site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारतीय सञ्चारमाध्यमले भने– नेपालमा ‘जेनजी’को विद्रोहमा विदेशी हात

काठमाडौं । नेपाल यति बेला अराजकताको भुमरीमा छ । युवाको नेतृत्वमा गरिएको प्रदर्शनले काठमाडौंलाई घेरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमतीलाई जिउँदै आगो लगाइयो । बंगलादेशको विद्रोहको भयावह सम्झना दिलाउने राजनीतिक शून्यताबीच अब सेना प्रमुखले सुरक्षा नियन्त्रणमा लिइरहेका छन् ।

भ्रष्टाचार, बेरोजगारी, नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध ‘जेनजी’को नेतृत्वमा सुरु नेताविहीन प्रदर्शन अराजकतामा परिणत भयो । राजनीतिक घरानाप्रतिको युवाको रिस, आर्थिक असमानता र डिजिटल विरोधलाई सडकमा ल्याउन बाध्य पार्ने सामाजिक सञ्जाल प्रतिबन्धजस्ता प्रदर्शनका पछाडि जायज गुनासा थिए ।

यसमा हिंसात्मक तत्त्व हाबी भएको संकेत पनि देखिएको छ । अधिकारीहरूले यसअघि स्वार्थ समूहको भूमिकाको संकेत गरेका थिए । तर, त्यसको ठोस प्रमाण अझै देखिएको छैन ।

सोमबार (भदौ २३) हजारौँ मानिस सडकमा उत्रँदा १९ जनाको मृत्यु भयो र सयौँ घाइते भए । भारतीय टेलिभिजन च्यानलहरूले यो घटनालाई अलि फरक रूपमा प्रस्तुत गरेका छन् ।

आन्दोलनका पछाडि रहेका संरचनात्मक असमानता वा त्यसपछिको राज्य हिंसालाई बेवास्ता गर्दै न्युज १८, टाइम्स नाउ नवभारत, डीडी न्युज, एनडीटीभीआजतकका प्रस्तोताले आन्दोलनलाई यसरी प्रस्तुत गरेका छन्–

विरोध षड्यन्त्रमा परिणत
विरोध प्रदर्शनको देखिएका कारणहरूमा भ्रष्टाचार, बेरोजगारी र सामाजिक सञ्जाल प्रतिबन्ध हो । तर, भारतीय प्रस्तोताले यसलाई पूर्वनियोजित कार्य वा ‘डीप स्टेट’को षड्यन्त्रका रूपमा चित्रण गरेका छन् । युवालाई जटिल षड्यन्त्रको मोहराका रूपमा मात्र देखाइएको उनीहरूको टिप्पणी छ ।

न्युज १८ इन्डियाका अमन चोपडाले यो विश्वको पहिलो तथाकथित जेनजी आन्दोलन अचानक सुरु भएको हो वा यसका पछाडि कुनै योजनाबद्ध टुलकिट, कुनै संगठित षड्यन्त्र छ ? भन्ने प्रश्न गरे । उनले युवालाई सरकारप्रति रहेको वास्तविक निराशाका कारण नभई उक्साइएको र परिचालन गरिएको भन्दै बारम्बार संकेत गरे ।

टाइम्स नाउ नवभारतका सुशान्त सिन्हाले त अझ अगाडि बढेर यो विरोध प्रदर्शन भारतको विश्वव्यापी उदयसँग मेल खाने गरी र भूराजनीतिक चेसबोर्डमा मञ्चन गरिएको तर्क गरे ।

‘विदेशी हात’लाई दोष
चाहे अमन चोपडा हुन्, डीडी न्युजका सुधीर चौधरी वा आजतककी अञ्जना ओम कश्यप, अधिकांश च्यानलले सधैँका निम्ति तयार रहेको ‘विदेशी हात’को हल्लालाई उजागर गरे । उनीहरूले विरोध प्रदर्शनलाई पाकिस्तान, चीन, अमेरिका, गैरसरकारी संस्थाहरू वा कोकाकोलाजस्ता कर्पोरेट लगानीकर्तासँग जोडे । यसले कथालाई नेपालको सुशासन संकटबाट भूराजनीतिक ‘थ्रिलर’तर्फ मोड्ने प्रयास गर्‍यो ।

डीडी न्युजमा सुधीरले क्षेत्रीय अस्थिरताको कुनै पनि विदेशी शक्तिले सजिलै फाइदा उठाउन सक्छ भनेका छन् । उनले केही विदेशी शक्तिले यी देशलाई अस्थिर पार्न काम गरिरहेको धेरै सिद्धान्तले सुझाव दिन्छ भन्ने बताए ।

सुशान्त सिन्हाले नेपाललाई चीन र अमेरिकाबीचको सर्वोच्चताको संघर्षको मैदानमा परिणत गरिएको जिकिर गरे, जसले धनको खाडलजस्ता आन्तरिक मुद्दाबाट उत्पन्न विरोधलाई पूर्ण रूपमा बेवास्ता गर्‍यो । उनले त झन् एक कदम अगाडि बढेर नरेन्द्र मोदीको कथित विश्वव्यापी उदयविरुद्ध यो षड्यन्त्र गरिएको बताए ।

उनले भने, “जुन समयमा नरेन्द्र मोदी विश्व राजनीतिमा धमाका गरिरहेका छन्, जब भारतको अगाडि चीन झुकिरहेको छ... त्यही बेला भारतको छिमेकमा ठूलो आगलागी भएको छ ।”

रिपब्लिक टीभीमा अर्णव गोस्वामीले विरोध प्रदर्शनलाई विशुद्ध सीआईएको षड्यन्त्र भने । उनले सिधै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सरकार ढालेको आरोप लगाए । उनले भने, “के अमेरिका यसको पछाडि छैन भन्ने कल्पना गर्न पनि सकिन्छ... सीआईएको अराजकताको खाका धेरै वास्तविक छ ।”

आजतकमा अञ्जना ओम कश्यपले त एउटा गैरसरकारी संस्था ‘हाम्रो नेपाल’को नाम लिएर यसले कोकाकोला, भाइबर र अरू कम्पनीबाट हिंस्रक प्रदर्शन आयोजना गर्नका निम्ति २० करोड रुपैयाँ आर्थिक सहयोग पाएको दाबी गरिन् । 

तर नेपालस्थित कोकाकोला स्रोतले भने यसको खण्डन गरेको छ । हाम्रो नेपालले विभिन्न संस्थासँग भूकम्पको बेलामा सहयोग लिएको र कोकाकोलाले पनि केही भौतिक सामग्रीमात्रै सहयोग गरेको जनाएको छ । त्यसबेला पनि सबै संस्थाको सहयोग गरी त्यति रकम भए पनि कोकाकोलाले आर्थिक सहयोग भने नगरेको जनाएको छ ।

जेनजीलाई डाटाको लत लागेका रूपमा चित्रण
सञ्चारमाध्यमका केही भागले नेपाली युवालाई सामाजिक सञ्जाल खोसिएपछि रिसाएका विक्षिप्त डाटाका लत लागेकाहरूको रूपमा बारम्बार चित्रण गरे । बेरोजगारी, गरिबी र राजनीतिक भ्रष्टाचारजस्ता संरचनात्मक मुद्दालाई नभएर जेनजीको इन्स्टाग्राम र टिकटकप्रतिको लतलाई उपहास गर्दै स्टेरियोटाइपलाई प्राथमिकता दिएका छन् ।

डीडी न्युजमा सुधीरले पूरै आन्दोलनलाई जेनजीको रिसाएको व्यवहारका रूपमा प्रस्तुत गर्दै भने, “तिमीले उनीहरूको आँट खोस्न सक्छौ, तर उनीहरूको डाटा नखोस । युवाका निम्ति वास्तविक खाना अब आँटा नभई डाटा हो ।” उनले प्रदर्शनकारीलाई डाटा र इन्टरनेटको लतका रूपमा चित्रण गरे ।

अञ्जना ओम कश्यपले नेपालका स्नातक विद्यार्थीको दैनिक औसत स्क्रिन टाइम सात घण्टा १२ मिनेट भएकामा जोड दिँदै धेरै समय खर्चिइन् । उनले नेपालका अधिकांश युवा सुत्नेभन्दा बढी समय फोनमा बिताउने पनि बताइन् ।

अमन चोपडाले जेनजीको व्यापक अनलाइन उपस्थितिका बारेमा तथ्यांक प्रस्तुत गरे । र, विरोध प्रदर्शनलाई समन्वय गर्ने उनीहरूको क्षमतामाथि शंका उठाए ।

कानुन र व्यवस्थालाई जीवनभन्दा माथि राखियो
च्यानलहरूले सडकमा ढुंगामुढा गर्ने विद्यार्थी र हिंसाका दृश्यमा ध्यान दिए । एनडीटीभीको कभरेज विद्यार्थीहरूले ढुंगा हानेका दृश्यमा निर्भर थियो, जुन बारम्बार ग्राफिक्ससहित देखाइएको थियो । यो प्रस्तुतिले आन्दोलनलाई केवल अराजकतामा सीमित गर्‍यो, जबकि १९ जनाको ज्यान लिने राज्य हिंसाको सन्दर्भलाई बेवास्ता गरियो ।

राजतन्त्रको हल्लालाई बढाइचढाइ
केही प्रस्तोताले आन्दोलनलाई राजतन्त्र वा हिन्दुराष्ट्रको मागका रूपमा गलत तरिकाले प्रस्तुत गरे । यसले जवाफदेहिता, पारदर्शिता र बलियो प्रजातन्त्रका निम्ति प्रदर्शनकारीको वास्तविक मागलाई मेटाइदियो, जबकि आन्दोलनमा शाही शासन फिर्ताको माग थिएन ।

एनडीटीभीका सईद सुहैलले नेपालका मानिस राजतन्त्र चाहन्छन् भन्दै फेरि हिन्दुराष्ट्र बनाउने माग रहेको दाबी गरे । तर, यो भ्रामक थियो । 

अञ्जना ओम कश्यपले पनि मानिस प्रजातन्त्रबाट निराश भएकाले हिन्दुराष्ट्र र राजतन्त्रको फिर्ती चाहेको बताइन् । उनले प्रजातान्त्रिक जवाफदेहिताको माग गरिरहेका प्रदर्शनकारीको वास्तविक मागलाई गलत तरिकाले प्रस्तुत गरिन् ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्