site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मनाङमा कात्तिक १७ गते उपनिवार्चन हुने

मनाङ । हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ । 

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो । 

उक्त कार्यातालिकाअनुसार २०८२ साल भदौ १३ गतेबाट निर्वाचन अवधि सुरु भएको निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिए । 

विसं २०७९ मंसिर ४ गते भएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठरिएपछि उपनिर्वाचन हुने भएको उनले बताए । 

प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै प्रदेशसभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संविधानमा उल्लेख छ । 

प्रदेशसभा सदस्यको पद रिक्त भएपछि उपनिर्वाचन हुने तालिकासहित जानकारी प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साथै आयोगबाट देशभर अद्यावधिक भई २०८२ साल भदौ २५ मा प्रकाशन हुने अन्तिम मतदाता नामावलीलाई नै यस उपनिर्वाचनमा समेत प्रयोग गरिने र मतदाताको उमेर  १८ वर्ष पुग्ने निर्दिष्ट यही कात्तिक १६ गतेलाई तोक्ने निर्णयसमेत आयोगबाट जानकारी प्राप्त भएको छ । 

गत निर्वाचनमा जिल्लामा ६ हजार ७७९ कुल मतदाता रहेका थिए । कुल मतदातामध्ये चार हजार ८४५ अर्थात् ७१.४७ प्रतिशत मत खसेको थियो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को चार हजार १९७ मतदाता रहेको निमित्त प्रमुख निर्वाचन अधिकृत अर्यालले जानकारी दिए । 

गत निर्वाचनमा प्रदेशसभा सदस्य पदमा गुरुङ सर्वसम्मत निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्य पदका लागि मात्र मतदान भएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  ०५:५४
प्रतिक्रिया दिनुहोस्