काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कम्युनिस्ट केन्द्र बनाउन मंगलबार (असोज ७) वार्ता टोली गठन गरेको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरिएको केन्द्रीय सदस्य नारायण सीले जानकारी दिए ।
“भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् राजनीतिक स्थिति नै परिवर्तन भएको छ,” उनले बाह्रखरीसित भने, “अहिलेको अवस्थालाई मध्यनजर गर्दै राजनीतिक दलभित्र पनि नयाँ ऊर्जासहितका नेता आउने वातावरण निर्माणका लागि वार्ता टोली गठन गरिएको हो ।”
नेकपाको आयोजनामा नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्ने तयारी भएको उनले बताए । टोलीले कम्युनिस्ट धारका सबै पार्टीसँग वार्ता र आवश्यक रणनीति तयार गर्ने उनले जानकारी दिए ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत दलसँग टोलीले वार्ता अघि बढाउनेछ ।
‘जेनजी’ आन्दोलनका क्रममा उठाइएका विषयमा नेकपाले यसअघि नै जोड दिँदै आएको उनले जिकिर गरे ।
केन्द्रीय सदस्य नारायण सीले जेनजीको आन्दोलनमा नेकपा पनि सामेल भएको र भ्रष्टाचार, बेथिति, विकृति, विसंगतिलगायत विषयमा यसअघिदेखि नै आवाज बुलन्द गर्दै आएको बताए ।
कम्युनिस्ट केन्द्र निर्माण गरिए पनि हालका शीर्ष नेतालाई सम्मानजनक स्थान दिएर ऊर्जासहितका नयाँ युवालाई अघि सार्ने नेकपाको रणनीति छ ।