site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जेनजी आन्दोलनको दोष 'विदेशी शक्ति'लाई थोपरेर उम्कन खोज्दै ओली, दुई सातासम्म बैठक न समीक्षा
फाइल तस्बिर

काठमाडौं । जेन–जी आन्दोलन र सत्ताबाट बाहिरिएको दुई साता पुग्नै लाग्दा पनि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तत्काल पार्टीको बैठक राख्ने पक्षमा छैनन् ।  जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका ओलीले हालसम्म पार्टीको बैठक आह्वान गरेका छैनन् । 

आन्दोलनपछिको बदलिएको परिस्थितिबारे समीक्षा गर्न सचिवालय बैठक बोलाउन नेताहरूले दबाब दिइरहेका छन् । तर, ओली बैठक डाक्न छाडेर पार्टीका पदाधिकारीसँग एक्लाएक्लै संवादमा जुटेका छन् । 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आइतबार ओली भेट्न पुगेका थिए । उनले ओलीलाई आन्दोलनको समीक्षा र भावी योजनाका लागि बैठक बोलाउन आग्रह गरेका थिए ।

“पछिल्लो अवस्थाका विषयमा छलफल भयो । अध्यक्षले बैठक बोलाउने हो । बैठक बोलाउनुपर्ने आवश्यकता छ भन्ने कुरा मैले राखेको छु,” पोखरेलले आइतबार बाह्रखरीसँग भने । 

असोज २ गते सेनाको सुरक्षाबाट बाहिरिएका ओली भक्तपुरको गुन्डु बस्न थालेका छन् । उनले त्यहाँ पार्टीका पदाधिकारीलाई बोलाएर एक्ला–एक्लै संवाद गरेका हुन् । 

उता पार्टी सचिव पद्मा अर्याल भन्छिन्, “अध्यक्षज्यू संवादमै हुनुहोला । बैठक बस्नुपर्छ, समीक्षा गर्नुपर्छ भन्नुभएको छ ।”

अर्का सचिव लेखराज भट्टका अनुसार, ओलीले दसैँपछि मात्रै बैठक बस्ने कुरा भएको छ । सोमबार गुन्डु पुगेका भट्ट भन्छन्, “सन्चो बिसन्चोका कुरा भए । दसैँपछि बस्ने कुरा गर्नुभएको छ । भीडभाड पनि थियो, लामो कुराकानी भएन ।”

आन्दोलन लगत्तै ओलीले आफू सेनाको सुरक्षाबाट बाहिरएपछि मात्रै बैठक राख्ने नेताहरूलाई बताएका थिए । त्यसपछि एमालेको तर्फबाट महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरेका थिए । 

एक नेताका अनुसार, विज्ञप्ति सार्वजनिक गर्नुअघि सचिवालय सदस्यहरूलाई इमेल भने गरिएको थियो ।

ओली सेनाको सुुरक्षाबाट असोज २ गते बाहिरिए, तर असोज ३ गतेको पार्टी कार्यालयमा भएको कार्यक्रममा सहभागी भएनन् । असोज ३ गते संविधान दिवसका अवसरमा भने कार्यक्रमको आयोजना गरिएको थियो । क्षतिग्रस्त पार्टी कार्यालय च्यासल प्रांगणमा ओली नआएपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा कार्यक्रम गरियो । प्रमुख वक्ता ईश्वर पोखरेल थिए । 

आन्दोलनको दुई सातासम्म पनि पार्टीको बैठक नबोलाएकामा नेताहरूले असन्तोष प्रकट गरिरहेका छन् । 

पार्टी उपाध्यक्ष शाक्य पार्टी बैठक बोलाउन माग राख्दै आएको बताउँछिन् । एक्ला–एक्लै भेट गर्नुभन्दा पनि अध्यक्षले पार्टीको बैठक राख्ने कुरामा नै ध्यान दिनुपर्ने भनाइ उनको छ । 

“बैठक नै नगर्दा अन्यौल हुन्छ । छिटो गरौं, यो अन्यौलताको अन्त्य गर्नुपर्छ । व्यक्ति–व्यक्ति बोलेर हुँदैन । व्यक्ति–व्यक्तिको निर्देशनले हुँदैन । संस्थागत धारणा बनाऔं । विश्लेषण गरौं भनिरहेको छु ” शाक्य भन्छिन् ।

जेनजी आन्दोलन विदेशीले गराएको आरोप लगाएर पन्छदै ओली

सुरक्षा चुनौती देखाएर असोज ३ गते सार्वजनिक नभएका ओलीले सामाजिक सञ्जालमार्फत आन्दोलनबारे टिप्पणी गरेका थिए । उनले जेनजी आन्दोलनका क्रममा प्रहरीसँग नभएको स्वचालित हतियारबाट गोली चलाइएको दाबी गरेका थिए । 

“...जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो, आह्वानकर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन,” ओलीको दाबी थियो, “प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ ।”

त्यसो त, ओली जेनजी आन्दोलन नेपालबाट नभएको र विदेशी शक्तिले गराएको आरोप लगाउन थालेका छन् ।

एमालेका उपाध्यक्ष गुरु बरालका अनुसार, ओलीले जेनजी आन्दोलन विदेशीहरूले योजनाबद्ध रूपमा गरेको हमलाको श्रृङ्खलाको रूपमा लिएका छन् । 

“नेपाली माटोमा नेपाली मनले गरेका काम होइनन् । त्यसमा विदेशीहरूको योजनाबद्ध रूपमा देशको अस्मिता, भू–अखण्डता, स्वाभिमानमाथिको हमला हो । र, यो हमलाको एउटा श्रृङ्खला हो भन्ने उहाँ (अध्यक्ष)को बुझाई छ,” बरालले बाह्रखरीसँग भने ।

पोलिट्ब्युरो सदस्य महेश बस्नेतका अनुसार, ओलीले नेताहरूलाई विदेशी षड्यन्त्र भएको बताएका छन् । 

“बालकोटको घरमा आगजनी भएपछि भाडाको घरमै पालैपालो नेताहरूलाई बोलाएर राय बुझ्दै पार्टी एकता र रणनीतिमा काम गरि रहनुभएको छ,” बस्नेतले सोमबार फेसबुकमा लेखेका छन्, “उहाँले चार दिनमै अधिकांश पदाधिकारीसँग भेट गरिसक्नु भएको छ र भन्नुभएको छ, यो विदेशी षड्यन्त्र हो, हरेस नखानू ।”

विदेशी शक्तिलाई देखाएर ओली आफ्नो कमीकमजोरी पनि स्वीकार्नबाट पन्छिन थालेका छन् । जनेजी आन्दोलनको समीक्षा नगरेकोमा पार्टीभित्र असन्तुष्टि चुलिँदो छ । 

पोलिट्ब्युरो सदस्य गोकुल बास्कोटाले सबै ठीकठाक भए कसरी यस्तो भयो ? भन्दै सोधेका छन् । 

उनले मंगलबार सामाजिकमार्फत भनेका छन्, “सबै ठीकठाक थियो भन्ने ठान्नु एउटा भ्रम थिएन भने कसरी यस्तो भयो त ? के त्यो भूकम्प, सुनामी वा टाईफुन जस्तै अचानकको विपत्ति मात्र थियो ? राज्य संयन्त्र बेखबर थियो, बेपर्वाह थियो ।”

उनले त्यसको खोजी र समीक्षाको आवश्यकता औंल्याएका छन् । “कारणको खोजी, भविष्यको दिशा निर्देश गर्न समीक्षा र सुधारबारे कुरा गर्न मिल्दैन भने वेक अप कल  नै डिलिट हान,” बास्कोटाले लेखेका छन् । 

पार्टी सचिवालयमै अल्पमतमा पर्न सक्ने सम्भावना देखिएपछि ओलीले पार्टीको बैठक राख्न आनाकानी गरिरहेको नेताहरूको बुझाई छ । त्यसैले सचिवालय सदस्यहरूको अवस्थाबारे ओलीले बुझ्ने प्रयास थालेका छन् ।
बैठक बस्ने समय लम्बाएर ओलीले अवस्थाको केही मत्थर बनाउने कोसिस गरिरहेको बुझाई नेताहरूको छ । 

उपाध्यक्ष शाक्य भन्छिन्, “अब अल्पमत र बहुमतको कुरा होइन । डराएर बस्ने बेला होइन । अब के कसरी जाने, कहाँ गल्ती कमजोरी भएको हो समीक्षा गर्ने बेला हो ।”

पार्टी कार्यालय के गर्ने ? 

आगजनी र तोडफोडले खण्डहर बनेको पार्टी कार्यालयबारे के गर्ने भन्ने विषयमा एमाले निक्र्यौलमा पुगिसकेको छैन ।  सचिव अर्यालयका अनुसार बुधबार केन्द्रीय कार्यालयको बैठक बस्दैछ । “भोलि केन्द्रीय कार्यालयको बैठक बस्ने कुरा भएको छ । त्यसबारे छलफल होला,” अर्याल भन्छिन् । 

उपाध्यक्ष बरालका अनुसार, पार्टी कार्यालयको अवस्थाबारे प्राविधिक रिपोर्ट आउने क्रममा छ । “इन्जिनियरिङको प्राविधिक रिपोर्ट भोलिसम्म पेश गर्नुहुन्छ होला । त्यसपछि मात्रै पुननिर्माणका काम सुरु गर्ने तयारी हुँदैछ,” उनी भन्छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्