काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् ।
फ्रान्स र बेलायत लगायतका देशहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णयमाथि प्रतिक्रिया जनाउँदै नेतन्याहूले यसलाई इजरायलका लागि ‘राष्ट्रिय आत्महत्या’ भएको दाबी गरे । उनले प्यालेस्टिनी राज्यलाई मान्यता दिनु ‘पूर्ण पागलपन’ भएको उल्लेख गर्दै यो कदम अस्वाभाविक र अस्वीकार्य भएको बताए । साथै, अन्य धेरै देशहरूले प्यालेस्टाइनलाई मान्यता दिनु ‘लाजमर्दो’ भएको टिप्पणी पनि गरे ।
नेतन्याहूले गाजामा नागरिकहरूलाई निसाना बनाएको आरोपलाई अस्वीकार गर्दै भने, “सत्य यसको ठिक उल्टो हो ।” उनका अनुसार, गाजाबाट नागरिकलाई बाहिर निकाल्नका लागि इजरायलले लाखौँ पर्चा खसालेको र लाखौँ सन्देश पठाएको थियो ।
इजरायलले जानीजानी गाजावासीलाई भोकमरीमा धकेलेको आरोपलाई समेत उनले अस्वीकार गरे । नेतन्याहूले भने, “यदि गाजावासीहरूसँग पर्याप्त खाना नपाएको भए, त्यो हमासले लुटेर, भण्डारण गरेर वा बेचेर राखेका कारण भएको हो ।”
हमासले नियन्त्रणमा राखेका बन्धकहरूलाई सम्बोधन गर्दै उनले भने, “हामीले तपाईंहरूलाई बिर्सेका छैनौँ, एक सेकेन्डका लागि पनि होइन । तपाईंहरू सबैलाई घर फर्काएसम्म इजरायल आराम गर्ने छैन । इजरायली जनता तपाईंहरूको साथमा छन् ।”
सम्बोधनका क्रममा नेतन्याहूले गत वर्ष इजरायलले हुथीहरूलाई पराजित गरेको, हमास आतंकवादी संरचनाको ठूलो हिस्सा नष्ट गरेको र हिजबुल्लाहलाई अपांग बनाएको दाबी गरे ।
उनले थपे, “सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले इरानको आणविक हतियार र ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई ध्वस्त पार्यौं ।”
नेतन्याहू मञ्चमा उक्लँदा न्यूयोर्कको महासभा हलबाट दर्जनौँ मानिसहरू विरोधस्वरूप बाहिरिएका थिए, जबकि केहीले भने ताली बजाएका थिए । नेतन्याहूले आफ्नो भाषण इजरायलमा रहेका लाउडस्पिकरमार्फत गाजामा समेत प्रत्यक्ष प्रसारण गरिएको बताएका थिए ।
उनको यो सम्बोधन डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंक कब्जा गर्न नदिने बताएका केही समयपछि आएको हो । नेतन्याहूको ट्रम्पसँग सोमबार भेट हुने तय भएको छ ।
यसअघि बिहीबार संयुक्त राष्ट्रसंघमा बोल्दै, प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले गाजामा हमासको भाबी शासकीय भूमिकालाई अस्वीकार गर्ने आफ्नो अडान दोहोर्याएका थिए । उनले हमासलाई हतियार त्याग्न माग गरेका थिए ।