site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको बैठक बोलाउन ओलीलाई नेताहरूको दबाब
केपी ओली । फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)को बैठक बोलाउन नेताहरूले दबाब बढाएका छन् । ‘जेनजी’ पुस्ताको प्रदर्शनपछिको अवस्थाका विषयमा छलफलका निम्ति तत्काल सचिवालय बैठक बोलाउन नेताहरूले माग गरेका हुन् ।

तर, प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन तदारुकता देखाएका छैनन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्काल बैठक बोलाउनका निम्ति अध्यक्ष ओलीसँग आफूले कुराकानी गरेको बताए ।

“मैले अध्यक्षलाई अविलम्ब बैठक बोलाउनुपर्छ भनेको छु । बैठक बोलाउन कुरा भइरहेको छ,” उनले भने । 

उपाध्यक्ष युवराज ज्ञवालीले परिस्थितिको उपयुक्त निकासका निम्ति बैठक बस्नुपर्नेमा जोड दिए । “बैठक बोलाउनुपर्‍यो भनेर सल्लाह गरिरहेका छौँ । देशमा स्थिति बिग्रँदै गयो । अब पार्टीको सचिवालय बैठक बसेर निकास निकाल्नुपर्छ भनेर साथीहरूसँग सम्पर्क गरिरहेको छु,” उनले भने ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठक बस्ने तय नभएको बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्