काठमाडौं । हमासका नेताहरूलाई लक्षित गरी इजरायलले कतारमा गरेको पश्चिम एसियामा शान्ति प्रयासलाई ठूलो धक्का पुगेको बताइएको छ ।
भारत र अमेरिकाले इजरायलले कतारमा गरेको हमलाप्रति दुःख व्यक्त गर्दै यो कदमको निन्दा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग कुरा गरी हमलाप्रति चिन्ता व्यक्त गरे ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमलालाई एक नराम्रो कदमको संज्ञा दिएका छन् । भारत र अमेरिकाको अडानले इजरायलको कारबाही उचित नभएको संकेत दिएको छ ।
यस्तो अवस्थामा, कतारमाथि इजरायलको हमलापछि इजरायल विश्वव्यापीस्तरमा एक्लिने त छैन ? भन्ने प्रश्न खडा भएको छ ।
इजरायलले के गर्यो ?
इजरायली वायुसेनाले मंगलबार हमासका नेताहरूलाई निसाना बनाउन कतारको राजधानी दोहामा ठूलो हमला गरेको थियो । उक्त हमलामा हमासका नेताहरूको मृत्यु भएको थियो । हमासले आफ्ना शीर्ष नेताहरू बच्न सफल भए पनि तल्लो तहका पाँच सदस्य मारिएको जनाएको छ ।
मारिनेहरूमा गाजामा हमासका नेता तथा शीर्ष वार्ताकार खलिल अल–हय्याका छोरा, तीन अंगरक्षक र अल–हय्याको कार्यालय प्रमुख सामेल छन् ।
कतारमा भएको यस हमलाको मध्यपूर्व र बाहिरका धेरै देशहरूले व्यापक निन्दा गरेका छन् ।
हमलापछि मोदीले के भने ?
इजरायली हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग फोनमा कुरा गरे । उनले हमलाप्रति गहिरो चिन्ता व्यक्त गर्दै कतारको सार्वभौमसत्ताको उल्लंघन भएको भन्दै निन्दा गरे । यसको स्पष्ट अर्थ के हो भने अन्याय मित्रले गरे पनि सह्य हुँदैन ।
भारत संवाद र कूटनीतिमार्फत समस्याको समाधान गर्न चाहन्छ र कुनै पनि प्रकारको हिंसा वा तनाव बढाउने कार्यबाट बच्न आह्वान गर्दछ । मोदीले भारत यस क्षेत्रमा शान्ति र स्थिरताका लागि दृढतापूर्वक उभिएको र आतंकवादका सबै रूपविरुद्ध संघर्ष जारी राख्ने उल्लेख गर्दै भारत यस संकटमा कतारसँगै भएको बताए ।
ट्रम्पले के भने ?
इजरायली हमलाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्दै कतारको राजधानी दोहामा भएको हवाई आक्रमणलाई धेरै नराम्रो घटना भनेका छन् । उनले हमासलाई समाप्त पार्ने लक्ष्यको समर्थन गरे पनि कतार एक सार्वभौम राष्ट्र र अमेरिकाको निकट सहयोगी भएकोले त्यहाँ आक्रमण गर्नु अमेरिका वा इजरायलको लक्ष्यलाई अगाडि बढाउने काम नभएको स्पष्ट पारे ।
कतारले शान्ति स्थापनामा महत्त्वपूर्ण भूमिका खेलिरहेको उनले जोड दिए । यद्यपि, गाजाका जनताको पीडाबाट लाभ उठाइरहेको हमासलाई समाप्त पार्नु भने सार्थक लक्ष्य हो भन्ने उनको अडान छ। ।
राष्ट्रपति ट्रम्पले गाजामा रहेका सबै बन्धक र मृतकका शवहरू तुरुन्त मुक्त गर्नुपर्ने र युद्ध अब अन्त्य हुनुपर्ने बताए । साथै, उनले कतारलाई आफ्नै भूमिमा यस्तो घटना फेरि नदोहोरिने आश्वासन दिए ।
विज्ञहरू के भन्छन् ?
इजरायली हमलाप्रति भारत र अमेरिकाको अडानलाई लिएर विज्ञहरूले फरक–फरक धारणा प्रस्तुत गरेका छन् । रोयल युनाइटेड सर्भिस इन्स्टिच्युट तथा सेन्टर फर अमेरिकन प्रोग्रेसका वरिष्ठ फेलो एचए हेलियरले यी हमलाहरूले इजरायलका सहयोगीहरूले आफ्नो दिशा बदल्छन् भन्ने मान्ने सम्भावना खासै नभएको बताउँछन् ।
सेन्ट जोसेफ विश्वविद्यालय, बेरुत प्रोफेसर करिम एमिल बितार भने फरक धारणा राख्छन् । विश्वव्यापी जनमत तीव्र गतिमा परिवर्तन भइरहेको र कतारमाथिको हमलाले विशेषगरी खाडी क्षेत्रमा इजरायलप्रतिको दृष्टिकोण अझ कडा बन्ने सम्भावना रहेको उनी बताउँछन् ।
अन्तर्राष्ट्रिय सुरक्षा, किंग्स कलेज लन्डनका लेक्चरर रब गिस्ट पिनफोल्डले भने, “इजरायलले पटक–पटक रेडलाइन पार गरेको छ । तर केही भएको छैन । इजरायललाई रोक्न सक्ने एकमात्र व्यक्ति डोनाल्ड ट्रम्प हुन् । अमेरिका इजरायललाई अर्बौं डलर सहायता र हतियार उपलब्ध गराउँछ, साथै कतारको पनि सहयोगी हो ।”
इजरायलप्रति भारत र अमेरिकाको अडानको अर्थ
भारतको अडानले के देखाउँछ भने उसले यस्ता हमलालाई स्वीकार गर्दैन । इजरायल भारतको प्रमुख सहयोगी भएकाले यसले उसमाथि थप दबाब सिर्जना गर्नेछ ।
उता, अमेरिकाले गाजामा युद्धविरामका लागि निरन्तर पहल गरिरहेको छ । यसबीच इजरायली हमलाबारे राष्ट्रपति ट्रम्पको अडानले पनि इजरायलमाथि दबाब बढ्ने प्रस्ट संकेत दिएको छ ।