काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीभित्र कुनै किसिमको विग्रह नहुने जिकिर गरेका छन् । संविधान दिवसका अवसरमा शुक्रबार (असोज ३) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
एमालेभित्र अब के हुन्छ भनेर शंका गर्नेप्रति उनले पार्टीमा कुनै किसिमको विग्रह हुन नदिने बताए । उनले कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
एमाले कसैले किस्तीमा राखेर दिएको पार्टी नभएको उनले उल्लेख गरे । धुलो टकटक्याएर पुनः उठ्ने उनले बताए । एमाले शान्त तलाउमा डुंगा चलाएर आएको, भुलुक्क उम्लिएको पार्टी नभएको उनको भनाइ थियो ।
समीक्षा गरेर अघि बढ्ने उनले बताए । पार्टीलाई नयाँ ढंगले निर्माण गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा ईश्वर पोखरेलको भनाइ पढ्नोस्–
म साथीहरूलाई, संविधान दिवसको अवसरमा उपस्थित हुनुभएका मित्रहरूलाई के आग्रह गर्न चाहन्छु भने नेकपा (एमाले)ले अहिले केही नोक्सानी सहनुपरेको छ । हामी धुलो टकटक्याउँदै उठ्छौँ, उठिछोड्छौँ । पार्टीलाई नयाँ ढंगले निर्माण गरिछोड्छौँ । देशव्यापी रूपमा संविधान दिवस मनाइरहँदा नेकपा (एमाले)भित्र कहीँ कतै केही होला भन्ने शंका होला । एमालेभित्र कुनै पनि किसिमको विग्रह हुनेवाला छैन । हामी विग्रह हुन दिनेवाला छैनौँ । कमजोरीहरू सच्चिन्छन्, कमजोरी सच्याउँछौँ, तर विग्रह हुन दिँदैनौँ । यसको लागि हामी समीक्षा गर्दछौँ । बितेका दिनमा हाम्रो यात्रा कस्तो रह्यो त्यसलाई फर्किएर हेर्छौं, सच्याउने अठोट र संकल्प गर्दछौँ । एमाले शान्त तलाउमा डुंगा चलाएर आएको पार्टी होइन, यो भुलुक्क उम्लिएको पार्टी होइन । यो कसैले किस्तीमा हालेर दिएको उपहार होइन । यो असंख्य हाम्रा अग्रज, सहिदहरूले लडाइँ गरेर प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो । यो पार्टीलाई हामी फेरि नयाँ ढंगले अघि बढाउँछौँ । न्युज एजेन्सी नेपाल