site stats
बाह्रखरी :: Baahrakhari
विदेश
उत्कृष्ट प्रतिभालाई निःशुल्क भिसाबारे विचार गर्दै बेलायत

काठमाडौं । बेलायतले विश्वका उत्कृष्ट वैज्ञानिक, शिक्षाविद् र डिजिटलविज्ञलाई भिसा शुल्क हटाउने योजनामाथि विचार गरिरहेको फाइनान्सियल टाइम्सले जनाएको छ । आर्थिक वृद्धि बढाउने र बेलायतलाई विश्वव्यापी प्रतिभाका निम्ति आकर्षणको केन्द्र बनाउने उद्देश्यले यो कदम चाल्न लागिएको हो ।

अमेरिकाले एच–१बी भिसाको शुल्क बढाएर एक लाख डलर पुर्‍याएका बेला बेलायतले यो नीति ल्याउन लागेको छ । बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मरले ‘विश्वव्यापी प्रतिभा कार्यदल’ गठन गरी सुधारका उपाय खोज्न लगाएका छन् ।

प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिट र ट्रेजरीका अधिकारीले प्रतिभाशाली व्यक्तिहरूलाई देशमा बस्न सजिलो र सस्तो बनाउने विकल्पबारे छलफल गरिरहेका छन् । त्यसमध्येको एउटा प्रस्ताव उनीहरूका निम्ति भिसा शुल्क पूर्ण रूपमा हटाउने हो ।

एक अधिकारीलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले लेखेको छ, “हामी विश्वका शीर्ष पाँच विश्वविद्यालयमा अध्ययन गरेका वा प्रतिष्ठित पुरस्कार जितेका व्यक्तिहरूबारे कुरा गरिरहेका छौँ । हामी शुल्कलाई शून्यमा झार्ने विचार गरिरहेका छौँ ।”

कार्यदलको अध्यक्षता प्रधानमन्त्रीका व्यापार सल्लाहकार वरुण चन्द्र र विज्ञानमन्त्री लर्ड प्याट्रिक भ्यालेन्सले गरेका छन् । गृह मन्त्रालय उक्त वार्तामा औपचारिक रूपमा संलग्न छैन । तर, अधिकारीहरूले सबै आप्रवासन मार्गको समीक्षा भइरहेको बताएका छन् ।

बेलायतको गृह मन्त्रालयका एक प्रवक्ताले भने, “हाम्रा विश्वव्यापी प्रतिभा मार्गहरूले उच्च–दक्ष व्यक्तिहरूलाई, विशेष गरी विज्ञान, अनुसन्धान र प्रविधिमा, आकर्षित गर्छन् र राख्छन्, जसले बेलायतलाई उदीयमान प्रतिभा र आविष्कारका निम्ति अग्रणी अन्तर्राष्ट्रिय केन्द्रका रूपमा कायम राख्छ ।”

विश्वव्यापी प्रतिभा भिसा सन् २०२० मा सुरु गरिएको थियो । यसको शुल्क प्रतिआवेदक ७६६ पाउन्ड स्टर्लिङ छ । साझेदार र बालबालिकालाई पनि त्यही शुल्क लाग्छ । साथै, प्रतिव्यक्ति वार्षिक स्वास्थ्य अधिभार एक हजार ३५ पाउन्ड स्टर्लिङ लाग्छ ।

यो भिसा विज्ञान, इन्जिनियरिङ, चिकित्सा, मानविकी, डिजिटल प्रविधि वा कला र संस्कृतिमा नेता वा भविष्यका नेताका रूपमा मान्यता प्राप्त व्यक्तिहरूका निम्ति हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एच–१बी भिसाको शुल्कमा भारी वृद्धि गरी यसलाई एक लाख डलर पुर्‍याउने घोषणा गरेपछि प्रविधि उद्योगमा हलचल मच्चिएको छ ।

एच–१बी कार्यक्रम लामो समयदेखि दक्ष विदेशी कामदार, विशेष गरी भारतीयका निम्ति अमेरिकाको प्रविधि, अनुसन्धान र स्वास्थ्य सेवा क्षेत्रमा रोजगारी पाउनका लागि मुख्य मार्ग रहँदै आएको छ । एच–१बीवाहकमध्ये ७० प्रतिशतभन्दा बढी भारतीय छन् । उनीहरूमध्ये धेरैजना सिलिकन भ्यालीका कम्पनी, अस्पताल र विश्वविद्यालयहरूमा कार्यरत छन् ।

आप्रवासन नीति विश्लेषक गिल गुएराले यो परिवर्तनले अमेरिकामा मध्यम तथा दीर्घकालीन श्रम अभाव निम्त्याउने सम्भावना बढी रहेको बताए । क्याटो इन्स्टिट्युटका डेभिड बियरले यसले अमेरिकी आविष्कार र प्रतिस्पर्धात्मकतालाई ‘विनाशकारी धक्का’ पुर्‍याउने चेतावनी दिए ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्