काठमाडौं । नेकपा (माओवादी केन्द्र) कोे मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान आइतबार लमजुङ पुगेको छ ।
अभियानले आमसभा, भाषण नभएर जनतासँग प्रत्यक्ष भेटघाट र संवाद प्राथमिकतामा राखेको छ । पार्र्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिबार पोखराबाट अभियान सुरु गरी आइतबार लमजुङ पुगेको जानकारी दिए ।
उनले भने, “शनिबार (भदौ २१ गते) दिउँसो ३ बजे रूपा गाउँपालिका–१ स्थित सहिद पार्कमा सहिद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियान पुनः आरम्भ गरिएको हो ।
शिक्षकसमेत रहेका खनाल २०५८ सालमा तत्कालीन राज्यपक्षबाट मारिएका थिए । उनका जेठो छोरा प्रदीप खनाल २०६० सालमा बेपत्ता भएका थिए । उनका सन्तानमध्ये छोरी शर्मिला खनाल र छोरा सुदीप खनाल माओवादी केन्द्रमा सक्रिय छन् ।
सापकोटाका अनुसार, जनयुद्धका क्रममा रूपा गाउँपालिकाबाट सात जना शहीद र एक जना बेपत्ता भएका थिए । अभियानमा जोडिनुको मुख्य उद्देश्य जनताको समस्या बुझेर सिंहदरबारसम्म पुर्याउनु हो ।
लमजुङस्थित एक विद्यालयमा आयोजित अन्तक्रियामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले भने, “राम्रो काम गर्दै गर्दा हामीलाई सरकारबाट हटाइयो । भ्रष्टाचारको अन्त्य र सुशासनको अपेक्षा राख्ने जनताको मनबाट हामी हटेका छैनौं । पोखरामा रोकिएको मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु गरिएको हो ।”
अध्यक्ष दाहाल भने, ‘‘बैतडीदेखि कास्कीसम्म अभियान चलाउँदा बर्खाका कारण स्थगित गर्नुपरेको थियो । अब फेरि यसलाई निरन्तरता दिएका छौं । यस अभियानमा हाम्रो जोडिनुको मुख्य उद्देश्य जनताको समस्या बुझेर सिंहदरबारसम्म पुर्याउनु हो,” प्रचण्डले स्पष्ट पारे ।
नेकपा माओवादी उपाध्यक्ष पम्फा भुषालले भनिन्, “हामीले अभियानलाई जनमत र जनजीविकासँग जोडेर सञ्चालन गरेका हौं । अभियानमा राजनीतिप्रति जनताको भावना र विशेषगरी माओवादीप्रतिको धारणा बुझ्न सहज हुनेछ ।”
गत जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको अभियान वर्षाका कारण जेठ १० गते पोखरामा स्थगित भएको थियो । फेरि गत साउन १६ र १७ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लामा भदौ २१ गतेदेखि अभियान सुरु गर्ने निर्णय भएको थियो ।
मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियानअघि माओवादीले फागुन १२ देखि हुलाकी राजमार्गकेन्द्रित तराई–मधेस जागरण अभियान सञ्चालन गरेको थियो ।
राजमार्गकेन्द्रित अभियानमार्फत मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने, पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने माओवादी केन्द्रको उद्देश्य हो ।
मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियानमार्फत माओवादी केन्द्रले जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध विस्तार गर्नेलगायत उद्देश्य राखेको छ ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेल अभियान जनतासँग प्रत्यक्ष जोडिने एउटा गतिलो माध्यम भएको बताउँछन् । उनले भने, “जनताका कुरा थाहा पाउन पनि यस्ता अभियान आवश्यक हुन्छन् । अभियानले तल्ला वर्गमा मानिसको राजनीतिप्रतिको धारणा र राजनीतिक नेतृत्वप्रतिको वास्तविक धरातलीय स्थिति जानकारी गराउँछ ।”
पहिलो संविधानसभामा पहिलो स्थान बनेको नेकपा (माओवादी केन्द्र)को अवस्था कमजोर हुँदै गएको छ । स्थानीय तहमा भएको उपनिर्वाचनको नतिजाले देखाएको उनले बताए ।
उनले भने, “बीचमा माओवादी केन्द्रको जनमत खस्किएको थियो । अब सुधारिएको छ । २०८१ मा भएको उपनिर्वाचनको नतिजाले पनि जनमत राम्रै देखाएको छ । अब पनि माओवादी केन्द्रले राजनीतिमा आफूलाई तेस्रो स्थानमा स्थापित गर्न सक्छ ।”
पछिल्लो समय माओवादी केन्द्रले एकतामा पनि जोड दिएको छ । विचार मिल्ने राजनीतिक दलहरुसँग एकताको हात बढाएको छ ।
प्रमुख प्रतिपक्षी दल माओवादीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीसँग पनि एकताका लागि प्रक्रिया अगाडि बढाएको छ । समाजवादी मोर्चामा रहेका दलहरुबीच एकताका लागि प्रयत्न गरिरहेको छ ।
भदौ २२ गते लमजुङबाट सुरु नेकपा (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान गोरखा, धादिङ हुँदै नुवाकोटमा भदौ २५ गते समापन गर्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।
