काठमाडौं । युक्रेनको दक्षिणी सहर जापोरिज्जियामा सोमबार राति रुसले रकेट प्रहार गरी भीषण हमला गरेको छ । हमलामा दुई बालबालिकासहित १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार, हमलाबाट २० भन्दा बढी अपार्टमेन्टमा क्षति पुगेको छ । धेरै ठाउँमा आगो लागेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली राष्ट्रहरूसँग मिलेर महाद्वीपको सुरक्षाका लागि बहुस्तरीय हवाई रक्षा प्रणाली बनाउन अपिल गरेका बेला यो हमला भएको हो ।
रुसको लगातारको हवाई हमला र युक्रेनको सीमामा करिब एक हजार किलोमिटर लामो मोर्चामा भइरहेको भीषण युद्धका बावजुद शान्तिको कुनै समाधान हालसम्म देखिएको छैन । युद्ध रोक्न अमेरिकाले धेरै चरणमा मध्यस्थता र वार्ताको प्रयास गरे पनि ठोस नतिजा निस्केको छैन ।
जेलेन्स्कीले टेलिग्राममा जानकारी दिँदै भने, “पछिल्लो दुई हप्तामा रुसले युक्रेनमा ३५ हजारभन्दा बढी ड्रोन, २५ सय भन्दा बढी शक्तिशाली ग्लाइड बम र करिब २०० मिसाइल प्रहार गरेको छ ।” यी हमलाहरू युक्रेनको रक्षा प्रणालीका लागि ठूलो चुनौती बनेका छन् ।
धेरै उचाइबाट छोडिने रुसका ग्लाइड बमहरू अत्यन्त विनाशकारी साबित भइरहेका छन् । यिनले ठूला खाडलहरू बनाउँछन् र युक्रेनसँग यिनको विरुद्धमा कुनै प्रभावकारी सुरक्षा उपाय छैन ।
हालै रुसी ड्रोनहरू पोल्यान्डको भूमिमा पनि खसेपछि नाटोले आफ्नो युरोपेली हवाई रक्षा प्रणालीलाई अझ मजबुत बनाउन कदम चालेको छ । यसबाट यो युद्ध युक्रेनमा मात्र सीमित नरही सम्पूर्ण युरोपेली सुरक्षाका लागि पनि ठूलो खतरा बन्दै गएको स्पष्ट हुन्छ ।
जेलेन्स्कीले भने, “अब हामीले युरोपको आकाशको संयुक्त सुरक्षा सुनिश्चित गर्ने बेला आएको छ । हामीसँग यसका लागि सबै प्रविधिहरू उपलब्ध छन् । हामीलाई केवल लगानी, इच्छाशक्ति र बलियो निर्णय चाहिएको छ ।”
युक्रेनले आधुनिक हवाई रक्षा प्रणाली पाएन भने आउने समयमा सम्पूर्ण महाद्वीपले असुरक्षाको सामना गर्नुपर्ने सन्देश युक्रेनले दिएको छ । रूसबाट लगातार भइरहेका ड्रोन र मिसाइल हमलाहरूले नेटोका देशहरूलाई पनि सतर्क बनाइरहेका छन् । जेलेन्स्कीले रुसको आक्रामक नीतिमा लगाम लगाउन यस समयमा बलियो निर्णय आवश्यक भएको बताएका छन् । एपी