site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पको २० बुँदे योजनापछि इजरायल–गाजा युद्ध रोकिएला ?

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्धविराममा सहमति जनाएका छन् । सोमबार (२९ सेप्टेम्बर) राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वासिङ्टन डीसीमा भएको भेटपछि यो सहमति भएको हो ।

दुवै नेताले पत्रकार सम्मेलन गरेर यसको जानकारी दिए । ट्रम्पले युद्धविरामका लागि २०–बुँदे योजना तयार पारेको भन्दै भने, "यदि हमासले यो योजना स्वीकार गर्दैन भने, इजरायलसँग त्यसलाई नष्ट गर्ने पूर्ण अधिकार छ र अमेरिकाले यसमा समर्थन गर्नेछ ।"

यसै गरी नेतन्याहूले भने, "गाजामा शान्तिपूर्ण प्रशासन हुनेछ । हमासका सबै हतियार हटाइनेछन् र इजरायलले गाजाबाट बिस्तारै सैन्य टुकडी समेट्नेछ ।"

उनले अगाडि चेतावनी दिँदै भने, "यो काम सजिलो वा गाह्रो जे भए पनि पूरा गरिनेछ । यदि हमासले योजना स्वीकार गर्दैन भने, इजरायलले आफैँले यो काम पूरा गर्नेछ ।"

यसबीच, हमासले आत्मसमर्पण नगर्ने बताएको छ । हमासले भन्यो, "हामीलाई योजनाको औपचारिक प्रस्ताव प्राप्त भएको छैन ।" तर, प्यालेस्टिनी सरकारले भने ट्रम्पको योजनालाई स्वागतयोग्य बताएको छ ।

ट्रम्पको युद्धविराम योजनाका २० बुँदाहरू

ट्रम्पले पत्रकार सम्मेलनमा यो योजना गाजामा युद्ध रोक्न, सबै बन्धकहरू रिहा गर्न र गाजाको प्रशासन चलाउन एक अस्थायी बोर्ड गठन गर्ने प्रस्ताव रहेको जानकारी दिए ।

यस बोर्डको अध्यक्षता ट्रम्पले गर्नेछन् र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर पनि सदस्य हुनेछन् ।

१. तत्काल युद्धविराम : इजरायल र हमासबीच सहमति भएमा गाजामा युद्ध तुरुन्त रोकिनेछ ।

२. इजरायली सेना फिर्ता : सहमति भएपछि इजरायलले आफ्नो सेना गाजाबाट चरणबद्ध तरिकाले फिर्ता गर्नेछ ।

३. बन्धक रिहाइ : हमासले ७२ घण्टाभित्र सबै जीवित र मृत इजरायली बन्धकहरू रिहा गर्नेछ ।

४. कैदी रिहाइ : युद्ध समाप्त भएपछि इजरायलले गाजाका २५० जनाको आजीवन कारावास र अन्य १७०० कैदीहरू रिहा गर्नेछ ।

५. शव आदानप्रदान : प्रत्येक मृत इजरायली बन्धकको बदला १५ जना मृत प्यालेस्टिनी कैदीहरूको शव फिर्ता गरिनेछ ।

६. गाजा आतङ्कमुक्त : गाजाबाट हमासका सबै ठाउँ र हतियार हटाइनेछन् ।

७. हमास गाजाको प्रशासनमा नरहने : हमास र अन्य लडाकु समूहहरू गाजाको सरकारमा सहभागी हुने छैनन् ।

८. अस्थायी प्रशासन समिति : गाजाका लागि एक अस्थायी प्राविधिक समिति गठन गरिनेछ, जसमा योग्य व्यक्तिहरू रहनेछन् ।

९. शान्ति बोर्ड गठन : यस बोर्डको अध्यक्षता अमेरिकी राष्ट्रपति ट्रम्पले गर्नेछन्, जसमा टोनी ब्लेयर र अन्य देशका नेताहरू रहनेछन् ।

१०. पुनर्निर्माण योजना : बोर्डले गाजाको विकास र सुधारको योजना बनाएर खर्च उठाउनेछ ।

११. मानवीय सहायता : गाजालाई तत्काल पर्याप्त राहत सहायता पुर्याइनेछ ।

१२. विशेष व्यापार क्षेत्र : गाजामा विशेष व्यापारिक क्षेत्रहरू स्थापना गरिएर रोजगारी बढाइनेछ ।

१३. व्यक्तिको स्वतन्त्रता : कुनै पनि प्यालेस्टिनीलाई गाजा छोड्न बाध्य गरिने छैन; जो चाहन्छ आउन र जान पाउनेछ ।

१४. अन्तर्राष्ट्रिय सुरक्षा बल : गाजामा सुरक्षा कायम राख्न एक अन्तर्राष्ट्रिय सुरक्षा बल तैनाथ हुनेछ ।

१५. प्रहरी प्रशिक्षण : सुरक्षा बलले गाजा प्रहरीलाई प्रशिक्षण र सहयोग गर्नेछ ।

१६. सीमा सुरक्षा : इजरायल र इजिप्टको सीमामा सुरक्षा कडा हुनेछ ।

१७. युद्धक कारबाही रोक : युद्ध समाप्त नभएसम्म हवाई हमला र गोलाबारी रोकिनेछ ।

१८. मानवअधिकार संरक्षण : अन्तर्राष्ट्रिय संस्थाहरूले गाजामा सहायता र सुरक्षाको अनुगमन गर्नेछन् ।

१९. शान्ति वार्ता : इजरायल र प्यालेस्टिनबीच शान्तिका लागि वार्ता सुरु हुनेछ ।

२०. भविष्यको लक्ष्य : योजनाको लक्ष्य गाजामा स्थायी शान्ति, विकास र राम्रो जीवन ल्याउनु हो ।

दुवै नेताले पत्रकारहरूका प्रश्नहरूको उत्तर दिएनन्

ट्रम्प र नेतन्याहूले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा रिपोर्टरहरूका प्रश्नहरू स्वीकार गरेनन् ।

ट्रम्पले भने, "हालै दस्तावेजमा हस्ताक्षर भइसकेको छैन र सबै कुरा तोकिएको छैन, त्यसैले अहिले प्रश्न लिनु ठीक हुने छैन ।"

ट्रम्पले नेतन्याहूलाई सोधे, "के तपाईं केही इजरायली पत्रकारहरूका प्रश्नहरू लिन चाहनुहुन्छ ?" यसको जवाफमा नेतन्याहूले भने, "म तपाईंको निर्णयमा विश्वास गर्छु ।" यसपछि पत्रकारहरूले प्रश्न सोध्न थाले, तर दुवै नेताहरूले हात मिलाएर त्यहाँबाट हिँडेका थिए ।

नेतन्याहू ट्रम्पसँग भेट्न ह्वाइट हाउस पुगेका थिए । ट्रम्पले नेतन्याहूलाई स्वागत गर्दै उनी गाजा युद्धविरामको विषयमा आशावादी भएको बताएका थिए ।

यो भेट गाजाको युद्धपछिको भविष्यलाई लिएर नयाँ अमेरिकी–समर्थित योजनाहरूमा छलफल चलिरहेको बेलामा भएको हो, जबकि इजरायल विश्वव्यापी रूपमा आलोचनाको सामना गरिरहेको छ ।

यी दुवै नेताहरूको यस वर्षको यो चौथो भेट थियो । यो भेटको मुख्य एजेन्डा दुई वर्षदेखि चलिरहेको गाजा संघर्षपछि त्यहाँ शान्ति स्थापना गर्ने योजनाहरू थिए । ट्रम्पले गाजामा शान्ति पुनःस्थापित हुने र अमेरिका युद्ध समाप्त गरी स्थायी राजनीतिक समाधानतर्फ लागिरहेको आत्मविश्वासपूर्वक घोषणा गरे ।

गाजा शान्ति योजनाको विस्तृत विवरण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा संघर्ष समाप्त गर्न र क्षेत्रमा स्थायी शान्ति स्थापना गर्न एक व्यापक शान्ति योजना पेश गरेका छन् ।

योजनाअनुसार, सुरुमा ४८ बन्धक रिहा र तत्काल युद्धविराम लागू गर्न जोड दिइएको छ । त्यसपछि इजरायली सेना गाजाबाट चरणबद्ध तरिकाले फिर्ता गरिने रूपरेखा तयार गरिएको छ । योजनामा २५० आजीवन कारावासका प्यालेस्टिनी कैदी र २००० अन्य बन्दीहरू रिहा गर्ने प्रावधान समेत रहेको छ । ट्रम्पले नेतन्याहूसँग वार्तापछि गाजामा संघर्ष विरामको लागि नयाँ र विस्तृत प्रस्ताव राखेका छन् ।

दुवै नेताले संयुक्त बयान जारी गरेका छन् । उनीहरूले गाजा युद्ध समाप्त गर्ने योजनामा सहमत भएको घोषणा गरे, तर हमासले उनीहरूको शर्त स्वीकार गर्छ वा गर्दैन भन्ने स्पष्ट छैन ।

ट्रम्पले भनेका छन्, "हमासले प्रस्तावित शान्ति सम्झौता स्वीकार गर्दैन भने, उनीहरूले इजरायललाई हमासलाई हराउन पूर्ण समर्थन दिनेछन् ।" ट्रम्प प्रशासनले गाजा युद्ध समाप्त गर्ने र भविष्यको व्यवस्थाको लागि २१–बुँदे योजना पनि जारी गरेको छ ।

उनले भने, "यदि दुवै पक्षले यो प्रस्ताव स्वीकार गर्छन् भने गाजामा तत्काल युद्ध विराम लागू गरिनेछ । यस अवधिमा हवाई हमला र तोपहरूको गोलाबारीसहितका सबै सैन्य अभियानहरू स्थगित रहनेछन् ।"

ट्रम्पको शान्ति प्रस्तावका केही प्रमुख पक्षहरू

  • तत्काल युद्धविराम
  • ४८ घण्टाभित्र बन्धक रिहाइ
  • गाजाबाट क्रमिक इजरायली फिर्ता
  • हमासको शासन अन्त्य र हतियार त्याग
  • गाजामा अन्तर्राष्ट्रिय सुरक्षा बल तैनाथी

नागरिक मामिलाहरूको हेरचाह प्राविधिक विशेषज्ञ समितिद्वारा, पछि पुनर्गठित प्यालेस्टिनी प्राधिकरणलाई अधिकार दिइने बताइएको छ ।

प्रस्तावअनुसार, इजरायली सेनाहरू अमेरिका र अन्य ग्यारेन्टरहरूबीच तोकिएका मापदण्डको आधारमा निश्चित समयसीमाभित्र फिर्ता हुनेछन् ।

इजरायलले सम्झौता सार्वजनिक रूपमा स्वीकार गरेको ७२ घण्टाभित्र हमासले सबै बन्धकहरूलाई जीवित वा मृत अवस्थामा फिर्ता गर्नेछ । प्रस्तावमा भनिएको छ, हमासले प्रत्येक इजरायली बन्धकको अवशेष फिर्ता गरेमा, इजरायलले १५ गाजावासीहरूको अवशेष फिर्ता गर्नेछ ।

ट्रम्पको प्रस्तावअनुसार, अमेरिकाले इजरायल र प्यालेस्टिनीबीच संवाद स्थापना गराएर शान्तिपूर्ण र समृद्ध सह–अस्तित्वको लागि राजनीतिक सहमति निर्माण गर्न मद्दत गर्नेछ । यस प्रस्तावअनुसार, इजरायलले कुनै पनि अवस्थामा गाजामा कब्जा वा विलय गर्ने छैन । गाजा एक कट्टरपन्थी–मुक्त क्षेत्र हुनेछ ।

गाजा पट्टीमा सहायता वितरण संयुक्त राष्ट्र र यसको एजेन्सीहरू, रेड क्रसेन्ट मार्फत दुवै पक्षको हस्तक्षेप बिना हुनेछ । हमास र अन्य समूहहरूले गाजाको शासनमा प्रत्यक्ष, अप्रत्यक्ष वा कुनै पनि रूपमा भूमिका खेल्ने छैनन् ।

हमासका सदस्यहरूमध्ये जसले गाजा छोड्न चाहन्छन्, तिनीहरूलाई सुरक्षित रूपमा ती देशहरूसम्म पुर्याइनेछ जसले तिनीहरूलाई लिन चाहन्छन् । गाजाको पुनर्निर्माण र पुनर्सक्रियताको लागि एक ट्रम्प आर्थिक विकास योजना बनाइनेछ ।

प्रस्ताव स्वीकार भएमा सम्झौताअनुसार गाजा पट्टीमा तुरुन्त पूर्ण सहायता पठाइने र कुनै पनि प्यालेस्टिनीलाई गाजा छोड्न बाध्य गरिने छैन । तर जसले छोड्न चाहन्छन्, तिनीहरू त्यसो गर्न र फर्कन स्वतन्त्र हुनेछन् ।

अमेरिका, अरब र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर एक अस्थायी अन्तर्राष्ट्रिय स्थिरीकरण बल विकसित गर्नेछ, जसलाई तुरुन्त गाजामा तैनाथ गरिनेछ । गाजाको शासन एक प्राविधिक, गैर–राजनीतिक प्यालेस्टिनी समितिको अस्थायी सङ्क्रमणकालीन समितिको हातमा हुनेछ । समितिमा प्यालेस्टिनीहरूको प्रतिनिधित्व रहनेछ र अन्तर्राष्ट्रिय विशेषज्ञहरू पनि सामेल हुनेछन् ।

प्रस्तावअनुसार, सबै बन्धक फिर्ता भएपछि, हमासका ती सदस्यहरूलाई, जो शान्तिपूर्ण सह–अस्तित्व र आफ्ना हतियार निष्क्रिय गर्न प्रतिबद्ध छन्, माफी दिइनेछ । गाजामा एक विशेष आर्थिक क्षेत्र स्थापना गरिनेछ । यस आर्थिक क्षेत्रमा सहभागी हुने देशहरूसँग ट्यारिफ र पहुँच दरहरूको बारेमा कुराकानी गरिनेछ ।

अन्तर्राष्ट्रियरूपमा एक्लिँदै इजरायल

गाजामा हमास र इजरायलबीचको संघर्षले गर्दा इजरायल अन्तर्राष्ट्रिय रूपमा एक्लिँदै गइरहेको छ । गत हप्ता, अमेरिका र इजरायलको विरोधका बावजुद धेरै पश्चिमा नेताहरूले औपचारिक रूपमा प्यालेस्टिनी राज्यको दर्जा स्वीकार गरेका थिए । नेतन्याहूले आफ्नो देशको सबैभन्दा महत्त्वपूर्ण सम्बन्धहरू मजबूत गर्ने प्रयास गरिरहेका छन् । ट्रम्पले प्यालेस्टिन मान्यतालाई कडा आलोचना गर्दै यसलाई हमासको लागि पुरस्कार बताएका थिए ।

ट्रम्पले प्यालेस्टिनी क्षेत्रमा युद्ध रोक्न र लडाकु समूहद्वारा पक्राउ परेका बन्धकहरू रिहा गर्ने रूपरेखामा नेतन्याहूको सहमति चाहेका छन् । अमेरिकाले गत हप्ता संयुक्त राष्ट्र महासभामा अरब र मुस्लिम देशहरूको अगाडि २१–बुँदे शान्ति योजना पेश गरेको थियो ।

इरानले अब्राहम सम्झौतामा सहभागी हुन सक्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानले अब्राहम सम्झौतामा सहभागी हुन सक्नेमा उनी विश्वस्त रहेको भनेका छन् ।

यो एक शान्ति सम्झौता हो जसमा ट्रम्पको पहिलो कार्यकालमा हस्ताक्षर भएको थियो । यसअनुसार, इजरायलले चार मुस्लिम बहुल देशहरू संयुक्त अरब इमिरेट्स, बहराइन, सुडान र मोरक्कोसँग कूटनीतिक सम्बन्ध सामान्य बनाएको थियो ।

योजना अस्वीकार गरेमा नेतन्याहूको कडा चेतावनी

नेतन्याहूसँग हमासले योजना अस्वीकार गरेमा के हुन्छ ? भन्ने प्रश्नको जवाफमा उनले सख्त चेतावनी दिँदै भने, "हामीले शान्तिको बाटोमा सबैलाई मौका दिँदैछौँ, तर यदि हमासले योजनालाई अस्वीकार गर्छ वा उल्ट्याउँछ भने, इजरायलले आफैँले यो काम पूरा गर्नेछ । यो सजिलो बाटो होस् वा गाह्रो, तर यो गरिनेछ ।"

इजरायल र हमासबीच पछिल्ला २३ महिनादेखि चलिरहेको संघर्षले गर्दा गाजाको स्थिति दिनप्रतिदिन भयावह हुँदै गइरहेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्ध छिटो समाप्त गर्न ल्याइएको नयाँ र विस्तृत संघर्ष विराम प्रस्तावले गाजा र सम्पूर्ण प्यालेस्टिनीका मानिसहरूको आँखामा आशाको नयाँ किरण ल्याएको बताएका छन् ।

यसैकारण, ट्रम्पको यस प्रयासलाई प्यालेस्टिनसहित धेरै इस्लामिक देशहरूले सराहना गरेका छन् ।

प्यालेस्टिनीले वक्तव्य जारी गरेर भनेको छ, "प्यालेस्टिनले गाजा युद्ध समाप्त गर्न राष्ट्रपति ट्रम्पको इमान्दार र दृढ प्रयासलाई स्वागत गर्दछ" ।

ट्रम्पले नयाँ प्रस्ताव राखेपछि शान्ति सम्झौताको छलफल तीव्र भएको छ । धेरै इस्लामिक देशहरूले ट्रम्पको यस प्रस्तावलाई स्वागत गरेका छन् ।

एजेन्सीहरूको सहयोगमा ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  ०५:२६
प्रतिक्रिया दिनुहोस्