काठमाडौं । अमेरिका र चीनबीच ‘ट्यारिफ’का विषयमा विवाद बढ्दै गएको देखिएको छ ।
केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि ५० देखि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने चेतावनी दिएका थिए । चीनले त्यसबारे प्रतिक्रिया दिएको छ । चीनका विदेशमन्त्री वाङ यीले युद्धले समस्या समाधान नगर्ने बरु प्रतिबन्धले अवस्थालाई झन् खराब बनाउने बताए ।
ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत नेटोले चीनमा ५०–१०० प्रतिशतसम्म कर लगाउनुपर्नेमा जोड दिएका थिए । उक्त कर रुस–युक्रेन युद्ध समाप्त नभएसम्म जारी रहनुपर्ने बताएका थिए । उनले रुसमा चीनको बलियो नियन्त्रण रहेको र शक्तिशाली करले मात्र त्यो पकड तोड्न सक्ने उल्लेख गरेका थिए ।
स्लोभेनियाको भ्रमणका क्रममा त्यहाँकी उपप्रधान एवं विदेशमन्त्री तान्या फयोनसँगको भेटपछि पत्रकार सम्मेलनमा वाङ यीले अमेरिकी चेतावनीको जवाफ दिएका हुन् । उनले युद्धमा भाग लिने चीनको कुनै योजना नभएको बताए । चीनले सधैँ शान्ति वार्ता र राजनीतिक समाधानलाई प्रोत्साहन दिने उनले उल्लेख गरे । प्रतिबन्ध र ट्यारिफले अवस्था सुधार नगर्ने बरु झन् जटिल उनको भनाइ थियो ।
यसैबीच, वाङ यीले चीन र युरोप प्रतिस्पर्धी नभई सहयोगी बन्नुपर्ने बताए । उनले संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तलाई मिलेर सुरक्षित राख्ने विषयमा जोड दिए । विश्वभरि फैलिएका युद्धलाई शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्ने उनले बताए ।
ट्रम्पले यसअघि पनि चिनियाँ राष्ट्रपति सी चिनफिङमाथि अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए । चीनले यही सेप्टेम्बर ३ मा आयोजना गरेको हालसम्मकै सबैभन्दा ठूलो सैन्य परेडमा उत्तर कोरियाका नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी भएपछि उक्त आरोप लगाइएको थियो । तर, ट्रम्पले पछि उनको व्यक्तिगत सम्बन्ध सीसँग धेरै राम्रो भएको बताएका थिए । एनडीटीभीबाट ।