काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले नेतृ सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल नबनाएको स्पष्ट पारेका छन् ।
बुधबार अपराह्न पार्टी केन्द्रीय कार्यालय घण्टाघरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो स्पष्टीकरण दिएका हुन् ।
कार्यवाहक सभापति अर्यालले श्रेष्ठले दिएको राजीनामा आफूले स्वीकृत गरेको र पार्टी केन्द्रीय समिति बैठकले अनुमोदन गरेको उल्लेख गरे ।
"उहाँले स्पष्ट रुपमा पार्टी छोडेको धारणा राखिसक्नु भएको हुनाले कार्यवाहक सभापतिले हैसियतले मैले उहाँको राजीनामा त्यसैलाई आधार मानेर स्वीकृत गरेको छु । र, त्यसलाई केन्द्रीय समिति बैठकले अनुमोदन पनि गरिसकेको छ । उहाँलाई पार्टीमा स्वागत गर्न हाम्रो ढोका खुला छ । कार्यदल बनाएको छैन, उनले भने ।
कार्यवाहक सभापति अर्यालले पार्टीभित्र कुनै फरक मत नरहेको पनि दोहोर्याए ।