काठमाडौं । चलचित्र ‘जारी–२’को प्रदर्शन मिति फेरि सरेको छ । कात्तिक ६ गते रिलिज हुने भनिएको केही दिनमै निर्माणपक्षले यो चलचित्रको प्रदर्शन मिति हेरफेर गरेको हो । यो चलचित्र अब कात्तिक २१ गते रिलिज हुनेछ ।
मंगलबार निर्माणपक्षले असोज ३ गतेबाट कात्तिक ६ गते भाइटीकाका दिन प्रदर्शन गर्ने जानकारी गराएको थियो । तर बुधबार पुनः प्रदर्शन मिति सरेको हो ।
निर्माता रामबाबु गुरुङले सबै पक्षसँगको छलफलपछि रिलिज डेट परिवर्तन गरिएको बताए । “ओभरसिजमा र नेपालमा सँगै रिलिज गर्ने सोचका कारण धेरै अगाडि/पछाडि गर्न सक्ने अवस्थामा हामी थिएनौँ,” बाह्रखरीसँग रामबाबुले भने, “प्रदर्शक, वितरक तथा अन्य निर्माता साथीहरूको आग्रहअनुसार हामी कात्तिक २१ मा आउने निर्णयमा पुग्यौँ ।”
कात्तिक ६ गते अन्य दुईवटा चलचित्र रहेको र त्यसको एक दिनपछि पनि नयाँ सिनेमा रिलिज हुने भएकाले निर्माता, वितरक र प्रदर्शकले अरु मितिमा आउन आग्रह गरेको उनले बताए । “अब सोलो रिलिज गर्न कठिन छ, धेरै चलचित्र बनेकाले कसै न कसैसँग सँगै आउनु पर्ने अवस्था छ,” रामबाबुले भने ।
‘जारी–२’लाई उपेन्द्र सुब्बाले निर्देशन गरेका छन् । यसको लेखक पनि उनी स्वयं हुन् ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माताहरू रामबाबु गुरुङ र मधु मिजार र जीवन गुरुङ हुन् ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।