site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लद्दाख हिंसा ‘जेनजी’ विद्रोह कि राजनीतिप्रेरित षड्यन्त्र ?

काठमाडौं । भारतमा लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित लेहमा बुधबार प्रदर्शन हिंसात्मक बन्दा कम्तीमा चारजनाको मृत्यु भएको छ । धेरैजना घाइते छन् ।

विरोधको अगुवाइ गरिरहेका जलवायु कार्यकर्ता सोनम वाङचुकले हिंसा बढ्दै गएकामा दुःख व्यक्त गरेका छन् । उनले आफ्नो १५ दिने भोक हडताल अन्त्य गरेका छन् । वाङचुकले यो प्रदर्शनलाई युवाको आक्रोश र ‘जेनजी क्रान्ति’ भनेका छन् ।

“तपाईंहरूलाई जानकारी गराउँदा मलाई दुःख लागेको छ, किनभने विरोधका क्रममा लेहमा हिंसा भयो । धेरै कार्यालय र प्रहरीका गाडीहरू तोडफोड र आगजनी भए । लेहमा बन्द घोषणा भएको थियो, तर युवा ठूलो संख्यामा सडकमा निस्किए । यो युवाको आक्रोश थियो, एक ‘जेनजी क्रान्ति’,” वाङचुकले भिडियो सन्देशमा भनेका छन् ।

भारतीय जनता पार्टी (बीजेपी)ले यो हिंसालाई नेपालको हालैको जेनजी आन्दोलनसँग तुलना गर्ने सचेत प्रयास गरिएको आरोप लगाएको छ । यो प्रदर्शन भारतीय राष्ट्रिय कांग्रेसले उक्साएको बीजेपीको आरोप छ ।

बीजेपी सांसद सम्बित पात्राले भने, “आज (बुधबार) लद्दाखमा केही प्रदर्शनलाई जेनजीद्वारा नेतृत्व गरिएको जस्तो देखाउन खोजियो । तर, अनुसन्धानले देखायो भने यी प्रदर्शन वास्तवमा कांग्रेसद्वारा प्रेरित थिए ।”

उनले अगाडि भने, “कांग्रेसका पार्षद स्टान्जिन त्सेपाङ अप्पर लेह वडाका हुन् । उनी नै मुख्य उक्साहटकर्ता हुन् र उनी तथा उनका समर्थकले हिंसा भड्काएको प्रमाणस्वरूप तस्बिरहरू सार्वजनिक भएका छन् । उनी हातमा हतियार लिएर बीजेपी कार्यालयतर्फ अघि बढेको पनि देखिन्छ । उनले भीडलाई उक्साउँदै बीजेपी कार्यालयलाई निसाना बनाएको भिडियो समेत सार्वजनिक छ । स्टान्जिन त्सेपाङ राहुल गान्धीसँगको नजिक सम्बन्धमा छन् ।”

सरकारी स्रोतले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारीअनुसार, लेहको स्थिति आफैं बिग्रिएको होइन, योजनाबद्ध रूपमा गरिएको हो ।

स्रोतले भनेका छन् “निश्चित व्यक्तिहरूको संकीर्ण राजनीति र सोनम वाङचुकको व्यक्तिगत महत्त्वाकांक्षाका कारण लद्दाख र यहाँका युवाले ठूलो मूल्य चुकाइरहेका छन् ।”

स्रोतका अनुसार, केन्द्रले लेह एपेक्स बडी र कारगिल डेमोक्रेटिक अलायन्सद्वारा उठाइएका सबै मागमा छलफल गर्न अक्टोबर ६ का निम्ति उच्चस्तरीय समितिको बैठक तय गरिसकेको थियो । केन्द्रले प्रस्तावित एचपीसीका नयाँ सदस्यसँग पनि सहमति जनाएको थियो । बैठक अगाडि सार्ने अनुरोध आएपछि सेप्टेम्बर २५–२६ मा छलफलका मिति विचाराधीन थिए । केन्द्र सधैँ वार्ताका निम्ति तयार थियो । जुलाई २५ मा पनि वार्ताको प्रस्ताव गरिएको थियो । तर, त्यति बेला सकारात्मक प्रतिक्रिया प्राप्त भएको थिएन ।

लद्दाखका उपराज्यपाल कविन्दर गुप्ताले पनि हिंसाका निम्ति निहित स्वार्थलाई जिम्मेवार ठहर्‍याएका छन् । उनले भने, “लोकतान्त्रिक प्रणालीमा विरोध गर्नु अधिकार हो, तर यो शान्तिपूर्ण तरिकाले हुनुपर्छ । विगत दुई दिनदेखि मानिसलाई उक्साउने प्रयास भइरहेको छ । यहाँको विरोधलाई बंगलादेश र नेपालमा भएको आन्दोलनसँग तुलना गरिनु यसको पछाडि षड्यन्त्रको संकेत हो ।”

उनले थपे, “जब कानुन व्यवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन गरियो, एक सीआरपीएफ गाडी जलाइयो । डीजीको गाडीमा ढुंगा प्रहार गरियो । यदि, समयमै नियन्त्रण गरिएको थिएन भने यी प्रदर्शनकारीले लेह सहरलाई पूरै बर्बाद पार्ने सम्भावना थियो ।”

जेनजी विशेषणबाट वाङचुक पछि हटे
पछिल्ला दिनमा वाङचुकले जेनजी भन्ने विशेषण प्रयोग गर्न छाड्दै लद्दाखको प्रदर्शनलाई साधारण युवा आन्दोलनका रूपमा परिभाषित गरेका छन् । भर्चुअल पत्रकार सम्मेलनमा उनले भने, “यी मानिसले आफूलाई जेनजी भन्छन्, त्यसैले मैले पनि भनेँ । तर, म उनीहरूलाई युवा भन्छु । जेनजी मेरो शब्द होइन, यो त प्रायः मानिसले प्रयोग गर्ने परिभाषा हो । वास्तवमा उनीहरू युवा हुन् ।” लद्दाख एपेक्स बडी युवा इकाइले प्रदर्शन आह्वान गरेको थियो ।

सेप्टेम्बर १० देखि सुरु ३५ दिने भोक हडतालमा बसेका १५ मध्ये दुईजनाको अवस्था बिग्रिएपछि मंगलबार साँझ अस्पताल लागिएको थियो । यो भोक हडताल चारबुँदे माग — पूर्ण राज्यको दर्जा, छैटौँ अनुसूचीको विस्तार, लेह र कारगिलका निम्ति छुट्टै लोकसभा सिट र रोजगारीमा आरक्षणको समर्थनमा केन्द्रलाई वार्ता गर्न दबाब दिन थालिएको थियो ।

बुधबार बिहान लेह पूर्ण रूपमा बन्द भयो । सयौँ मानिस सडकमा उत्रिए । केही युवाले त्यहाँको बीजेपी मुख्यालय र हिल काउन्सिलको कार्यालयमा ढुंगा हानेपछि स्थिति बिग्रियो । प्रहरीले ठूलो संख्यामा तैनाथ सुरक्षा बलमार्फत अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिन खोज्यो ।

पछि बीजेपी कार्यालयमा तोडफोड गरियो । गाडीहरूमा आगजनी समेत गरियो । आगोको ज्वाला र कालो धुवाँ टाढैबाट देखिन्थ्यो ।

प्रदर्शनकारी हिंसामा संलग्न भएपछि नियन्त्रणमा लिन प्रहरी गोली चलाउन र अश्रुग्यास प्रहार गर्न बाध्य हुनुपरेको अधिकारीहरूको भनाइ छ ।

प्रशासनले बीएनएसएसको धारा १६३ अन्तर्गत पाँच वा सोभन्दा बढी मानिसको भेला प्रतिबन्ध गर्दै निषेधाज्ञा जारी गर्‍यो । भोक हडतालस्थलमा भड्काउने भाषण गरेको आरोपमा कांग्रेस नेता तथा पार्षद फुन्त्सोग स्टान्जिन सेपाङविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

विरोध किन ?
केन्द्र शासित प्रदेश लद्दाखमा पूर्ण राज्यको दर्जा र छैटौँ अनुसूचीको प्रावधान समेतको मागसहित प्रदर्शन तीव्र भएको हो । सन् २०१९ मा लद्दाखलाई जम्मु–कश्मीरबाट छुट्ट्याइएको थियो ।

वाङचुकका अनुसार, युवामा निराशा बढ्नुको कारण रोजगारीमा अवसर नपाउनु र लोकतान्त्रिक प्रक्रिया नचल्नु हो । उनले भने, “छैटौँ अनुसूचीको वाचा पनि पूरा भएको छैन ।”

भारतको संविधानको छैटौँ अनुसूची त्रिपुरा, मेघालय, मिजोरम र असमका आदिवासी समुदायका निम्ति हो । त्यसमा स्वायत्त परिषद्, राष्ट्रपति र राज्यपालका विशेष अधिकार, स्थानीय निकायको संरचना, वैकल्पिक न्यायिक संयन्त्र र वित्तीय अधिकारसम्बन्धी विशेष प्रावधान छ ।

यसैबीच, भारतको गृह मन्त्रालय र कारगिल डेमोक्रेटिक अलायन्स पनि समावेश भएको लद्दाखका प्रतिनिधिबीच अक्टोबर ६ मा वार्ताको नयाँ मिति तय गरिएको छ । यी दुई निकायले विगत चार वर्षदेखि संयुक्त रूपमा आन्दोलन सञ्चालन गर्दै आएका छन् । उनीहरूले यसअघि पनि सरकारसँग धेरै चरणका वार्ता गरिसकेका छन् । टाइम्स अफ इन्डियाबाट ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्