site stats
बाह्रखरी :: Baahrakhari
कला
दीपकराज गिरी र सन्तोष सेनबीच जुवारी

काठमाडौं । कलाकार दीपकराज गिरी र निर्देशक तथा निर्माता सन्तोष सेनबीच सामाजिक सञ्जाल फेसबुकमा दोहोरी चलेको छ । 

एकले अर्काको आलोचना गरिरहेका छन् । सन्तोष सेनले दीपकलाई फेसबुकमा मेन्सन नै गरेका छन् । तर, दीपकले भने नाम उल्लेख गरेका छैनन् । तर, सन्तोषले आफ्नो चलचित्रको हिरो समीर भट्टलाई ‘बाघ’ भनेर गर्ने सम्बोधनप्रति लक्षित गरेजस्तो भने प्रष्ट देखिन्छ । 

“आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गरौँ । आफ्नो हिरो बाघ । अरूको स्याल ? याद गरौँ, बाघ पनि जनावर नै हो,” दीपकले फेसबुकमा लेखेका थिए । 

दीपकले फेसबुकमा यो स्टाटस लेखेको केही समयपछि नै सन्तोषले दीपकको स्टाटसमा आएको कमेन्ट डिलिट गरेको आरोप लगाए । 

कमेन्ट डिलिट गरेपछि पोस्ट गर्न बाध्य भएँ भन्दै दीपकलाई मेन्सन गर्दै सन्तोषले लेखे, “तिम्रो सोचमै पाप छ । कसैलाई कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गर्ने जुन तुच्छ सोच पालेको छौ, त्यो काम नगर । यी दर्शककै मायाले तिमी आज यहाँसम्म आइपुगेका छौ, त्यसैले उनीहरूको भावनालाई कुल्चने अधिकार कसैलाई छैन ।” 

सन्तोषले प्रश्न गरेका छन्– हाम्रो ‘बलिदान’को पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो ?

“तिमीलाई हार स्वीकार्य छैन । त्यसैले हामीले ठूला चुनौतीहरू मोलेर सिर्जना गरेका कामलाई पचाउँन नसक्नु तिम्रो कमजोरी हो । दर्शकको भावनामा चोट पुर्‍याउँदै,” उनले भने, “फेक अकाउन्ट बनाएर घटिया कमेन्ट गर्ने अनि उल्टै हामीलाई आरोप लगाउने सोचले कहिल्यै कसैलाई अगाडि बढाउँदैन ।”

कलाकार र सिर्जनाकर्ताहरूबीच प्रतिस्पर्धा हुनुपर्ने तर त्यो सिर्जनाको गुणस्तरमा हुनुपर्नेमा उनको जोड छ । उनले कालीमाता र पशुपतिनाथको कसम खाँदै आफूले आजसम्म कहिल्यै अरूलाई गिराएर आफैँ अगाडि बढ्ने ‘पापी सोच’ नपालेको बताएका छन् । 

“हामीले तीन/चार वर्षदेखि दर्शकका लागि केही अर्थपूर्ण सिर्जना गर्न सकिन्छ कि भनेर लागिपरेका छौँ । कलालाई सम्मान गर, किनभने कलाकार र दर्शकबिना यो यात्रा अधुरो हुन्छ,” उनले भने, “यदि, वास्तवमै मैले कहिल्यै कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने मैले बलिदानको सुरुआत नै कालीमाताको चरण छोएर गरेको हुँ । कालीमाता र पशुपतिनाथसमक्ष प्रार्थना गर्दछु, यसै क्षण मेरो जीवन अन्त्य होस् ।” 

सन्तोषको यो कमेन्टपछि फेरि दीपक फेसबुकमा लेख्छन्, “चोरको खुट्टा काटभन्दा खुट्टा उचाल्यो चोरले ।” यसले नाम उल्लेख नगरे पनि उनको स्टाटस सन्तोषप्रति नै रहेको प्रष्ट हुन्छ । 

“विचरो न त व्यंग्य बुझ्छ । न वौद्धिकता थाहा छ, बुरुकबुरुक साँढे उफ्रे झैँ उफ्रिन्छ, माया लाग्छ,” दीपकले लेखेका छन् । 

सन्तोषले गत वर्ष पनि फेसबुकमा लाइभ भिडियोमा आएर दीपकको आलोचना गरेका थिए । समीर भट्टको चलचित्र ‘१२ गाउँ’ र ‘दीपकराज गिरीको समूहको ‘छक्का पञ्जा–५’ एकै दिन रिलिज भएका थिए । दीपकले ‘साइबर सेना’ले आफ्नो सिनेमाका कन्टेन्टमा गाली गरेको बताएपछि सन्तोषले नाम नै किटेर आलोचना गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्