site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
क्षतिग्रस्त भवनबाटै सेवा दिन वडाध्यक्षहरूलाई मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका आगजनीग्रस्त वडा कार्यालयबाटै सेवा थाल्न वडाध्यक्षहरूलाई आग्रह गरेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नगरपालिकाका वडा कार्यालयहरूमा आगजनी तथा तोडफोड भएको थियो । त्यसपछि वडा कार्यालयहरूले जिल्ला समन्वय समिति सुर्खेतको हलबाट अस्थायी सेवा दिइरहेका छन् ।

मंगलबार स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री कँडेलले क्षतिग्रस्त वडा कार्यालयबाटै सेवा दिन आग्रह गरेका हुन् ।

"अवस्था सामान्य हुँदै गएको छ । जति बचेको छ, त्यही भवनमा एक थान कम्प्युटर राखेर भए पनि सेवा दिनुपर्छ," उनले भने ।

उनले सबै वडा कार्यालय एउटै ठाउँमा राख्दा सेवाग्राहीलाई थप झन्झट हुने भएकाले सकेसम्म छिटो वडामै फर्केर सेवा दिन सुझाव दिए ।

SKT-1758623991.jpeg
 

उनले आन्दोलनपछिको असहज परिस्थितिमा पनि जनताको सेवा प्रवाहलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

“भौतिक संरचना नोक्सान भए पनि जनताको सेवा रोक्न मिल्दैन । वडास्तरमै सेवा दिन थाले जनताले राहतको महसुस गर्नेछन्,” उनले भने ।

नगरपालिकाको भवन, नक्सा शाखा, पूर्वाधार शाखालगायतका महत्त्वपूर्ण इकाइमा समेत क्षति पुगेको छ । हाल वडा नम्बर १ देखि १२ सम्मका कार्यालयले अस्थायीरूपमा जिल्ला समन्वय समितिको हलबाट सेवा दिइरहेका छन् । असोज ५ गतेदेखि एकीकृत सेवा केन्द्रमार्फत नागरिक सेवा प्रवाह जारी छ ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्