँग माग गरेका लामो दूरीका टमहक क्षेप्यास्त्रलाई नजिकबाट नियालिरहेको जनाएको छ । यस्ता क्षेप्यास्त्रले युक्रेनलाई रुसको भित्री भागमा प्रहार गर्ने क्षमता बढाउने अलजजिराले जनाएको छ ।

सोमबार सञ्चारमाध्यमसँग रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले यी हतियार उपलब्ध गराइए पनि युद्धमा ठूलो परिवर्तन नल्याउने जिकिर गरे । यद्यपि, उनले यसबाट अमेरिकी र युक्रेनका सहयोगीले युद्धमा प्रत्यक्ष हस्तक्षेप गरेको मान्दै मस्कोले पहिले नै तय गरेको ‘रेड लाइन’ पार हुन सक्ने चेतावनी दिए ।

पेस्कोभले प्रतिप्रश्न गर्दै भने, “पहिलेजस्तै प्रश्न के हो भने यी क्षेप्यास्त्र कसले प्रक्षेपण गर्छ ? के युक्रेनीले मात्र प्रक्षेपण गर्छन् वा अमेरिकी सैनिक पनि संलग्न हुन्छन् ? यी क्षेप्यास्त्रको निसाना कसले निर्धारण गर्छ, अमेरिकी पक्षले कि युक्रेनीले आफैँ ?”

मस्कोले यसअघि नै आक्रमण गर्ने निसानाका निम्ति तथ्यांक वा गुप्तचर सूचना उपलब्ध गराउनु ‘रेड लाइन’ पार गर्नु हो भनेर चेतावनी दिएको थियो । साथै, रुसले मध्यम दूरीका आणविक हतियारको उत्पादन पुनः सुरु गर्न सक्ने र पश्चिमा देशको प्रहार दूरीभित्र त्यस्तै क्षेप्यास्त्र तैनाथ गर्न सक्ने संकेत बारम्बार दिएको छ ।

सोमबार टेलिग्राममा एक पोस्ट गर्दै रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले यस्तो हस्तक्षेपले सामूहिक विनाशका हतियार समेत प्रयोग हुने युद्ध निम्त्याउन सक्ने चेतावनी दिएका थिए ।

युक्रेनले माग गरेको हतियार र अमेरिकी प्रतिक्रिया
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत हप्ता न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्दा टमहक क्षेप्यास्त्रको निम्ति औपचारिक अनुरोध गरेको बताएका छन् ।

अघिल्लो प्रशासनमा जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तनाव नबढोस् भन्दै किभलाई अमेरिकी हतियार रुसमा प्रहार गर्न प्रतिबन्ध लगाएका थिए । त्यस बेला युक्रेनलाई कब्जा गरिएको क्षेत्रमा रहेका रुसी अड्डा मात्र लक्षित गर्न अनुमति थियो ।

टमहक क्षेप्यास्त्र के हो ?
टमहक लामो दूरीको सबसोनिक क्रुज क्षेप्यास्त्र हो, जसलाई जहाज, पनडुब्बी वा जमिनबाट प्रक्षेपण गर्न सकिन्छ । यो क्षेप्यास्त्रको दायरा १२ सय ५० देखि २५ सय किलोमिटरसम्म पुग्छ । उच्च–विस्फोटक वारहेड बोक्ने भएकाले सैन्य बंकरजस्ता कडा लक्ष्यमा समेत प्रहार गर्न यो सक्षम हुन्छ । कम उचाइमा उड्दै उच्च सबसोनिक गतिमा अघि बढ्ने भएकाले राडारले सजिलै पत्ता लगाउन सक्दैन ।

अमेरिकी नौसेनाले सन् १९७० को दशकदेखि यसको प्रयोग गर्दै आएको छ । हाल यो आरटीएक्स कम्पनीद्वारा मात्र उत्पादन गरिन्छ ।

युक्रेनलाई टमहक किन चाहिन्छ ?
किभले लामो समयदेखि रुसको गहिरो भागमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र माग गर्दै आएको छ । तर, नेटो सदस्य देश र पश्चिमा सहयोगीले ठूलो द्वन्द्व चर्कन सक्ने जोखिम देखेर यस्ता हतियार उपलब्ध गराउन हिच्किचाउँदै आएका छन् ।

सन् २०२४ को नोभेम्बरमा आफ्नो कार्यकाल सकिनुअघि जो बाइडेनले अमेरिकी क्षेप्यास्त्र प्रयोगमा लगाइएका केही प्रतिबन्ध सहज बनाएका थिए । २०२३ को मेमा बेलायतले स्टोर्म शाडो नामक २५० किलोमिटर दूरी क्षमताको क्षेप्यास्त्र उपलब्ध गराउन सुरु गरेको थियो । २०२४ को अगस्ट मा बेलायतले किभलाई आफ्ना हतियार सिधै रुसविरुद्ध प्रयोग गर्न अनुमति दियो ।

२०२४ को अप्रिलमा अमेरिकाले युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम्स उपलब्ध गराएको थियो । त्यसले ३०० किलोमिटरसम्म प्रहार गर्न सक्छ । 

यद्यपि, स्टोर्म शाडो एटीएसीएमएस दुवै टमहकसँग तुलना गर्दा दूरी र विनाश क्षमतामा सीमित छन् ।

युक्रेनले आफ्नै ड्रोन–क्षेप्यास्त्र प्रणाली पनि विकास गर्दै आएको छ । पालियान्टिसिया नामक टर्बो–जेट ड्रोनले ६५० किलोमिटरसम्म प्रहार गर्न सक्ने जनाइएको छ ।

फ्लेमिंगो नामक जमिन–आधारित क्षेप्यास्त्रले एक हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने दाबी गरिएको छ । तर, यसको प्रयोग पुष्टि भएको छैन । अलजजिराबाट ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्