काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न र अमेरिकी नेतृत्वसँग द्विपक्षीय बैठकका निम्ति यति बेला न्युयोर्कमा छन् । उनले शुक्रबार (हिओ) नै महासभामा सम्बोधन गरिसकेका छन् ।
अमेरिकामा पुगेर दिएको भाषणभन्दा पनि उनको न्युयोर्क यात्राबारे बढी चर्चा भइरहेको छ । विशेष गरी त्यहाँ पुग्न उनको विमानले लिएको असामान्य र लामो उडानमार्ग (फ्लाइट रुट)ले सबैको ध्यान तानेको छ । यसको कारण सुरक्षा र कूटनीतिक दबाब रहेको जनाइएको छ ।
नेतान्याहूको आधिकारिक विमान ‘विंग्स अफ जायन’ले युरोपका ती देशको आकाश प्रयोग गरेन, जुन मुलुक अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी)का सदस्य हुन् । किनकि, आईसीसीका सदस्य देशमा नेतान्याहूमाथि जारी गिरफ्तारी ‘वारेन्ट’ लागु हुन्छ । र, ती देशले उनलाई पक्राउ गरी अदालतमा बुझाउनुपर्ने हुन्छ ।
आईसीसीले सन् २०२४ को नोभेम्बरमा नेतान्याहू र इजरायली पूर्वरक्षामन्त्री योआव गालान्टमाथि गाजामा युद्ध र मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँदै गिरफ्तारी वारेन्ट जारी गरेको थियो ।
यो सन्दर्भमा फ्रान्सले गिरफ्तारी गर्न अस्वीकार गरेको थियो । इटालीले पनि यसको सम्भावनामा शंका व्यक्त गरेको थियो । इजरायलले फ्रान्सबाट उडान अनुमति पहिले नै पाए पनि नेतान्याहूको प्रतिनिधिमण्डलले स्वयं वैकल्पिक मार्ग रोजेको थियो ।
फ्रान्सेली अधिकारीले भने, “उनीहरूले दोस्रो मार्ग प्रयोग गरे, त्यसको कारण भने बताएनन् ।”

नेतान्याहूले महासभामा सम्बोधन गरेपछि आउँदो साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने कार्यक्रम छ । यो यात्रा त्यस्तो समयमा भइरहेको छ, जब गाजा नीति र आईसीसीको वारेन्टका विषयमा अन्तर्राष्ट्रिय बहस तीव्र बनेको छ ।
विश्लेषकको भनाइमा, नेतान्याहूको यो ‘एयर रुट डिप्लोमेसी’ले उनीमाथि बढ्दो विश्वव्यापी राजनीतिक दबाब, सुरक्षा चिन्ता र कूटनीतिक रणनीतिलाई प्रस्ट देखाएको छ ।
नेतान्याहूले न्युयोर्कको महासभामा सहभागी हुन युरोपका धेरै देशको आकाश पन्छाउँदै ६०० किलोमिटर लामो दक्षिणी हवाईमार्ग रोजेका थिए । यसले सम्भावित गिरफ्तारीबाट नेतान्याहूलाई जोगाएको र आफ्नो सुरक्षा तथा कूटनीतिक रणनीतिलाई प्राथमिकता दिएको प्रस्ट हुन्छ ।
इजरायलले भने यी आरोपलाई लगातार खारेज गर्दै आएको छ । सामान्यतया इजरायलबाट अमेरिका जाने उडानले फ्रान्स र मध्य युरोपमाथि भएर छोटो र सिधा मार्ग अपनाउँछ । तर, योपटक नेतान्याहूको विमान दक्षिणी मार्ग अपनाउन बाध्य भयो ।
विमानले ग्रीस र इटालीको तट छुँदै जिब्राल्टरको खाडी पार गरी एट्लान्टिक महासागर हुँदै न्युयोर्क पुगेको थियो । यो परिवर्तनका कारण यात्रा करिब ६०० किलोमिटर लामो हुन पुगेको हो । यो मार्ग आईसीसीको वारेन्ट लागु गर्ने देशहरू जस्तै, आयरल्यान्ड र स्पेनलाई छल्न रोजिएको हो । यी दुई देशले पहिले नै नेतान्याहू आफ्नो भूमिमा प्रवेश गरेमा आईसीसीको आदेशको पालना गर्ने स्पष्ट घोषणा गरेका थिए । टाइम्स अफ इन्डियाबाट ।