site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानको सैन्य हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा पाँच सैनिकको मृत्यु

काठमाडौं । पाकिस्तानको नियन्त्रित कश्मीरमा सोमबार बिहान सैन्य हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना पाइलट रहेको  प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले जनाएको छ ।

पाकिस्तानी सेनाको आधिकारिक विज्ञप्तिअनुसार एमआई–१७ हेलिकोप्टर नियमित प्रशिक्षण मिसनमा थियो । उडानका क्रममा प्राविधिक गडबडी आएपछि चालक दलले आकस्मिक अवतरणको प्रयास गरे पनि हेलिकोप्टर दुर्घटना भएको हो । यो घटना दियामेर जिल्लाको ठकदास क्यान्टोनमेन्टबाट करिब १२ किलोमिटर टाढा हुडोर गाउँनजिकै राति करिब १ बजे भएको थियो ।

दुर्घटनामा ज्यान गुमाउने पाकिस्तानी सेनाका जवानहरूको पहिचान भइसकेको बताइएको छ । मृत्यु हुनेमा पाइलट इन कमान्ड मेजर आतिफ, को–पाइलट मेजर फैसल, फ्लाइट इन्जिनियर नायब सुबेदार मकबूल, क्रु चिफ हवलदार जहाङ्गीर र क्रु चिफ नायक अमिर रहेका छन् । पाकिस्तानी सेनाले यस्ता प्रशिक्षण मिसन सञ्चालन तयारीका लागि नियमित रूपमा गरिने बताएको छ । 

यसको उद्देश्य युद्धकालीन मिसन, अपरेसनल सहयोग, मानवीय सहायता र विपद् राहत कार्यहरूमा दक्षता कायम राख्नु रहेको बताइएको छ ।

यसअघि, गिलगित–बाल्टिस्तान सरकारका प्रवक्ता फैजुल्लाह फराकले दियामेर जिल्लाको चिलास क्षेत्रमा हेलिकोप्टर’ दुर्घटनाग्रस्त हुँदा पाँच चालक दलका सदस्यको मृत्यु भएको बताएका थिए । यो हेलिकोप्टर सेनाको भएको र प्रशिक्षण मिसनमा रहेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्