site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुसको सेना वास्तवमै 'कागजी बाघ' हो ? युक्रेन युद्धको बीचमा ट्रम्पले किन यसो भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विदेश नीतिको एक महत्त्वपूर्ण मुद्दामा यू–टर्न लिइरहेका देखिएका छन् ।अहिलेसम्म ट्रम्प प्रशासनले युक्रेनले रुससँगको शान्ति सम्झौताका लागि धेरै जिद्दी गर्न नहुने बताउँदै आएको थियो ।

तर, मंगलबार ट्रम्पले युरोपको समर्थनले युक्रेनले युद्ध जित्न सक्ने र आफ्नो गुमाएको जमिन फिर्ता पाउन सक्ने बताए । न्युयोर्कमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटघाट गरेपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा युक्रेनले युद्ध जित्ने बताएका हुन् ।

ट्रम्पले बिना कुनै उद्देश्य रुस साढे तीन वर्षदेखि एउटा यस्तो युद्ध लडिरहेको र उसलाई जित्नका लागि एक वास्तविक सैन्य शक्तिलाई एक हप्ताभन्दा कम समय लाग्नुपर्ने बताएका थिए । ट्रम्पले रुसको सेनालाई एक 'कागजी बाघ'जस्तो बताएका छन् ।

रुसले खारेज गर्‍यो ट्रम्पको भनाइ
ट्रम्पको 'कागजी बाघ' भन्ने भनाइलाई खारेज गर्दै बुधबार राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सेनाले युक्रेनमा बढत बनाएको र अर्थतन्त्र पनि स्थिर रहेको बताए ।

पेस्कोभले भने, “जहाँसम्म हाम्रो सेनाको सवाल छ भने राष्ट्रपतिले बारम्बार के भन्नुभएको छ भने हामी कम क्षति गर्ने रणनीतिमा धेरै सावधानीपूर्वक अगाडि बढिरहेका छौँ । यस्तो अवस्थामा हाम्रो आक्रामकतालाई कम आँक्नु एक गल्ती हुनेछ । हामी धेरै सुझबुझका साथ सैन्य कारबाही गरिरहेका छौँ । हामी भालु हौँ, बाघ होइनौँ र कागजी बाघजस्तो कुनै चीज छैन ।”

पाँच हप्ताअघि मात्रै अलास्कामा राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग साढे तीन घण्टा लामो भेटघाट गरेका थिए । भेटघाटपछि जेलेन्स्कीले जस्तोसुकै मूल्य चुकाउनुपरे पनि रुससँग सम्झौता गर्नुपर्ने अडान ट्रम्पको थियो ।

ट्रम्पले यस्तो यू–टर्न किन लिए, यसको कुनै ठोस कारण उनले बताएका छैनन् । ट्रम्पको दोस्रो कार्यकालको आठ महिनामात्रै भएको छ । उनी एक महत्त्वपूर्ण मुद्दामा यू–टर्न लिइरहेका देखिएका छन् ।

ट्रम्पको अडान किन बदलियो ?
यसै वर्ष फेब्रुअरीमा ट्रम्पले जेलेन्स्कीलाई आफ्नो ओभल अफिसमा भनेका थिए, “अहिले तपाईं धेरै राम्रो स्थितिमा हुनुहुन्न । तपाईंले आफैँलाई धेरै कठिन स्थितिमा ल्याउनुभएको छ । तपाईंसँग अहिले दाउमा लगाउनका लागि केही छैन । यस्तो अवस्थामा तपाईं बहस गर्न सक्नुहुन्न ।”

यहाँसम्म कि ट्रम्पले रुसलाई ट्यारिफबाट अलग राखेका थिए । यसका अतिरिक्त अलास्काको भेटमा ट्रम्पले पुटिनलाई न्यानो स्वागत पनि गरेका थिए ।

ट्रम्पको ट्रुथ पोस्ट हेर्दा उनी युक्रेन युद्धमा संलग्न हुने इच्छा राख्दैनन् भन्ने लाग्छ । ट्रम्पले आफ्नो ट्रुथ पोस्टको अन्तमा दुवै देशलाई शुभकामना दिन्छु भनेर गरेका छन् । यद्यपि, ट्रम्पले राष्ट्रपति बनेपछि युक्रेन युद्धलाई केही दिन वा हप्तामा समाप्त गराउने बताएका थिए ।

अमेरिकाका रक्षामन्त्री पिट हेगसथले यसै वर्ष फेब्रुअरी १२ मा ब्रसेल्समा आयोजित डिफेन्स समिटमा भनेका थिए, “तपाईंहरू जस्तै हामी पनि एक सार्वभौम र सम्पन्न युक्रेन चाहन्छौँ । तर, म २०१४ भन्दा पहिले युक्रेनको जुन सीमा थियो, त्यसलाई फिर्ता हासिल गर्नु यथार्थभन्दा बाहिर छ भन्न पनि चाहन्छु । यस अवास्तविक लक्ष्यको पछि लाग्दा युद्ध त लम्बिने नै छ, साथै ठूलो क्षति पनि उठाउनुपर्नेछ ।”

रुसले मार्च २०१४ मा युक्रेनको क्राइमियालाई आफूमा गाभेको थियो । तब क्राइमियामा रुस समर्थक पृथकतावादीहरूले युक्रेनविरुद्ध सशस्त्र विद्रोह गरेका थिए ।

युक्रेनको अहिले २० प्रतिशत भूभागमा रुसको नियन्त्रण छ । जसमा मुख्यरूपमा युक्रेनको पूर्वी र दक्षिणी इलाकाहरू समावेश छन् ।

 

बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्