काठमाडौं । नेकपा (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियानमा आइतबार लमजुङको सुन्दरबजारमा अन्तक्रिया आयोजना गरिएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले पोखरामा शनिबार सुरु अभियान आज लमजुङको सुन्दरबजार पुगेको जानकारी दिए ।
“शनिबार दिउँसो ३ बजे रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित सहिद पार्कमा सहिद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियान पुनः सुरु गरिएको हो । शिक्षकसमेत रहनुभएका सहिद खनाललाई २०५८ सालमा तत्कालीन राज्यपक्षले हत्या गरेको थियो । उहाँका जेठा छोरा प्रदीप खनाल २०६० सालमा बेपत्ता भएका थिए,” उनले भने, “उहाँका सन्तानमध्ये छोरी शर्मिला खनाल र छोरा सुदीप खनाल माओवादी केन्द्रमा सक्रिय छन् । माल्यार्पण कार्यक्रममा सहिद खनालकी श्रीमती राधिका खनाल पनि अध्यक्ष प्रचण्डसँगै सहभागी हुनुभएको थियो ।”
जनयुद्धका क्रममा रूपा गाउँपालिकाबाट सातजना सहिद र एकजना बेपत्ता भएका थिए । साउन १६ र १७ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लामा भदौ २१ गतेदेखि अभियान सुरु गर्ने निर्णय भएको थियो ।
जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको अभियान मनसुनका कारण जेठ १० गते पोखरामा स्थगित भएको थियो ।