site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा उपाध्यक्षसहित फागुनबाट बिदा हुँदैछन् यी १९ सांसद

काठमाडौं । राष्ट्रियसभाका १९ सांसद आउँदो फागुनमा बिदा हुँदैछन् । २०७६ माघ ९ गते चुनिएका सांसदहरूको ६ वर्षे कार्यकाल फागुनमा सकिन लागेको हो । 

उनीहरूको कार्यावधि ०७६ फागुनबाट सुरु भएको थियो । पद रिक्त हुन ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार निर्वाचन हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउँछन् ।

“कानुनी व्यवस्थाअनुसार नै निर्वाचन हुन्छ । निर्वाचनको मितिबारे छलफल भने भइसकेको छैन,” उनले बाह्रखरीसँग भने । कानुनतः माघ पहिलो सातामै निर्वाचन हुनुपर्छ ।

को–को बिदा हुँदैछन् ?

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेसहितका सांसदको पदावधि सकिँदै छ । घिमिरे एमालेबाट निर्वाचित सांसद हुन् । उनी ०८० चैत २८ गते उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । उनीसहित एमालेका ८ सांसद बिदा हुनेछन् । जसमा घिमिरे, गोपाल भट्टराई, इन्दिरादेवी गौतम, तुलसाकुमारी दहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, शारदादेवी भट्ट, सुमित्रा बिसी छन् । 

नेकपा (माओवादी केन्द्र)का ७ सांसदको पदावधि सकिँदै छ । सांसदहरू नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान बिदा हुनेछन् ।

नेकपा (एकीकृत समाजवादी)का सांसद बेदुराम भुसाल पनि बिदा हुनेछन् । राष्ट्रपतिबाट मनोनीत भएका वामेदव गौतमको पदावधि पनि सकिँदैछ । गौतम हाल एकीकृत समाजवादीका वरिष्ठ नेता हुन् ।  लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव पनि बिदा हुनेछन् ।

२०७६ मा तत्कालीन नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा)बीच चुनावी तालमेल भएको थियो । उक्त तालमेलले कांग्रेस शून्य भएको थियो । त्यसैले कांग्रेसका कुनै सांसद बिदा हुने छैनन् । 

राष्ट्रियसभामा कुन दलका कति ? 

५९ सदस्यीय राष्ट्रियसभामा सबैभन्दा ठूलो दल माओवादी केन्द्र छ । हाल उसका १७ सांसद छन् । कांग्रेसका १६ र एमालेका ११ (एक मनोनीतसहित) छन् । एकीकृत समाजवादीसँग आठ, जसपा नेपालसँग तीन र राष्ट्रिय जनमोर्चासँग एक सिट छ । लोसपाको एक सिट छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल राष्ट्रपतिबाट मनोनीत हुन् । उनी माओवादीको कोटाबाट मनोनीत भएका थिए ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनसँगै भएको उथपुथलले सरकार परिवर्तन भएको छ । अब दलहरू एक्लै लड्छन् वा गठबन्धन बनाउँछन् भन्ने टुंगो भइसकेको छैन । राष्ट्रियसभामा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्