काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राजनीतिक पार्टी नसुध्रिए नेपालका नराम्रा दिन अझै बाँकी रहेको बताएका छन् । सोमबार (असोज १३) ललितपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।
लामो समयदेखि मुलुक दुर्घटनातर्फ गइरहेको उनले उल्लेख गरे । दल, तिनका नीति र नेताका कारण राजनीति दुर्घटनातिर गइरहेको उनले बताए ।
घनश्याम भुसालको भनाइ पढ्नोस्–
राजनीतिक पार्टीहरू नसुध्रिने हो भने नेपालका दुर्दिनहरू अझै बाँकी छन् । लामो समयदेखि मुलुक दुर्घटनातर्फ जाँदै छ । राजनीतिक पार्टीहरूको कारण, तिनका नीति र नेताहरूको कारणले राजनीति दुर्घटनातिर गइरहेको छ । राजनीतिक पार्टीभित्र सम्भवतः सबैभन्दा बढी यो प्रश्न उठाउँदै आएको राजनीतिक पार्टीहरू नै सुध्रिएन भने त्यो दुर्घटना रोकिँदैन भनेर आफ्नो कुरा उठाउँदै आएको मान्छे हुँ म । अहिले जे घटनाहरू घटे त्यो मेरा लागि वास्तवमा नयाँ होइन । कसको घर जल्यो, कुन घर जल्यो भन्ने मात्रै फरक हो । नत्र भने घरहरू जल्छन् भन्ने कुरा देखिन्थ्यो । एउटा उत्पात आउँदै छ भन्ने कुरा देखिन्थ्यो । त्यसले एउटा भ्याकुम क्रिएट गर्दै छ भन्ने बारेमा मैले भनेको थिएँ । न्युज एजेन्सी नेपाल