काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । मोर्चाको केन्द्रीय सचिवालयले विज्ञप्ति जारी गर्दै सोमबार भएको हिंसात्मक घटनाको जिम्मेवारी लिई प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको छ ।
सरकारले आन्दोलनकारीको माग तत्काल सम्बोधन गर्नुपर्ने मोर्चाले जनाएको छ ।
“सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध युवा सडकमा उभिए र प्रदर्शन गरे,” मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रदर्शनकारीमाथि दमन गर्न गोली चलाउनु र दर्जनौँको संख्यामा हत्या हुनु निन्दनीय भएकाले उक्त कार्यको संघीय लोकतान्त्रिक मोर्चा घोर भर्त्सना गर्छ ।”
मोर्चाले राज्यद्वारा चलाइएको हिंसा, हत्या र दमन तुरुन्त बन्द गर्न पनि माग गरेको छ ।