काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संरक्षक रेशमलाल चौधरी पक्षीय र अध्यक्ष रन्जिता श्रेष्ठ पक्षीय उमेदवार खडा हुने देखिएको छ । पार्टीका संरक्षक चौधरीले संघीय लोकतान्त्रिक मोर्चाको समर्थनमा डा. उमाशंकर चौधरी र डा. सरोज चौधरीको नाम अघि सारे पनि रन्जिता पक्षले आफ्नै उमेदवार खडा गर्ने जनाएको छ ।
नाउपाका प्रवक्ता दामोदर पण्डितले बाह्रखरीसित भने, “जिल्ला कमिटीले खडा गरेको हाम्रो उमेदवार हो । अरु हामीलाई थाहा छैन, मान्दैनौँ पनि । उमेदवार खडा गर्ने जिम्मा जिल्ला कमिटीलाई दिइएको छ ।”
निर्वाचन आयोगमा दल दर्ता नभएको विषय उठान गर्दै उनले भने, “ढकिया चुनाव चिह्न लिएर उमेदवार बन्न नपाए पनि हामी २०८४ को चुनावका लागि नेताकार्यकर्ता संरक्षण गर्न चाहन्छौँ ।”
श्रीमान्–श्रीमतीको विवादले पार्टीका नेता कार्यकर्तालाई असर गरेको पनि उनले सुनाए ।
नाउपाका नेताकार्यकर्ता पनि उपनिर्वाचनलाई लिएर तितरबितर भएका छन् । रुपन्देही नाउपा जिल्ला अध्यक्ष धनीराम चौधरी केही दिनअघि मात्रै जनमत प्रवेश गरेका छन् । उनलाई रुपन्देही क्षेत्र नम्बर ३ बाट उमेदवार बनाउने जनमतले मंगलबार निर्णय समेत गरिसकेको छ ।
यसैबीच नाउपाको आइतबार र सोमबार दुई दिन बसेको केन्द्रीय समिति बैठकले पालिकामाथिका सबै जनप्रतिनिधिलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । प्रवक्ता पण्डितले भने, “पालिकामाथिका सबै जनप्रतिनिधिलाई केन्द्रीय सदस्यमा अटाउने हाम्रो प्रयास हो, यसका लागि हामी कुनै माध्यमबाट आह्वान गर्नेछौँ । उहाँहरूले आवेदन दिन सक्नुहुनेछ ।”
अध्यक्षले बोलाएको बैठकमा रेशम पक्षीय नेता उपस्थित नभएपछि उनले रोष प्रकट गरे । उनले भने, “आधिकारिक बैठकमा त आउनु पर्यो नि । वैधानिकता नभएको बैठकमा भने जाने अनि आधिकारिक बैठकमा नआउनु त राम्रो भएन ।
रेशमलाल विधानत पार्टीको संरक्षक नभए पनि नागरिक उन्मुक्ति पार्टीले मान्ने र सम्मान गरिरहने पनि उनले प्रस्ट्याए ।