काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा लुटपाट, तोडफोड र आगजनी हुँदा १० करोड रुपैयाँबराबरको क्षति भएको विवरण सार्वजनिक गरेको छ ।
पार्टी कार्यालयको माथिल्लो बैठक कक्षका अधिकांश कुर्सी चोरी भएको बताइएको छ । केन्द्रीय समितिको बैठक हलका कुर्सीहरू भने डढेर मेटल फ्रेम बाँकी छन् ।
पहिले केन्द्रीय समिति बैठक र पछिल्लोसमय कार्यसम्पादन समितिका बैठक बस्ने गरेको तेस्रो तल्लामा भने तोडफोड भए पनि आगोले ध्वस्त पारेको छैन । त्यहाँ रहेका टेबल सेट केही तोडफोड भए पनि कुर्सीहरूको कुनै प्रमाण नभेटिएको कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसले पार्टी कार्यालयमा भएको क्षति एकीन गर्न र पुनर्निर्माणका लागि लाग्ने खर्चको ‘इस्टिमेट’ तयार पार्न पुलचोक क्याम्पसका प्राध्यापकको नेतृत्वमा समिति नै बनाएको छ । उक्त समितिमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको जग हाल्दादेखि काम गरेका इन्जिनियरहरू समेटिएको नेपाली कांगे्रसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।