काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका फर्स्ट विदेश नीतिले विश्वलाई उल्टो दिशामा धकेलिरहेको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार धम्कीपूर्ण (बुलिङ) कार्यहरूको आलोचना गर्दै अमेरिकामाथि अप्रत्यक्ष प्रहार गरे । र, आफ्नो देशलाई विश्व शासनको नयाँ नेताको रूपमा प्रस्तुत गरे ।
“केही देशका घरेलु नियमहरू अरूमाथि थोपरिनु हुँदैन,” सीले दुईदिने शिखर सम्मेलनमा भेला भएका २० भन्दा बढी विश्व नेताहरूलाई भने । यो शिखर सम्मेलन चीनको विश्वव्यापी नेतृत्व र रुससँगको उसको घनिष्ठ र चिरस्थायी साझेदारीलाई उजागर गर्नका लागि आयोजना गरिएको थियो । किनभने, यी दुई छिमेकी अमेरिका र उसका सहयोगीहरू कमजार पार्दै आफ्नै पक्षमा विश्वव्यापी शक्तिलाई पुनः सन्तुलनमा ल्याउन खोजिरहेका छन् ।
बेइजिङ र मस्कोको समर्थन रहेको सांघाई सहयोग संगठन (एससीओ)को उत्तरी बन्दरगाह सहर तियानजिनमा भएको यो बैठक चीनको यस वर्षको सबैभन्दा ठूलो कूटनीतिक कार्यक्रम हो, जसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानजस्ता राजनीतिक हस्तीहरू सहभागी थिए ।
शिखर सम्मेलनमा सीले एससीओ सदस्य राष्ट्रहरूलाई यस वर्ष दुई अर्ब युआन (२८ करोड डलर) अनुदान दिने र आगामी तीन वर्षमा एससीओ बैंकिङ कन्सोर्टियमलाई थप १० अर्ब युआन (१.४ अर्ब डलर) ऋण दिने प्रतिबद्धता जनाए ।
“हामीले हाम्रा ठूला बजारहरूको शक्ति र सदस्य राष्ट्रहरूबीचको आर्थिक परिपूरकताको लाभ उठाउनुपर्छ र व्यापार तथा लगानीलाई सहज बनाउनुपर्छ,” चिनियाँ नेताले आफ्नो उद्घाटन मन्तव्यका क्रममा अतिथिहरूलाई भने ।
केही समयपछि सीले एक नयाँ विश्वव्यापी गभर्नेन्स इनिसिएटिभको अनावरण गरे, जुन उनको सुरक्षा, विकास र सभ्यतासम्बन्धी तीन पहिलेका इनिसिएटिभको एक नयाँ शृंखला थियो । यी इनिसिएटिभहरूले पुनर्गठित अन्तर्राष्ट्रिय व्यवस्थाबारे उनको दृष्टिकोणको एक रूपरेखाको रूपमा काम गर्छन् ।
“म अझ न्यायपूर्ण र समतामूलक विश्वव्यापी शासन प्रणालीका लागि सबै देशहरूसँग मिलेर काम गर्न उत्सुक छु,” सीले भने । उनले विकासोन्मुख देशहरूको प्रतिनिधित्व र आवाज बढाउने तथा बहुपक्षीयताको अभ्यास गर्ने प्रतिबद्धता जनाए । जसले ग्लोबल साउथ (दक्षिणका देश) बाट लामो समयदेखि हुँदै आएका मागहरूलाई प्रतिध्वनित गर्छ ।
“हामीले पर्खालहरू निर्माण गर्न र एक्लो बनाउन होइन भत्काउन जारी राख्नुपर्छ, एकीकरण खोज्नुपर्छ,” उनले थपे ।
सीको दृष्टिकोणले बेइजिङले अमेरिकी नेतृत्वको विश्व व्यवस्थाको जगलाई प्रतिवाद गर्छ, नेटो जस्ता गठबन्धनहरूको विरोध गर्छ जुन उनको विचारमा पश्चिमको नियम–आधारित प्रणालीलाई प्रवर्द्धन गर्छ र विश्वव्यापी मानवअधिकारको अवधारणामाथि प्रश्न उठाउँछ । साथै, संयुक्त राष्ट्रसंघ र अन्य निकायहरूमा शक्ति पुनर्गठन गर्न खोज्छ, जसलाई उसले पश्चिमले अन्यायपूर्ण रूपमा प्रभुत्व जमाएको ठान्छ ।
अमेरिकाको नाम सिधा नलिई सीले ‘हेजेमोनी’ र ‘शीतयुद्ध मानसिकता’ र बुलिङ ‘अभ्यास’ को विरोध गर्ने बाचा गरे । यी वाक्यांशहरू बेइजिङले वासिङ्टनको आलोचना गर्न प्रायः प्रयोग गर्ने गर्छ ।
ट्रम्पले आफ्नो विश्वव्यापी व्यापार युद्ध, अन्तर्राष्ट्रिय संगठनबाट पछि हट्ने, विदेशी सहायतामा कटौती र सामाजिक सञ्जालमा धम्कीका कारण राष्ट्रहरूलाई चिन्तित बनाएकाले बेइजिङले अमेरिकाले आफूले निर्माण गर्न भूमिका खेलेको अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पारिरहेको ठान्छ र यसलाई वैकल्पिक रूपमा आफ्नो दृष्टिकोणलाई अगाडि बढाउने अवसरको रूपमा हेर्छ ।
“हामीले विश्वको एक समान र व्यवस्थित बहुध्रुवीयता, विश्वव्यापी रूपमा लाभदायक, समावेशी आर्थिक विश्वव्यापीकरणको वकालत गर्नुपर्छ । विश्वव्यापी शासन प्रणालीलाई अझ न्यायपूर्ण र समतामूलक बनाउनुपर्छ,” सीले आफ्नो उद्घाटन मन्तव्यमा भने ।
सीको भनाइलाई होहोर्याउँदै पुटिनले एससीओले युरेसियामा सुरक्षाको नयाँ प्रणालीको निम्ति आधार तयार गरेको बताए । जसलाई उनले लामो समयदेखि विरोध गर्दै आएको पश्चिमी नेतृत्वको गठबन्धनको विकल्पको रूपमा राखे ।
नयाँ प्रणालीले पुरानो युरोकेन्द्रित र युरो–एटलान्टिक मोडेलहरूलाई प्रतिस्थापन गर्नेछ । साथै, सम्भव भएसम्म देशहरूको फराकिलो दायराका हितहरूलाई ध्यानमा राख्नेछ, सन्तुलित हुनेछ र केही राज्यहरूले अरूको खर्चमा आफ्नो सुरक्षा सुनिश्चित गर्ने प्रयासहरूलाई अनुमति दिने छैन,” पुटिनले भने ।
घनिष्ठ सम्बन्ध
यो शिखर सम्मेलन चीन र रुसबीचको घनिष्ठ सम्बन्ध, साथै उनीहरूका दुई निरंकुुश नेताहरूले वर्षौंदेखि कायम गरेको मित्रता प्रदर्शन गर्ने एक मञ्च हो ।
जब सी र उनकी पत्नी पेङ लियुआनले सहभागी नेताहरूका लागि स्वागत भोजको आयोजना गरे, तब दुई नेताबीचको गहिरो व्यक्तिगत सम्बन्ध आइतबार साँझ देखियो ।
रुसी सरकारी समाचार एजेन्सी रियाले जारी गरेको फुटेजमा सी र पुटिन उत्साहित हुँदै र मुस्कुराउँदै कुरा गरेको देखियो । यसले सामान्यतया संयमित चिनियाँ नेताको फरक पक्ष मात्र नभएर आफ्ना रुसी समकक्षीसँगको उनको न्यानो र आरामदायी व्यवहार पनि देखाउँछ ।
एससीओ शिखर सम्मेलन पुटिनको अगस्टमा अलास्कामा ट्रम्पसँग भएको शिखर सम्मेलनपछि नेताहरूको भेट्ने पहिलो अवसर पनि थियो । यो यस्तो समयमा आएको छ, जब पुटिन युक्रेनमा आफ्नो आक्रमण अन्त्य गर्न पश्चिमी दबाबको प्रतिरोध गरिरहेका छन् ।
गत हप्ता मात्र, मस्कोका सेनाले युक्रेनमा आजसम्मको दोस्रो सबैभन्दा ठूलो हवाई हमला गरेका थिए ।
सोमबार, पुटिनले एससीओ शिखर सम्मेलनमा आफ्नो भाषण प्रयोग गरेर युक्रेन युद्धमा आफ्ना भनाइहरू दोहोर्याए । जसमा उनले यो संकट रुसको युक्रेनविरुद्धको आक्रामकताको परिणामको रूपमा उत्पन्न भएको होइन, तर युक्रेनमा भएको ‘कू’को परिणामको रूपमा भएको हो, जसलाई पश्चिमले समर्थन र उक्साएको बताए ।
रुसका सेनाले यसअघि क्राइमिया र पूर्वी युक्रेनका ठूला भूभाग कब्जा गरेपछि सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि पूर्ण–स्तरीय आक्रमण सुरु गरेको थियो ।
रुसी नेताले चीन र भारतले संकट समाधान गर्नका लागि गरेको प्रयासको प्रशंसा गरे । र, अलास्का बैठकमा ट्रम्पसँग भएको समझदारीलाई युक्रेनमा शान्तिको बाटो खोल्ने विषयको रूपमा वर्णन गरे ।
“आज र हिजोका लागि निर्धारित द्विपक्षीय बैठकहरूमा, म पक्कै पनि मेरा सहकर्मीहरूलाई अलास्कामा भएका वार्ताहरूको नतिजाबारे अझ विस्तृत र राम्रोसँग जानकारी दिनेछु,” पुटिनले भने । उनले आइतबार दिउँसोको खानाको समयमा सीलाई विस्तारमा जानकारी दिइसकेको पनि बताए ।
पर्यवेक्षकहरूले रुसी नेताले यो भेलालाई आफू विश्वमञ्चमा एक्लो छैन भनेर देखाउन प्रयोग गर्ने बताए । “पुटिनले रुसको लचकता र चीनको समर्थनलाई पश्चिमी प्रतिबन्ध र अलगावले काम गरेको छैन भन्ने प्रमाणको रूपमा प्रस्तुत गर्न खोज्नेछन्,” सिंगापुरको एस. राजा रत्नम स्कुल अफ इन्टरनेसनल स्टडिजका एसोसिएट प्रोफेसर ली मिङजियाङले भेला हुनुअघि बताएका थिए ।
युक्रेन युद्ध शिखर सम्मेलनमा हाबी
चीनले आफूलाई द्वन्द्वमा तटस्थताको दाबी गरे पनि रुसको युक्रेनमाथि आक्रमणको सुरुआती दिनदेखि नै पुटिनको शासनका लागि कूटनीतिक र आर्थिक सहयोगको एक प्रमुख स्तम्भको रूपमा उभिएको छ ।
चिनियाँ फर्महरूले छुटमा ठूलो मात्रामा रुसी तेल खरिद गरेका छन् । यसलाई महत्त्वपूर्ण व्यापारिक सामग्रीहरू पनि उपलब्ध गराएका छन् । जसमा पश्चिमी नेताहरूले रुसको रक्षा औद्योगिक आधारलाई शक्ति दिएको बताएका दोहोरो प्रयोगका सामानहरू पनि छन् । बेइजिङले रुससँगको आफ्नो सामान्य व्यापार भन्दै बचाउ गर्छ ।
यसै गर्मीको सुरुमा ट्रम्पले त्यो साझेदारीलाई निसाना बनाउने धम्की दिएका थिए, जसमा उनले युद्ध जारी राख्दा चीनले रुसबाट इन्धन खरिद गर्न जारी राखेमा आफ्ना सामानहरूमा ठूलो कर लाग्न सक्ने बताएका थिए ।
तर, गत हप्ता अमेरिकाले भारतमाथि त्यस्ता जरिवाना लगाए पनि, उसले बेइजिङसँग एक फराकिलो व्यापार सम्झौता खोजिरहेकाले हालसम्म त्यो धम्कीलाई ढिलो गरिरहेको छ ।
ट्रम्पको भारतमाथि ५० प्रतिशतको भारी करले मोदीसँगको सम्बन्ध बिगारेको छ । नयाँदिल्ली–बेइजिङबीचको एक नयाँ र सतर्कतापूर्ण सम्बन्धलाई गति दिएको छ ।
नरेन्द्र मोदीले आइतबार सीसँग आफ्नो सात वर्षमा पहिलो पटक चीन यात्रामा भेट गरे । दुवै देशले अमेरिकाको कडा कर र रुससँगको सम्बन्धमा पश्चिमी निगरानीको सामना गरिरहेका छन् ।
सोमबार, मोदीले एससीओ शिखर सम्मेलनमा आयोजक र रुसी नेता दुवैसँगको आफ्नो सम्बन्धलाई उजागर गरे, पुटिनलाई अंगालो हाले र त्यसपछि दुवैजना हातमा हात मिलाएर सीलाई अभिवादन गर्न गए । तीन नेताहरूले त्यसपछि मुस्कान र हाँसोले भरिएको कुराकानी गरेका थिए ।
रुसी सरकारी मिडियाका अनुसार, मोदी र पुटिनले औपचारिक वार्ताका लागि जाँदै गर्दा रुसी राष्ट्रपतिको लिमोजिनमा करिब एक घण्टा लामो निजी बैठक पनि गरे ।
“भारत र रुस सधैँ सबैभन्दा कठिन समयमा पनि काँधमा काँध मिलाएर उभिएका छन्,” मोदीले बैठकको सुरुमा भने, “हामी युक्रेनको अवस्थामा निरन्तर संवादमा छौँ । हामी शान्तिका लागि हालैका सबै प्रयासहरूको स्वागत गर्छौं ।”
भारतीय परराष्ट्र मन्त्रालयको एक वक्तत्व्यमा दुई नेताले युक्रेनसम्बन्धी पछिल्ला घटनाक्रमबारे छलफल गरेको भनिएको छ । “मोदीले युक्रेन द्वन्द्वको समाधानका लागि हालै गरिएका प्रयासहरूका लागि आफ्नो समर्थन दोहोर्याए र द्वन्द्वको समाप्तिलाई छिटो गर्न र एक टिकाउ शान्ति सम्झौता खोज्ने आवश्यकतामा जोड दिए,” मन्त्रालयले भन्यो ।
सीले यो भेला र पुटिन, उत्तर कोरियाका किम जोङ उनका साथै करिब दुई दर्जन अन्य नेताहरू सहभागी हुने अपेक्षा गरिएको बुधबार बेइजिङमा आयोजना गर्ने एक विशाल सैन्य परेड एक महत्त्वपूर्ण समयको कूटनीतिक प्रयासको रूपमा हेर्ने पर्यवेक्षकहरू बताउँछन् ।
चिनियाँ अधिकारीहरूले यो वर्षको एससीओलाई हालसम्मकै सबैभन्दा ठूलो भएको बताउँदै कार्यक्रमअघि एसिया र मध्यपूर्वका २० नेताहरू सहभागी हुने बताएका थिए । रुस, चीन र भारतबाहेक एससीओका सदस्यहरूमा इरान, पाकिस्तान, बेलारुस, किर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान पनि समावेश थिए ।