काठमाडौं । चीनले दक्षिण चीन सागरमा आफ्नो प्रकृति आरक्ष योजनाको बचाउ गर्दै फिलिपिन्सलाई विरोध प्रदर्शन रोक्न आग्रह गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार हुआंगयान टापु (स्कारबोरो सोअल) चीनको अन्तर्निहित भूभाग भएको बताए । हुआंगयान टापु राष्ट्रिय प्रकृति आरक्षको स्थापना चीनको सार्वभौमिक अधिकारभित्र पर्ने उनले जिकिर गरे ।
उनले यसको उद्देश्य टापुको पारिस्थितिक वातावरणको संरक्षण गर्नु, प्राकृतिक पारिस्थितिक प्रणालीको विविधता, स्थिरता र दिगोपन कायम राख्नु भएको उल्लेख गरे । यो चीनको घरेलु र अन्तर्राष्ट्रिय कानुनअनुरूप भएको उनले बताए ।
उनले यसले जिम्मेवार ठूलो राष्ट्रका रूपमा चीनले पारिस्थितिक संरक्षण र दिगो विकासमा दिएको प्राथमिकतालाई पूर्ण रूपमा प्रतिविम्बित गर्ने पनि बताए । रोयटर्सका अनुसार, चीनले यसलाई आफ्नो ‘मिसन’का रूपमा प्रस्तुत गरेको छ ।
जियानले भने, “फिलिपिन्सको भूभाग लामो समयदेखि अन्तर्राष्ट्रिय सन्धिहरूले परिभाषित गरिसकेको छ र ती भूभागमध्ये हुआंगयान टापु कहिल्यै थिएन । चीनले फिलिपिन्सका अनुचित आरोप र विरोधलाई अस्वीकार गर्छ । फिलिपिन्सले अतिक्रमण, उक्साहट र मनोमानी प्रचार रोक्नुपर्छ र सामुद्रिक परिस्थितिलाई जटिल बनाउनबाट बच्नुपर्छ ।”
फिलिपिन्सको कडा विरोध
बिहीबार फिलिपिन्सले चीनको यो योजनाको कडा विरोध गरेको थियो । फिलिपिन्सका अनुसार, बेइजिङले विवादास्पद क्षेत्रमा आफ्नो क्षेत्रीय दाबी र समुद्री अधिकारलाई सुदृढ पार्ने प्रयास गरेको छ । चीनको स्टेट काउन्सिलले यसअघि स्कारबोरो सोअललाई राष्ट्रिय प्रकृति आरक्ष बनाउन स्वीकृति दिएको थियो ।
फिलिपिन्समा बाजो डे मासिनलोक भनेर चिनिने यो क्षेत्रलाई मनिलाको विदेश मन्त्रालयले आफ्नो सार्वभौमिकता र अधिकारभित्र पर्ने भन्दै लामो समयदेखिको अविभाज्य हिस्सा भएको दाबी गरेको छ ।
अमेरिका फिलिपिन्सको पक्षमा
संयुक्त राज्य अमेरिकाले फिलिपिन्सको पक्ष लिएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार चीनको योजनालाई अस्वीकार गर्दै भने, “स्कारबोरो रिफलाई प्रकृति आरक्षका रूपमा दाबी गर्नु बेइजिङको छिमेकीहरूको खर्चमा दक्षिण चीन सागरमा आफ्नो व्यापक दाबीलाई अगाडि बढाउने अर्को जबरजस्ती प्रयास हो ।”
फिलिपिन्सका माछा मार्नेहरूले पनि चिन्ता व्यक्त गरेका छन् । चीनको योजना कार्यान्वयन भएमा उनीहरूलाई उक्त क्षेत्रमा माछा मार्न गाह्रो हुनेछ । स्कारबोरो सोअल सन् २०१२ देखि चीनको नियन्त्रणमा छ । यो क्षेत्र फिलिपिन्सको विशेष आर्थिक स्थानभित्र पर्ने जनाइएको छ ।
तर, चीनले लगभग सम्पूर्ण दक्षिण चीन सागरमाथि दाबी गरेको छ । यो जलमार्गबाट हरेक वर्ष करिब तीन ट्रिलियन डलरभन्दा बढीको व्यापार हुने अनुमान छ । फिलिपिन्ससँगै ब्रुनाई, मलेसिया र भियतनामले पनि यो क्षेत्रमा आंशिक दाबी गरेका छन् ।
रुबियोले चीनका गतिविधिले क्षेत्रीय स्थिरतालाई कमजोर बनाइरहेको आरोप लगाए । उनले बेइजिङलाई सन् २०१६ को मध्यस्थता न्यायाधिकरणको सर्वसम्मत फैसलाको पालना गर्न आह्वान गरे । उक्त फैसलामा चीनले गैरकानुनी रूपमा फिलिपिन्सका माछा मार्नेहरूलाई स्कारबोरो रिफमा परम्परागत रूपमा माछा मार्न नदिएको ठहर गरिएको थियो ।
संयुक्त सैन्य अभ्यास
यसैबीच, फिलिपिन्सले शनिबार जाम्बलेस प्रान्तका टापुनजिक अमेरिकाको इन्डो–प्यासिफिक कमान्ड र जापानको नौसेनासँग संयुक्त सैन्य अभ्यास गरेको जनाइएको छ । जाम्बलेसको तट स्कारबोरो सोअलबाट करिब १२० नटिकल माइल टाढा छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले मनिलाले क्षेत्रबाहिरका अज्ञात देशहरूसँग दक्षिण चीन सागरमा संयुक्त गस्ती गरेको दाबी गरेको छ ।
द्वन्द्वको जोखिम कति छ ?
स्कारबोरो सोअलमा केही समयदेखि तनाव जारी छ । पछिल्ला वर्षहरूमा भएका धेरै घटनाले कूटनीतिक विवाद निम्त्याएको छ । तीमध्ये कुनै पनि घटना सशस्त्र द्वन्द्वमा परिणत भएको छैन । दुवै पक्षले एकार्कालाई उक्साहट र अतिक्रमणको आरोप लगाउँदै आएका छन् ।
चिनियाँ पक्षविरुद्ध कडा अडान लिँदा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई देश र विदेशमा राम्रो समर्थन मिल्ने गरेको छ । तर, उनको कोस्ट गार्ड चीनको विशाल नौसेनासँग युद्ध गर्ने अवस्थामा छैन । लडाकु जहाजहरूको तैनाथी एक यस्तो रेड लाइन हुनसक्छ, जुन दुवै पक्ष पार गर्न चाहँदैनन् ।
विज्ञ के भन्छन् ?
चाइना इन्स्टिच्युट्स अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्सका समुद्रीविज्ञ याङ सियाओले चीनको सरकारी प्रसारकसँग सम्बन्धित सामाजिक सञ्जालको एक भिडियोमा प्रकृति आरक्ष योजना र सीमांकन सही रहेको र सोअल पारिस्थितिक संरक्षणका निम्ति योग्य रहेको बताएका छन् ।
याङले यो समुद्री क्षेत्रमा चीनको क्षेत्राधिकार र शासनको क्रमिक सुधारलाई प्रतिविम्बित गर्ने बताए । उनले फिलिपिनी मछुवाराले लोपोन्मुख प्रजातिहरू समातेको र पानी प्रदूषित गरेको आरोप पनि लगाए ।
युनिभर्सिटी अफ द फिलिपिन्सका सामुद्रिक विश्लेषक जे बाटोङ्बाकलले चीनको यो कदम मछुवारालाई पक्राउ र उनीहरूलाई ‘बार्गेनिङ चिप’का रूपमा प्रयोग गर्न सकिने आक्रामक र जबरजस्ती कार्यलाई जायज ठहर्याउने एक चाल भएको टिप्पणी गरे ।