site stats
बाह्रखरी :: Baahrakhari
विदेश
प्यालिस्टिनलाई मान्यता दिने देशसँग नेतन्याहू आक्रोशित

काठमाडौं । बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालिस्टिनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आक्रोशित बनेका छन् । नेतन्याहूले प्यालिस्टिनलाई मान्यता दिनु आतंकवादका लागि ठूलो इनाम दिनुजस्तै भएको बताएका छन् ।
 
उनले भने, “मसँग तपाईंहरूका लागि अर्को के सन्देश छ भने प्यालिस्टिन राज्यको स्थापना कहिल्यै हुनेछैन ।” नेतन्याहूले आफू अमेरिकाबाट फर्किएपछि इजरायलको प्रतिक्रिया घोषणा गर्ने बताएका छन् ।

नेतन्याहू संयुक्त राष्ट्रसंघको महासभा बैठकमा भाग लिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न अमेरिका पुगेका छन् ।
इजरायली प्रधानमन्त्री नेतन्याहूका प्रवक्ता शोश बद्रोसियनले पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले युरोपको राजनीतिक आवश्यकताका कारण आफ्नो देशले प्यालिस्टिन लाई राष्ट्रको रूपमा स्वीकार गरी आत्महत्या नगर्ने स्पष्ट पारेको बताए । उनले प्यालिस्टिन कहिल्यै देश बन्न नसक्ने पनि बताए ।

बेलायत, क्यानडा र अस्ट्रेलियाले दिए मान्यता
बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालिस्टिनलाई राष्ट्रको मान्यता दिने घोषणा गरेका थिए । बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले यो निर्णयको उद्देश्य प्यालिस्टिन र इजरायली दुवैका लागि शान्तिको आशा जीवित राख्नु रहेको बताएका छन् ।

स्टार्मरले यो निर्णय प्रतीकात्मक भए पनि एक ऐतिहासिक क्षण भएको बताए । उनले दुवै समुदायबीच स्थायी समाधानका लागि ठोस कदम चाल्ने समय आएको बताए । 

स्टार्मरले यो मान्यता हमासलाई नभई प्यालिस्टिन जनतालाई दिइएको बताए । उनले हमासको भविष्यमा शासनमा कुनै स्थान नहुने र उनीहरूले ७ अक्टोबर २०२३ को हमलामा पक्राउ परेका इजरायली बन्धकहरूलाई तुरुन्तै रिहा गर्नुपर्ने पनि स्पष्ट पारे ।

यसैगरी क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल एक्समा आफ्नो सरकारले प्यालिस्टिनलाई मान्यता दिएको घोषणा गरेका छन् । उनले यसअघि नै जुलाईमा यस्तो कदम चाल्ने संकेत दिएका थिए । कार्नीले यो मान्यताले दुई–राज्य समाधानको दिशामा शान्ति पुनस्र्थापित गर्न मार्ग प्रशस्त गर्नसक्ने बताए ।

अस्ट्रेलियाले औपचारिक रूपमा प्यालिस्टिन राज्यलाई मान्यता दिएको छ । यो निर्णय गाजा युद्ध र बढ्दो अन्तर्राष्ट्रिय दबाबको बीचमा आएको हो । संयुक्त राष्ट्रसंघको महासभाअघि अस्ट्रेलियाको यो घोषणा पश्चिम एसियाको राजनीतिमा ठूलो परिवर्तन मानिएको छ ।

अमेरिका र इजरायलको असन्तुष्टि
यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायत भ्रमणको केही दिनपछि भएको हो । ट्रम्पले यो कदमको विरोध गर्दै यसले आतंकवादलाई बढावा दिने र गलत सन्देश दिने बताए । रोयटर्स

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  ०६:३८
प्रतिक्रिया दिनुहोस्