site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुदन गुरुङले गरे चुनाव लड्ने घोषणा

काठमाडौं । ‘जेनजी’ आन्दोलनपछि उदाएका युवा नेता सुदन गुरुङले आउँदो फागुनमा हुन लागेको आमनिर्वाचनमा उमेदवारी दिने घोषणा गरेका छन् । उनले आफूहरूको आन्दोलनले जनताको सरकार निर्माण गर्न अन्तिमसम्म लड्ने प्रतिबद्धता व्यक्त गरेको अलजजिराले जनाएको छ ।

अलजजिरासँगको विशेष अन्तर्वार्तामा गुरुङले आफ्नो समूहले परम्परागत राजनीतिक दलको सट्टा परिवर्तनका निम्ति आन्दोलन गर्दै देशभर समर्थक परिचालन गरिरहेको बताए । “उनीहरूले हामीलाई राजनीतिमा तानेका छन्,” उनले ‘स्वार्थी’ र ‘भ्रष्ट’ पूर्वराजनीतिज्ञको सरकारबारे टिप्पणी गर्दै भने, “यदि, उनीहरूलाई राजनीति चाहिएको हो भने उनीहरूले त्यही पाउनेछन् । हामी अर्को निर्वाचनमा उठ्नेछौँ, किनभने अब हामी पछि हट्ने छैनौँ ।”

गुरुङले आन्दोलनका स्वयंसेवकले कानुनी र सञ्चार समिति गठन गरिरहेका बताए । उनीहरूले विरोध प्रदर्शनमा प्रयोग गरिएका डिस्कोर्ड, इन्स्टाग्रामजस्ता प्लेटफर्ममार्फत देशभरबाट नीतिगत माग संकलन गरिरहेका गुरुङले जानकारी दिए ।

उनको टोलीले नेपाली जनताको हरेक आवाज सुनिएको निश्चित गर्न काम गरिरहेको जनाएको छ ।

गुरुङले स्वतन्त्र उमेदवारका रूपमा चुनाव लड्ने सम्भावना कम रहेको बताए । समूहका रूपमा आफूहरूले चुनाव लड्ने योजना रहेको उनले उल्लेख गरे । “यदि, म मात्र स्वतन्त्र उमेदवारको रूपमा उठेँ भने हामीसँग युवाको शक्ति हुने छैन,” उनले भने, “एकसाथ हामी बलियो हुनेछौँ ।”

उनीहरूले बृहत् एजेन्डामा चुनाव लड्ने प्रतिबद्धता जनाइएको छ । यसले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने र ‘बाह्य हस्तक्षेप’बिना छिमेकी भारत र चीनसँगको सम्बन्ध मजबुत बनाउने योजना बनाइएको छ ।

गुरुङले भने, “हामीले उनीहरूलाई सम्मान गर्नुपर्छ, उनीहरूले हामीलाई सम्मान गर्नुपर्छ ।”

उनले आउँदो निर्वाचनमा पुरानो राजनीतिक नेतृत्वले प्रतिस्पर्धा गर्न नपाओस् भन्ने आशय व्यक्त गरे । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई भ्रष्टाचार र प्रदर्शनकारीको हत्यासँग सम्बन्धित अनुसन्धान तीव्रताका साथ अघि बढाउन उनले आग्रह गरे ।

गुरुङले भने, “हामी सुनिश्चित के गर्नेछौँ भने अनुसन्धान समयमै र उचित तरिकाले सम्पन्न होस्, जसले गर्दा उनीहरू निर्वाचनमा सहभागी नहून् ।”

तपाईं आफू प्रधानमन्त्री बन्न चाहनुहुन्छ ? भनेर सोधिएको प्रश्नमा गुरुङले भने, “म अहिले नै ‘सही व्यक्ति हुँ’ भन्दिनँ । तर, यदि जनताले मलाई रोजे भने म निश्चित रूपमा उठ्नेछु ।”

उनले आफूलाई चुप गराउन प्रयास भइरहेको बताए । धेरैले आफ्नो मनोबल गिराउने, पछ्याउने र डराउने कोसिस गरेको उनको भनाइ छ । धम्कीका बाबजुद पनि उनको स्वर चुनौतीपूर्ण छ ।

“म डराएको छैन, मलाई मार्दा केही हुनेवाला छैन । मैले मेरो राष्ट्रलाई बचाउनुपर्छ, किनभने यो अहिले नै या कहिल्यै होइन,” गुरुङले भने ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्