काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले जेनजी पुस्ताको आन्दोलनमा भएको क्षतिको सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
बाह्रखरीसँग संक्षिप्त कुराकानीमा उनले सरकारले जनतासँग माफी माग्नुपर्ने बताए । “सामान्य निकासले जनताले मान्ने स्थिति देखिएन । नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ । जनताप्रति क्षमायाचना गर्नुपर्छ,” उनले भने, “सत्तापक्ष र विपक्षी पनि बसेर जनता सन्तुष्ट हुने गरी उपयुक्त निकास निकाल्नुपर्छ । नभए अफ्ठ्यारो स्थिति नआउला भन्न सकिन्नँ ।”
उनले पार्टीको सचिवालय बैठक बोलाउन पहल गरिरहेको बताए । “बैठक बोलाउनुपर्यो भनेर सल्लाह गरिरहेका छौँ । देशमा स्थिति बिग्रँदै गयो । अब पार्टीको सचिवालय बैठक बसेर निकास निकाल्नुपर्छ भनेर साथीहरूसँग सम्पर्क गरिरहेको छु,” उनी भन्छन् ।
उपयुक्त निकास नकालिए अझ ठूलो क्षति हुने उनी बताउँछन् । जनता भयंकर आक्रोशित रहेको उनको भनाइ छ ।