site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जेनजी र नेपाली सेनाबीच आज वार्ता सम्भव छ ?

काठमाडौं । जेनजी समूह र नेपाली सेनाबीच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा दुई पक्षबीच औपचारिक छलफल हुन सकेको थिएन । 

जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद बढेपछि नेपाली सेनाले जंगीअड्डा बाहिर पुगेका प्रतिनिधिलाई बिहीबारमात्रै ग्रुप लिडरको नाम लिएर आउन आग्रह गरेको थियो । 

जेनजीको एउटा समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउनुपर्ने बताएपछि अर्को समूह हर्क साम्पाङलाई बनाउनुपर्ने भन्दै जंगी अड्डा पुगेको थियो ।

जेनजीबीच नै विवाद भएपछि नेपाली सेनाका अधिकारीले बिहीबार नाम लिएर आउन भनेका थिए । ‘ग्रुप लिडर’ एकजना बनाउन र दशजना नेतृत्व हो भने फोन नम्बरसहित नेता चयन गरेर आउन भन्दै माइकिङ गरेको थियो । 

यसैबीच, जेनजीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई आफ्नो समर्थन रहेको बताएका छन् । 

कार्कीले पनि जेनजीको प्रस्तावमा आफू सकारात्मक रहेको बताएकी छन् । तर, प्रक्रियाबारे अन्योल रहेकाले वार्तामा बस्ने/नबस्ने तय भइसकेको छैन । 

“संसद् विगठन भएको छैन । देशमा राजनीतिक दलहरू छन् । जंगी अड्डामा गएर वार्ता गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा छन्,” सुशीला कार्की निटक स्रोतले उनलाई उदृत गर्दै भन्यो, “सेनाले दिने, अरूले लिनेजस्तो देखियो । संसद् हुँदाहुँदै अर्को सरकार गठन गर्न मिल्छ कि मिल्दैन भन्ने महत्वपूर्ण पक्ष हो । प्रक्रियासंगत हिसाबले अगाडि बढ्नुपर्छ ।” 

त्यसैले आज नेपाली सेना र जेनजीबीच औपचारिक वार्ता हुने निश्चित छैन । प्रक्रियाले अन्योल कायम भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्