काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गरेर मात्र समस्याको समाधान नहुने बताएका छन् । आइतबार (भदौ २२) काठमाडौंको बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जाल नेपाली जनताको दुःखसुखको साथीका रूपमा रहेको उनले टिप्पणी गरे । सामाजिक सञ्जाललाई राजनीतिक विषय बनाएर मात्र हेर्न नहुनेमा उनले जोड दिए ।
बिरामी पर्दा सहयोग पाउने, विपद् सूचना सम्प्रेषणको माध्यमका रूपमा पनि सामाजिक सञ्जाल रहेको बिर्सन नहुने उनले बताए । सामाजिक सञ्जाल नेपालमा दर्ता हुन नआउने पनि ठिक नभएको उनको भनाइ थियो ।
“...अविच्छिन्न स्वतन्त्रतालाई अपहरण गर्ने काममा नेपाली कांग्रेस मूकदर्शक हुनु हुँदैन । यसमा बाटो खोज्नुपर्छ,” उनले भने, “सामाजिक सञ्जाल संसारका सबै देशमा दर्ता भएको छ, नेपालमा दर्ता गर्न अटेर गर्नु हुँदैन । कुराकानी गरेर समस्या समाधान गर्नुपर्छ ।”
सांसद केसीले आमनागरिक सामाजिक सञ्जाल बन्द गरिएकामा रुष्ट रहेका भन्दै यसको समाधान छिटो गर्नुपर्ने बताए । न्युज एजेन्सी नेपाल