काठमाडौं । संयुक्त राष्ट्रसंघ महासभाअघि अमेरिकी सुरक्षा एजेन्सीहरूले ठूलो षड्यन्त्रको पर्दाफास गरेका छन् ।
अमेरिकी सिक्रेट सर्भिसले न्युयोर्क वरपर यस्तो उपकरणहरूको नेटवर्क फेला पारेको छ, जसले सम्पूर्ण मोबाइल नेटवर्कलाई ठप्प पार्न सक्थ्यो र गुप्त टेलिफोनिक हमला गर्न सक्थ्यो ।
एजेन्सीले ३०० भन्दा बढी सिम सर्भर र एक लाख सिम कार्ड जफत गरेको छ ।
सिक्रेट सर्भिसका अनुसार, यी उपकरणहरू केवल मोबाइल टावर निष्क्रिय पार्नका लागि नभई गुमनाम कल र खतरनाक साइबर आक्रमण गर्नका लागि पनि प्रयोग गर्न सकिन्थ्यो । यसले अपराधीहरूलाई गुप्त र एन्क्रिप्टेड सञ्चार गर्ने सुविधा दिन्थ्यो, जसले अमेरिकी सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको थियो ।
फरेन्सिक अनुसन्धान अझै जारी रहेको बताइएको छ । तर प्रारम्भिक रिपोर्टअनुसार यी उपकरणहरूबाट केही यस्ता सञ्चारहरू फेला परेका छन्, जसको सम्बन्ध विदेशी राष्ट्र र पहिलेबाटै सन्दिग्ध व्यक्तिहरूसँग रहेको छ । यसले यो नेटवर्कको पछाडि ठूलो षड्यन्त्र रहेको शंकालाई अझ प्रबल बनाएको छ ।
अमेरिकी सिक्रेट सर्भिसका निर्देशक सीन करनले यस्ता षड्यन्त्रहरूले अमेरिकी दूरसञ्चार पूर्वाधारलाई गम्भीर रूपमा असर पुर्याउनसक्ने बताए ।
उनका अनुसार एजेन्सीको प्राथमिकता यस्ता खतराहरूलाई समयमै अन्त्य गर्नु र कुनै पनि शत्रुलाई अमेरिकाको सुरक्षासँग सम्झौता गरिँदैन भन्ने स्पष्ट सन्देश दिनु हो ।
ब्लुमबर्गको रिपोर्टअनुसार, यो नेटवर्क ती घटनाहरूसँग सम्बन्धित छ कि छैन भन्ने प्रष्ट छैन । यसमा अज्ञात व्यक्तिहरूले अमेरिकी ह्वाइट हाउसका चीफ अफ स्टाफ सुसी वाइल्स र विदेशमन्त्री मार्को रुबियोको रूपमा भेष बदल्दै गुमनाम कल र सन्देश पठाएका थिए ।
गत जुनमा यस्तै एउटा केसमा रुबियोको नाममा सिग्नल अकाउन्ट बनाएर तीन विदेशी मन्त्री, एक अमेरिकी गभर्नर र एक कंग्रेस सदस्यसँग सम्पर्क गरिएको थियो । टाइम्स अफ इन्डिया