site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कार सवारी र अंकमाल : पुटिन, मोदी र सीले ट्रम्पलाई दिएको कडा सन्देश

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको निजी कार सवारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोचे जस्तो विशेष नहुन सक्छ । आफ्नै पछाडिको सिटमा घनिष्ठ मित्रता, अंकमाल गर्ने दृश्यसहित रुसी राष्ट्रपति पुटिन, उनका भारतीय समकक्षी नरेन्द्र मोदी र आयोजक चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार तियानजिनमा यस्तो प्रदर्शन गरे, जसले वासिङ्टनको ध्यान खिच्ने उद्देश्य राखेको देखिन्छ । 

यी तीन नेताले चीनको बन्दरगाह सहर तियानजिनमा भएको महत्त्वपूर्ण क्षेत्रीय शिखर सम्मेलनमा लामो समयदेखि अडानमा रहेका आफ्ना धारणाहरू व्यक्त गरे । उनीहरूबीचको सौहार्दपूर्ण सम्बन्धको भाव र समयलाई भने बेवास्ता गर्न सकिँदैन ।

पुटिन र मोदीले सीसँग भेट्नुअघि अंकमालको दृश्य
पश्चिमा देशले लामो समयदेखि एसियाको महत्त्वपूर्ण साझेदार र चीनको प्रतिरोधको रूपमा भारतलाई आकर्षित गर्दै आएको छ, तर ट्रम्पको भन्सार नीतिले भारतलाई झस्काएको छ । 

क्रेमलिनले युक्रेनमा वासिङ्टनको शान्ति प्रयासलाई सार्वजनिक रूपमा अस्वीकार गरेको छ भने बेइजिङले व्यापार, ताइवान र विश्वव्यापी प्रभावका विषयमा अमेरिकासँग विवाद जारी राखेको छ । यी तनावहरूको बीचमा, सांघाई सहयोग संगठन (एससीओ) को भेलामा देखिएको आत्मीय दृश्यले अमेरिकी दबाबको सामना गर्न स्पष्ट संकेत दिएको छ ।

ट्रम्प र पुटिनले अलास्का शिखर सम्मेलनमा प्रोटोकल तोड्दै ‘द बिस्ट’मा सवारी गरेर चर्चा कमाएको केही हप्तापछि, मोदीले रुसी नेतासँग पुटिनको बख्तरबन्द लिमोजिनमा सँगै यात्रा गरे । यो घटना भारतले रुसी तेल खरिद गरेको सजायस्वरूप अमेरिकाले ५० प्रतिशत भन्सार बढाएको केही दिनमै भयो । यसले सूक्ष्म तर अर्थपूर्ण विद्रोहको संकेत दियो ।

“उनीसँगको कुराकानी सधैँ अन्तरदृष्टिपूर्ण हुन्छ,” मोदीले एक्समा लेखे । रुसी सरकारी मिडियाका पत्रकार पावेल जरुबिनका अनुसार, दुवै नेताले द्विपक्षीय वार्ताअघि करिब एक घण्टा कारमा बिताए । 

“तपाईंसँगको भेट सधैँ अविस्मरणीय अनुभव हुन्छ,” मोदीले पछि वार्ताको क्रममा पुटिनलाई भने । रुसी नेताले मोदीलाई प्रिय मित्र भन्दै रुस–भारतबीचको मैत्रीपूर्ण र विश्वासपूर्ण सम्बन्धको प्रशंसा गरे ।

पुटिनले आफ्नो सम्बोधनमा ट्रम्पसँगको शिखर सम्मेलनमा भएका समझदारीहरू युक्रेनमा शान्तिको आधार बन्न सक्ने बताए । तर, आफ्नो अडानमा कुनै परिवर्तन नगरी पश्चिमा देशको युक्रेनलाई नेटोमा तान्ने निरन्तर प्रयासलाई युद्धको कारण ठहर्‍याउँदै परम्परागत आलोचना दोहोर्‍याए ।

‘पूर्ण रूपमा एकपक्षीय विपत्ति !’
वासिङ्टनबाट यो दृश्य हेरेका ट्रम्पले सोमबार भारत–अमेरिका सम्बन्धलाई पूर्ण रूपमा एकपक्षीय विपत्ति भने । उनले नयाँदिल्लीले आफ्नो अधिकांश तेल र सैन्य सामग्री रुसबाट किन्छ र अमेरिकाबाट निकै कम किन्छ भन्दै आलोचना गरे । ट्रम्पले भारतले अमेरिकी वस्तुमा भन्सार शून्यमा झार्ने प्रस्ताव गरेको तर अब ढिलो भइसकेको दाबी गरे ।

“यो प्रदर्शन स्वतःस्फूर्त वा योजनाबद्ध जे भए पनि सन्देश उही रहन्छ,” लन्डनस्थित थिंक ट्यांक च्याथम हाउसका वरिष्ठ फेलो केयर गाइल्सले एनबीसी न्यूजसँग भने । “ट्रम्पले पुटिनसँग खोजेको घनिष्ठ सम्बन्ध अब पुटिन र अरूसँग सार्वजनिक प्रदर्शनमा छ,” उनले थपे । उनका अनुसार, अमेरिकाले भारतलाई अन्यत्र मित्रता र साझेदारी खोज्न वास्तविक मौका दिएको छ ।

यो घटनाले भारतलाई चीनसँग सम्बन्ध सुधार गर्ने कारण दिएको छ, काउन्सिल अन फरेन रिलेसन्सकी भारत–पाकिस्तान–दक्षिण एसिया वरिष्ठ फेलो एलिसा आयर्सले भनिन् । “भारतलाई चीनसँग धेरै समस्या छ,” उनले भनिन्, “तर त्यो उनीहरूको सीमामा छ । चीन भने भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।” सीले आफ्नो तर्फबाट कुनै देशको नाम नलिई धम्की दिने व्यवहारको आलोचना गरे, जुन अमेरिकाप्रति अप्रत्यक्ष संकेत थियो । 

उनले अमेरिका नेतृत्वको विश्व आर्थिक र सुरक्षा व्यवस्थालाई चुनौती दिने लामो समयदेखिको महत्त्वाकांक्षा दोहोर्‍याउँदै भने, “हामीले वर्चस्ववाद र शक्ति राजनीतिविरुद्ध स्पष्ट अडान लिनुपर्छ र साँचो बहुपक्षीयता अभ्यास गर्नुपर्छ ।” उनले ग्लोबल गभर्नेन्स इनिसिएटिभ प्रस्तुत गरे, यद्यपि ठोस नीतिहरू भने प्रस्तुत भएनन् ।

तियानजिनको कुराकानी
यो उत्तरपूर्वी बन्दरगाह सहर शिखर सम्मेलनअघि पूर्ण रूपमा बन्द गरिएको थियो, जुन २००१ मा एससीओ स्थापना भएयता सबैभन्दा भव्य थियो । चीनले युरेसियन सदस्य राष्ट्रहरू र अन्य साझेदार तथा पर्यवेक्षक देशका दर्जनौँ नेतालाई व्यापार, ऊर्जा सहयोग र क्षेत्रीय स्थिरताबारे छलफल गर्न स्वागत गर्‍यो । उनीहरूको मोटरकेडले सहरमा कार र पैदल यातायात ठप्प पार्‍यो, कार्यक्रम स्थल वरपर क्षेत्र बन्द गरियो र रेल स्टेसनमा सुरक्षा कडा पारियो ।

तियानजिनमा सुरक्षा अवरोध र प्रहरीद्वारा सञ्चालित जाँच चौकीहरू स्थापना गरिएका थिए र नजिकै बेइजिङमा बुधबार हुने सैन्य परेडका कारण अधिकारीहरूको सतर्कता अझ बढेको थियो । 

अमेरिकी प्रभुत्वलाई चुनौती दिने चीनको लामो समयदेखिको प्रयासको हिस्सा बनेको शिखर सम्मेलनमा, ट्रम्प–युगका नीतिहरू र अन्य विदेश नीति परिवर्तनहरूले उत्पन्न उथलपुथल यस वर्ष विशेष ध्यानाकर्षणको विषय बनेको छ ।

भारत र चीनले हिमालय सीमा विवाद, व्यापार तनाव र पाकिस्तानप्रति बेइजिङको समर्थनमा लामो समयदेखि असहमति राख्दै आएका छन् । तर ट्रम्पको भन्सार जस्ता साझा गुनासाहरू जसले चीनका वस्तुमा १४५ प्रतिशत सम्म कर लगाएकोले साझा आधार बनाउन मद्दत गरेको छ ।

यो पृष्ठभूमिमा, सात वर्षमा मोदीको पहिलो चीन भ्रमण र उनको सी तथा पुटिनसँगको आत्मीयताले विशेष ध्यान खिचेको छ । सन् २०१९ मा टेक्सासको विशाल र्‍यालीमा मोदीले ट्रम्पको हात उत्साहपूर्वक समातेका थिए, तर सोमबार भारतीय मिडियाले उनको पुटिनसँगको मित्रतालाई अमेरिकाविरुद्ध विद्रोहको सन्देशको रूपमा चित्रित गर्‍यो । 

भारतीय टेलिभिजन च्यानल रिपब्लिक वर्ल्डले यसलाई भारतको लागि ठूलो कूटनीतिक जित भन्यो । जबकि आजतकले आफ्नो हेडलाइनमा ट्रम्पको तानाशाहविरुद्ध मोदी–पुटिनको मित्रता शीर्षक बनायो ।

तियानजिन शिखर सम्मेलनपछि भारतस्थित अमेरिकी दूतावासले दुई देशबीचको साझेदारी नयाँ उचाइमा पुगेको भन्दै नवप्रवर्तन (इनोभेसन), उद्यमशीलता, रक्षा तथा व्यापक द्विपक्षीय सम्बन्ध लाई समेट्ने बतायो । 

मोदी, सी र पुटिनको सन्देश के स्पष्ट थियो भने उनीहरूबीच मतभेद हुन सक्छ, तर उनीहरूसँगै उभिन वा बस्न तयार छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्