काठमाडौं । चीनको इन्टरनेट नियामक निकायले हिंसात्मक वा शत्रुतापूर्ण भावनालाई बढावा दिने अनलाइन सामग्रीलाई रोक्न दुई महिनासम्म चल्ने राष्ट्रव्यापी अभियान सुरु गरेको छ ।
यस अभियानको दायरामा अर्थतन्त्रमा आएको सुस्तीबारे गरिने निराशावादी टिप्पणीहरू समेत परेका छन् । यो पहल क्वाइसु नामक छोटो भिडियो एप, वेइबो नामक माइक्रोब्लगिङ साइट र इन्स्टाग्रामजस्तै शियाओहोंगशुलगायत प्रमुख प्लेटफर्महरूविरुद्ध हालै गरिएका अनुशासनात्मक कारबाहीपछि आएको हो ।
चीनको आर्थिक संघर्ष र युवामा बढ्दो बेरोजगारीका कारण यस वर्ष नकारात्मक सार्वजनिक भावनासम्बन्धी चिन्ताहरू थपिएका छन् ।
साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले सामाजिक सञ्जालमा ट्रेन्डिङ टपिक, सामग्री सिफारिस र कमेन्ट सेक्सनहरूको व्यापक निरीक्षण गर्ने घोषणा गरेको छ ।
विशेष गरी लक्षित गरिएका सामग्रीहरूमा फ्यान समूहबीच द्वन्द्व उक्साउने पोस्ट, डक्सिङका तरिका सिकाउने वा बेच्ने, बनावटी जानकारी, आर्थिक अफवाह, घटनाको गलत व्याख्या र सनसनीपूर्ण षड्यन्त्र सिद्धान्त (कन्सपिरेसी थ्यौरी)हरू समावेश छन् ।
नियामकले कडा परिश्रम बेकार छ र पढाइको अर्थ छैन भन्ने जस्ता दाबीमार्फत निराशावाद र नकारात्मकतालाई बढाइचढाइ गर्ने, नकारात्मक घटनाहरूलाई अतिरञ्जित गरी जीवनप्रतिको नकारात्मक दृष्टिकोण प्रस्तुत गर्ने पोस्टहरूमाथि पनि कारबाही गरिने जनाएको छ ।
चीनले अनलाइन सामग्रीमाथि कडा नियम लागु गर्दै आएको छ । पश्चिमी प्लेटफर्महरूले पनि प्रयोगकर्ताको व्यवहारलाई नियमन गर्ने गरेका भए पनि चीनको नियन्त्रण अझ व्यापक छ । यसको मुख्य कारण, अनलाइनमा हुने उत्तेजित छलफलले वास्तविक समाजलाई अस्थिर बनाउन सक्ने बलियो भावनाहरू उत्पन्न गर्न सक्छ भन्ने सरकारी चिन्ता हो ।
यो घोषणा बेइजिङ प्रहरीले चर्चित चिनियाँ टेलिभिजन नाटकहरूमा अभिनय गरेका ३७ वर्षीय लोकप्रिय अभिनेता यू मेङलोङको मृत्युबारे अफवाह फैलाएको आरोपमा तीन व्यक्तिविरुद्ध न्यायिक उपाय अपनाएको एक दिनपछि आएको हो ।
प्रहरीका अनुसार, यू रक्सी पिएपछि लडेर मृत्यु भएका थिए । तर, ती व्यक्तिहरूले ध्यान आकर्षित गर्न बनावटी जानकारी र नक्कली भिडियोहरू सार्वजनिक गरेर सामाजिक व्यवस्थालाई गम्भीर रूपमा भंग गरेको प्रहरीले जनाएको छ । इन्डिपेन्डेन्ट