सिड्नी । अस्ट्रेलियाको उत्तरी सिड्नीको समुद्री किनारमा शनिबार एउटा शंकास्पद ‘सार्क’को आक्रमणबाट एकजनाको मृत्यु भएको अस्ट्रेलियाली प्रहरीले जनाएको छ ।
न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै ती व्यक्तिलाई बिहानै समुद्रबाट ‘लङ रिफ बिच’स्थित किनारमा लगिएको तर घटनास्थलमै उनको मृत्यु भएको जनाएको छ ।
“उत्तरी समुद्री तटमा सार्कको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ,” प्रहरीले भनेको छ ।
मृतकको नमुना फरेन्सिक परीक्षणका निम्ति पठाइएको छ ।
सन् २०२२ मा लिटिल बेमा ३५ वर्षीय बेलायती डाइभिङ प्रशिक्षक सिमोन नेलिस्टको मृत्यु भएपछि सिड्नीमा सार्क आक्रमणको यो पहिलो घातक आक्रमण हो । सन् १९६३ मा उक्त सहरमा सार्कले व्यापक आक्रमण गरेको थियो ।
पछिल्लो आक्रमणपछि उत्तरी उपनगर म्यान्ली र नार्राबीनबीचको प्रशान्त महासागरका समुद्री तटहरू अर्को सूचना नभएसम्मका निम्ति बन्द गरिएको छ ।
प्रहरीका अनुसार, ती व्यक्ति गम्भीर घाइते भएको सूचना पाएपछि आपत्कालीन सेवा घटनास्थलमा पुगेको थियो ।
नाम नखुलाइएका एक साहसिक डुंगा खेलका चालक (सर्फर)का अनुसार, पीडित महिला लङ रिफ र डी ह्वाइ समुद्री किनारको बीचमा डुंगामा घुमिरहेकी थिइन् ।
सिड्नीको डेली टेलिग्राफका अनुसार, डुंगा चालकले भने, “चार–पाँचजना डुंगा चालकले उहाँलाई पानीबाट बाहिर निकाल्दा उहाँको शरीरको तल्लो भागको एउटा महत्त्वपूर्ण भागमा आक्रमण भएको जस्तो देखिन्थ्यो ।” रासस/एएफपी