काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका जेटहरू आफ्नो देशको नौसैनिक जहाजमाथि उडेर खतरनाक स्थितिमा पारेमा तिनीहरूलाई खसालिने चेतावनी दिएका छन् ।
दुई दिनमा दोस्रोपटक भेनेजुएलाले दक्षिण अमेरिकाको तटस्थित अमेरिकी जहाजनजिक सैन्य विमान उडाएपछि ट्रम्पले यस्तो चेतावनी दिएका अधिकारीहरूले सीबीएस न्युजलाई बताएका छन् ।
ट्रम्प प्रशासनका अधिकारीका अनुसार, हालै अमेरिकाले एउटा गिरोहद्वारा सञ्चालित भेनेजुएलाबाट आएको लागुऔषध बोकेको जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको थियो ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो देशमाथि लगाइएका अमेरिकी आरोप सत्य नभएको बताएका छन् । दुई देशबीचको मतभेदले सैन्य द्वन्द्वलाई औचित्य नदिएको उनले उल्लेख गरेका छन् ।
उनले भेनेजुएला सधैँ वार्ता र संवादका निम्ति तयार रहेको बताएका छन् । आफ्नो देशले सम्मान चाहेको उनको भनाइ छ ।
शुक्रबार ओभल अफिसमा पत्रकारले ‘भेनेजुएलाका जेटहरू फेरि अमेरिकी जहाजमाथि उडे के हुन्छ ?’ भनेर सोधेका थिए । जवाफमा ट्रम्पले ‘भेनेजुएला समस्यामा पर्ने’ बताए ।
ट्रम्पले आफ्नो छेउमा उभिएका सैन्य जनरललाई संकेत गर्दै स्थिति बिग्रिएमा जे पनि गर्न सक्ने उल्लेख गरे ।
जनवरीमा सत्तामा फर्किएदेखि ट्रम्पले ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्धको प्रयासलाई लगातार तीव्र बनाएका छन् ।
भेनेजुएलाको तटमा अमेरिकाले हालै मात्र युद्धपोतहरू तैनाथ गरेको छ । मादुरोले अमेरिकामाथि सैन्य धम्कीमार्फत सत्ता परिवर्तन खोजेको आरोप लगाएका छन् । बीबीसीबाट ।