काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
भदौ ६ गते श्रेष्ठले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणाले अदालतको अवहेलना भएको जिकिरसहित गत शुक्रबार मोरङका कानुनका विद्यार्थी आयुष दाहालले अवहेलना निवेदन सर्वोच्चमा पेस गरेका थिए ।
आइतबार दर्ता भएको निवेदनमा सर्वोच्चले भदौ १७ गतेको पेसी तोकेको हो ।
श्रेष्ठले भनसुन र घुसबिना अदालतबाट न्याय नपाउने टिप्पणी फेसबुकबाट गरेका थिए । “अहिले न्यायालयको स्थिति यस्तो छ कि न्यायका लागि अदालत पुग्ने कुनै पनि नेपालीले आफ्नो सम्पर्क पहुँचद्वारा न्यायाधीशलाई भन्न, भनाउन वा भनसुन गर्न सक्दैन भने वा घुस खुवाउन सक्दैन भने न्याय पाउला भनेर आशा गर्न सकिने स्थिति छैन,” श्रेष्ठले लेखेका थिए ।