site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नेटो शैलीको अरब सेनाको प्रस्तावमा विचार गर्दै अरब देश

काठमाडौं । इजरायलको आक्रमणपछि इजिप्टले कुनै पनि हमलाको द्रुत प्रतिरक्षाका निम्ति नेटो शैलीको अरब सैन्य बललाई पुनर्जीवित गर्न दबाब दिइरहेको खुलेको छ । यो प्रस्तावले अरब शिखर सम्मेलनअघि समर्थन प्राप्त गरिरहेको द जेरुसेलम पोस्टले जनाएको छ ।

शनिबार प्रकाशित धेरै अरबी भाषाका समाचार रिपोर्टमा इजिप्टले नेटोको मोडेलमा आधारित संयुक्त अरब सैन्य बललाई पुनर्जीवित गर्न खोजिरहेको उल्लेख छ । यी रिपोर्टले यो कदमलाई इजरायल–हमास युद्ध र सोमबार दोहामा हुने भनिएको अरब–इस्लामिक शिखर सम्मेलनसँग जोडेको जनाइएको छ ।

इजिप्टको कायरोमा एक सरकारी स्रोतलाई उद्धृत गर्दै लेबनानको हिजबुल्लाह समर्थक अल–अखबार यसका बारेमा समाचार लेखेको जनाइएको छ । लन्डनस्थित अल–कुड्स अल–अरबीले गरेको रिपोर्टअनुसार, राष्ट्रपति अब्देल फत्ताह अल–सिसीले कुनै पनि अरब राष्ट्रमाथि आक्रमण भएमा त्यसको रक्षा गर्न तैनाथ गर्न सकिने द्रुत प्रतिक्रिया बलका निम्ति अरब समर्थन जुटाउन काम गरिरहेका र शिखर सम्मेलनअघिका हालैका कूटनीतिक सम्पर्कमा यो प्रस्ताव अघि सारेका जनाइएको छ ।

यो पत्रिकाले उक्त योजनालाई इजरायलसँगको तनाव बढाउनेभन्दा पनि एक रक्षात्मक छाताका रूपमा प्रस्तुत गरेको छ ।

प्यालेस्टाइनी पत्रिका माअन ले पनि यस्तै विवरण प्रस्तुत गरेको र यसअन्तर्गत कायरोले करिब २० हजार इजिप्टियन सैनिक योगदान गर्नेबारे छलफल गरिरहेको जनाएको छ । यो योजना अघि बढेमा साउदी अरबलाई मुख्य साझेदार बनाएर एक इजिप्टियन फोर–स्टार अधिकारीलाई कमान्डमा राख्न खोजिएको छ । तर, माअन ले यसमा छलफल जारी रहेको जनाएको छ ।

यस्तो निकायले कसरी काम गर्नेछ भन्नेमा छलफलकेन्द्रित छ । यसमा इजिप्टले अरब देशको जनसांख्यिकी र सैन्य क्षमताअनुसार नै हुनुपर्छ भनेर जोड दिएको छ ।

करिब एक दशकअघि पहिलोपटक अघि सारिएको यो विचार त्यस बेला अगाडि बढ्न सकेको थिएन । तर, कतारमा हमासका नेतामाथि इजरायलले हालै गरेको आक्रमणले यो प्रस्तावलाई फेरि अगाडि ल्याएको रिपोर्टमा उल्लेख छ । इजिप्टियन अधिकारीले अब यो पहललाई अगाडि बढाउन अन्य अरब राष्ट्रबाट समर्थन खोजिरहेका बताइएको छ ।

अल–अखबारद्वारा उद्धृत स्रोतले क्षेत्रीय र राजनीतिक विचारले पनि भूमिका खेल्ने बताउँदै यसमा मोरक्को र अल्जेरियाका सेनाको सम्भावित सहभागिता उल्लेख गरिएको छ ।

“यो संयन्त्रले आवश्यक पर्दा बल तैनाथ गर्न अनुमति दिनुपर्छ र यसको गठन अरब राष्ट्रहरू र उनीहरूका सेनाहरूको संरचनालाई प्रतिविम्बित गर्ने तरिकाले गरिनुपर्छ, जबकि क्षेत्रीय राजनीतिलाई सन्तुलित गर्नुपर्छ,” अधिकारीलाई उद्धृत गर्दै भनिएको छ ।

इजिप्टले यसमा प्रमुख भूमिका खेल्ने लक्ष्य राखेको जनाइएको छ ।

वार्ताको अर्को विषय कमान्डको जिम्मेवारी कसरी बाँडफाँड गर्ने भन्ने हो । इजिप्टले शीर्ष कमान्डको पद राख्ने उद्देश्य राखेको र दोस्रो साउदी अरब वा अरू कुनै खाडी राष्ट्रलाई दिइने स्रोतले बताएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्