site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रूसी हस्तक्षेपका कारण ईयू अध्यक्षको विमानको राडार जाम भएको आरोप


काठमाडौं । युरोपेली संघ (ईयू) अध्यक्ष उर्सुला भोन डेर लेयेनलाई लिएर गइरहेको विमानको नेभिगेसन प्रणालीमा रूसी हस्तक्षेपको आशंका गरिएको छ ।

रूस र बेलारूसको सीमासँग जोडिएका युरोपेली संघका देशहरूको भ्रमणमा रहेकी क्रममा ईयू अध्यक्ष लेयेन चढेको विमानको राडार बुल्गेरियाको आकास माथिबाट उडिरहेको अवस्थामा जाम भएको थियो । 

ईयूका अधिकारीहरूका अनुसार, विमानलाई प्लोभदिभ विमानस्थलमा सुरक्षित रूपमा अवतरण गराइयोएको छ । यो घटनाबाट उडानमा कुनै क्षति भने भएन । यो घटनापछि पनि  लेयेनले आफ्नो पूर्वनिर्धारित यात्रा जारी राख्ने निर्णय गरिन् । 

लेयेन अहिले चार दिने भ्रमणमा छिन् । उनी रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र रूस–युक्रेन युद्धको निरन्तर आलोचना गर्दै आएकी छिन् । यही कारण यो घटना कुनै सामान्य प्राविधिक गडबडी नभई रुसको योजनाअनुसार भएको हुनसक्ने बताइएको समाचारमा उल्लेख छ । 

युरोपेली आयोगकी प्रवक्ता एरियाना पोडेस्टाले जीपीएस ज्यामिङ भएको पुष्टि गर्न सकिने र बुल्गेरियाली अधिकारीले यो रूसको प्रत्यक्ष हस्तक्षेपको परिणाम हुन सक्ने बताएको उल्लेख गरेकी छन् ।
 
उनले यो घटनाले लेयेनको यो भ्रमण कति महत्वपूर्ण र संवेदनशील छ भन्ने कुरालाई उजागर गर्ने बताएकी छन् । 

बुल्गेरियाली सरकारले विमानको जीपीएस नेभिगेसन प्रणालीमा अवरोध पुर्‍याइएको र विमान प्लोभदिभ विमानस्थलनजिक पुग्दा स्याटेलाइटबाट आउने सिग्नल पूर्णरूपमा हराएको बताएको थियो ।

यो विषयमा युरोपेली आयोगले यो घटनाले रूस र उसका सहयोगी राष्ट्रहरूबाट निरन्तर खतरा रहेको प्रमाणित गरेको बताएको छ । युरोपेली संघले भविष्यमा यस्ता परिस्थितिहरूसँग जुध्न यो क्षेत्रमा रक्षा खर्च र सुरक्षा तयारीहरूमा थप लगानी गर्ने पनि स्पष्ट पारेको छ । 

यो घटनाले युरोपेली संघ र रूसबीच पहिलेदेखि नै तनावपूर्ण सम्बन्धलाई थप संवेदनशील बनाएको छ । अलजजिरा

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्